arrow

आज खग्रास चन्द्रग्रहण लाग्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २२ मंगलबार
lunar-eclipse-201801291000.jpg

काठमाडौं । कार्तिक शुक्ल पूर्णिमामा आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै छ । 

बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । ग्रहणले पुरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गमा’ मा उल्लेख छ । बेलुकी ५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिने छ ।
 
बेलुकी ५:२७ बजे ग्रहणको उन्मिलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए । बेलुकी ६:३४ बजे ग्रहण सकिन्छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिनेछ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । 

आज बिहान ८:११ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ०६:३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले बताए । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । यो ग्रहण जापान, कोरिया, चीन, भारत, क्यानडा, अलास्का आदि देशबाट खग्रास चन्द्रग्रहण देखिने छ । नेपाल, भारत, पाकिस्तान, आदि देशबाट भने साँझमा चन्द्रमा उदाउँदा ग्रहण लागिरहेको देखिनेछ । 

यसअघि कात्तिक ८ गते मङ्गलवार कार्तिक कृष्ण औँसीका दिन सूर्य ग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ ।

साथै आज लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण सामाखुसीस्थित तक्षशिला एष्ट्रोनामी क्लबले देखाउने व्यवस्था मिलाएको छ । सामाखुसीस्थित एकेडेमी भवनको छतबाट नि:शुल्क चन्द्रग्रहण देखाउने व्यवस्था गरिएको वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ