arrow

नेतृत्वमा पुग्ने महत्वाकांक्षा

विद्याका कारण एमालेमा असन्तुष्टि, हस्तक्षेप गरी आफू निकटका ४० प्रतिशत उम्मेदवार बनाएको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २० आइतबार
vidya-devi-bhandari-final.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एमालेभित्र चितवनमा सम्पन्न दशौं महाधिवेशनपछि वैकल्पिक नेतृत्वको बारेमा चर्चा भए पनि अहिलेको अवस्थामा केपी ओली नै नेतृत्वमा भएपछि त्यसको चर्चा सेलाएको थियो । तर निर्वाचनमा टिकट वितरणलाई हेर्दा आगामी नेतृत्वमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो राखेको स्पष्ट देखिन्छ ।

टिकट वितरणमा आफू निकट नेताहरुलाई नेतृत्वमा स्थापित गराउने गरी ‘हस्तक्षेप’ गरेपछि यस्तो संकेत देखिएको हो । एमाले स्रोतका अनुसार १ सय ४४ जनामध्ये करिब ४० प्रतिशत उम्मेदवारहरु राष्ट्रपति निकट रहेका छन् । 

पूर्वमा योगेश भट्टराईदेखि, शेरधन राईसम्म गण्डकीमा पदम गिरीदेखि सुदूरपश्चिममा दामोदर भण्डारीसम्म राष्ट्रपति निकट रहेका नेताहरुले टिकट पाएका छन् । पछिल्लो समय भट्टराई राष्ट्रपति निकट रहेका छन् । 

राष्ट्रपतिको कार्यकाल मंसिर अन्तिमसम्म मात्रै छ । त्यसपछि उनी पार्टीमा सक्रिय हुने हल्ला चलिरहेका बेला एमालेको टिकट वितरणमा यस्तो ‘सिनारियो’देखिएको स्रोतको दाबी छ । 

अहिले उदयपुरकी मञ्जु चौधरी राष्ट्रपति भण्डारीकी विश्वास पात्र रहेकी छिन् । त्यस्तै कास्कीकी विद्या भट्टराईदेखि पद्मा अर्यालसम्मले राष्ट्रपति भण्डारीको तर्फबाट प्रतिनिधित्व गरिरहेका छन् ।  

एमालेले आगामी चुनावपछि पनि एमालेको बहुमतको सरकार बन्ने दाबी गर्दै चुनावी अभियान थालेपछि एमालेभित्र राष्ट्रपति निकट रहेका उम्मेदवारहरुको पनि चर्चा हुन थालेको छ । 

एमालेविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेबाटै विभाजित माधवकुमार नेपाल नेतृत्वको नकेपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका पार्टीहरु एकातिर उभिँदा एमालेले कसरी जुटाउला बहुमत ? भन्ने प्रश्न आइरहेका बेला कतिपय अन्यायमा परेका नेताहरुले राष्ट्रपति भण्डारीको हस्तक्षेपका कारण यस्तो अवस्था आएको चर्चा गर्न थालेका छन् । 

एमालेले भावी प्रधानमन्त्रीका रुपमा संस्थागत रुपमा नै अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सारेको छ । ‘मंसिर ४ ओली सरकार’ भन्ने नारा नै अगाडि सारेको छ । तर गत स्थानीय तहको मतका आधारमा उसले गठबन्धन गरेको राप्रपा, जसपा लगायतका दलहरुको साथ लिँदा पनि बढीमा एमालेले एकदमै थोरै सिट जित्ने संभावना रहेको बेला एमालेभित्र राष्ट्रपतिकै कारण असन्तुष्टि देखिएको छ । 

गठबन्धन दलहरुभित्रको आन्तरिक खिचातानी र अन्तरविरोध पनि उस्तै भएको अवस्थामा एमालेले बढी सिट जित्ने आँकलन गरिएको छ ।

 ‘गठबन्धन दलहरुले विपक्षका चुनावी रणनीतिका आधारमा आफ्नो नीति बनाएर नतिजा आफ्नो पोल्टामा पार्न कोसिस गर्छन् । तर एमाले एक्लै निर्वाचनमा होमिएकाले गठबन्धनलाई चुनौती रहेको छ’, गठबन्धनमा सहभागी एक नेताले भने । 

एमालेले भने आफूले चुनाव जित्ने गरी बनाएको हिसाबकिताबमा प्रत्यक्ष तथा समानुपातिकमा गरेर १५० सिट जित्ने रणनीति अनुरुप चुनावी अभियान थालनी गरेको जिकिर गर्दै ओलीले देशव्यापी रुपमा सम्बोधन गर्न थालेका छन् । 

तर एमालेका कोही पनि नेता कार्यकर्ता यो स्वीकार्न चाहँदैनन् र मौन बसिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ