वीरगन्ज। मोविल व्यापारीलाई हतियार देखाई रकम लुटने अभियोगमा पर्सा प्रहरीले तीन जना नाबालकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी मोविल व्यापारी सुनसरी दुहवी भल्वा ५ निवासी नारायण साहलाइ हतियार देखाई लुटेको अभियोगमा १७ वर्ष मुनिका तीन जना किशोरलाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा व्यापारीलाई लुटेको अभियोगमा पक्राउ वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १७ बहुवरी निवासी वर्ष १७ का राजाबाबु पटेल, बारा बहुवरी ३ निवासी वर्ष १६ का राम कुमार पटेल र वर्ष १६ कै जटाशंकर पटेललाई सार्वजनिक गरिएको हो ।
वीरगन्ज उपमहानरपालिका वडा नम्बर २६ मा रहेको चन्दन लुब्रिकेटिङ वर्कसपबाट मोबिल लिएर ना १ च ४२ ५२ नम्बरको पिकप भ्यानमा सवारभई शनिबार राती वीरगन्ज तर्फ आउदै गरेका व्यपारी साहलाई हतियार देखाई ३२ हजार रुपैयाँ नगद र वाहन चालक सुर्यनारायण राजबंशीसंग रहेको एक थान मोबाईल लुटेको अभियोगमा प्रहरीले तीनै जना नाबालकलाई पक्राउ गरेको पर्साका प्रहरी उपरिक्षक डा.राजुबाबु श्रेष्ठले जानकारी दिए।
लुटिएको घटना जानकारी आएपछि तत्काल सो क्षेत्रको नाकाबन्दी गरी लुटमा संलग्न रहेकाहरुको हुलियाको आधारमा छानविन गर्दा लुटको रकम मध्ये नौं हजार पाँच सय रुपैया र मोबाईल समेत बरामद भएपछि तीनै जना किशोरलाई पक्राउ गरिएको उपरिक्षक श्रेष्ठले बताए ।
६/७ जनाको संख्यामा रहेका लुटेराहरुले साहलाई लुटेकाले घटनामा संलग्न अन्यको पहिचान भई सकेको र उनको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जना किशोर १६ देखी १७ वर्षका रहेको र उनलाई आवश्यक अनुशन्धानका लागि जिल्ला प्रहरी कार्यालयमै राखिएको प्रहरीले जनाएको छ ।