काठमाडौँ। परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयन तहमा लैजान पहल गरिने बताएका छन् ।
नयाँ दिल्ली प्रस्थान गर्नुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग महतले भारतसँग यसअघि समझदारी भएका सहयोगका परियोजनालाई कार्यान्वयन तहमा लैजान पहल गरिने बताएका हुन् ।
प्रधानमन्त्री दाहालको भारत भ्रमण तयारीका लागि भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा महत आइतबार त्यसतर्फ गएका हुन् । परराष्ट्रमन्त्री डा महतले भने , “प्रधानमन्त्रीको भारत भ्रमणका बेला सीमा क्षेत्रमा हुने डुबान समस्याको सामाधान, हुलाकी राजमार्गको निर्माण, भूकम्पपीडितलाई सहयोग गर्नेलगायतका विषयमा छलफल हुन्छ ।”
प्रधानमन्त्री दाहाल भारत सरकारको निमन्त्रणामा यही भदौ ३० गतेदेखि भारत भ्रमण गर्दैछन् । भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्दै मन्त्री डा महतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका बेला सहयोग स्वरुप घोषणा गरेको एक अर्ब अमेरिकी डलर सहुलियत ऋण परिचालनको ‘मोडालिटी’ बारे कुरा भइरहेको जानकारी दिए ।
मन्त्री महतका साथ परराष्ट्र मन्त्रालयका दक्षिण एसिया डेस्क हेर्ने सहसचिव भृगु ढुङ्गाना पनि भारत प्रस्थान गरेका छन् । परराष्ट्रमन्त्री महतको सोमबार मध्याह्न भारतीय विदेश मन्त्री स्वराजसँग भेट्ने कार्यक्रम छ । मन्त्री डा महत मङ्गलबार स्वदेश फर्किने छन् । रासस