arrow

रविप्रति इंगित गर्दै केपीले भने – ‘एउटा घन्टी पनि बजाउन नपाउनू’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २८ सोमबार
kp-oli-2079-07-28.jpg

चितवन । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी प्रचारमा हिँडेको गाडीमा ढुंगा हानेकोमा कडा आपत्ति जनाएका छन् । सोमबार चितवनमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले एउटा पार्टीको उम्मेदवारको गाडीमा ढुंगा हान्ने व्यक्तिलाई कारबाही गर्न माग गरेका छन् ।

उनले रवि लामिछानेप्रति इंगित गर्दै एउटा युवा राजनीतिमा आए त के बिगारे भन्दै घन्टी पनि बजाउन नपाउनू भन्दै व्यंग्य गरे । ‘कुनै दमाहा बजाएको होइन, नरसिंहा बजाएको होइन, एउटा घन्टी पनि बजाउन नपाउनू,’ उनले भने, ‘४ मंसिरसम्म कुदिरहन्छन् । कुद्न दिउँ न । किन गाडीमा ढुंगा हान्नु पर्यो ?’

ओलीले आफ्नो सरकारको पालामा भएगरेका कामबारे चर्चा गरे । उनले अहिलेको गठबन्धन सरकारको कडा विरोध गरे । उनले अहिलेको सरकारलाई अलच्छिना भनेर आरोप लगाए । यो सरकार खान मात्र आएको टिप्पणी गरे । आफ्नो सरकारको पालामा विकासैविकास भएको, अहिलेको सरकारले सबै विकास आयोजनाको बजेट काटेको भन्दै आपत्ति जनाए ।

आफ्नो सरकारले सुरु गरेको सामाजिक सुरक्षा भत्ताको उनले निकै प्रशंसा गरे । उनले नेपाली कांग्रेसप्रति रोष व्यक्त गरे । माओवादीसँग गठबन्धन गरेको भन्दै उनले कडा आपत्ति जनाए । 

आफू भोट माग्न आएको भन्दै उनले एमाले उम्मेदवार र एमालेले समर्थन गरेका उम्मेदवारलाई भोट मागे । ओलीले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई पनि भोट मागे ।
 



नयाँ