काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालसँग यही ३० गतेदेखि भारत भ्रमणमा जाने तयारीमा रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकालाई टीकापुर चेम्बर अफ कमर्सका कारण असामञ्जस्यमा परेका छन्। प्रधानमन्त्री दाहालसँग भारत भ्रमणमा जान लागेका मुरारकालाई चुनावी साधारणसभालाई सम्बोधन गर्न टिकापुरका व्यवसायीले आग्रह गरेपछि उनी असामञ्जस्यमा परेका हुन्। एकातिर प्रधानमन्त्रीसँगको भारत भ्रमण उनको लागि एउटा महत्वपूर्ण विषय बनेको छ भने टीकापुर चेम्बरका उद्योगीहरूले गरेको आग्रहलाई पनि उनी नकारी हाल्न सक्ने अवस्थामा छैनन्।
मुरारका निकट स्रोतका अनुसार उनलाई अहिले टीकापुर चेम्बरको ३० गतेदेखि सुरूहुने साधारणसभामा उपस्थितीको लागि दबाब नै आइरहेको छ। आफू भारत जाने तयारीमा रहेका मुरारकाले साधारणसभामा सहभागिताको लागि वरिष्ठ उपाध्यक्ष भवानी राणालाई पठाउने तयारी गरेका छन्। स्थानिय चेम्बरका अधिकारीहरूलाई पनि मुरारकाले त्यहि सल्लाह दिइरहेका छन्। तर प्रधानमन्त्रीको भारत भ्रमणमा राणा आफै पनि जान इच्छुक देखिएपछि कसरी कार्यक्रम मिलाउने भन्नेमा उनी पनि दोधारमा परेकी छिन्। तर, पशुपति मुरारका दिल्ली गएको खण्डमा राणालाई पनि दिल्ली जान सहज नरहेको महासंघ निकट स्रोतले जानकारी दिएको छ।
महासंघका अध्यक्ष मुरारका अध्यक्ष बनिसकेकोले टीकापुर जानु भन्दा पनि भारत जाने कुरालाई नै प्राथमिकता दिइरहेका छन् भने अबको अध्यक्षका आकांक्षी राणा भारत जाने कि टीकापुर भन्ने विषयमा दोधारमा परेको बताईन्छ। तर, आफैंलाई भोट दिएर नेता बनाएका जिल्ला उद्योग वाणिज्य संघको साधारणसभामा उपस्थित नहुँदा संघका पदाधिकारीमा भने निराशा छाउने पक्का छ। मुरारकाले दिल्ली रोज्ने अवस्थामा राणाले के रोज्छिन अथवा टिकापुरको कार्यक्रम केहि दिनलाई तलमाथि हुन्छ हेर्न बाँकी छ।