arrow

माओवादीको रणनीतिः कांग्रेसलाई तर्साउन एमालेसँग सहकार्य गर्ने सम्भावना कायमै 

दुई वर्ष माओवादीको नेतृत्वमा सरकार गठनको प्रस्ताव गठबन्धनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १८ आइतबार
maoist-centre-standing-committee-meeting-2079.jpg
फाइल तस्विर।

काठमाडौं । सरकार गठनमा ढुलमुले नीति लिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनसँगै सहकार्य गर्ने निर्णय सुनाएका छन् । अघिल्लो दिन सरकार गठनका लागि एमालेसँग पनि सहकार्य गर्ने निर्णय गराएका प्रचण्डले आइतबार त्यसलाई उल्टाउँदै गठबन्धनमा छलफल गर्ने निर्णय गराएका हुन् ।

यद्यपि एमालेसँगको सहकार्यको सम्भावना भने कायमै राख्ने भएका छन् । ‘सत्ता गठबन्धन पहिलो प्राथमिकता भनिएको हो तर एमालेसँग सहकार्य नगर्ने भन्ने निर्णय भएको छैन’, माओवादीका एक पदाधिकारीले भने । उनका अनुसार शनिवारको निर्णय बाहिर नल्याउन भनिएकोमा माओवादीका प्रवक्ता कृष्णबहादुर महाराले चुहाएपछि आइतबारको बैठकले त्यसलाई गठबन्धनभित्रै सहकार्यका लागि पहिला छलफल गर्ने विषय राखेर सार्वजनिक गरिएको थियो ।

‘प्रचण्डकै प्रस्तावमा एमालेसँगको सहकार्य पनि खुला गरिएको हो यसमा सबै पदाधिकारीहरूले सहयोग र समर्थन गरेका थिए तर आज गठबन्धन दलहरूसँग पहिला छलफल गरेर मात्रै अरू दलसँगको सहकार्यलाई प्राथमिकता दिने भनिएको हो’, स्रोतले भन्यो ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि शनिवारको निर्णयमा केही पनि फेरबदल नभएको तर आइतबार गठबन्धनमा छलफल गर्ने निर्णय भएको बताए । ‘ सरकार गठन बारे सुरुमा गठबन्धनमा छलफल हुन्छ त्यसबाट सकारात्मक परिणाम नआए मात्रै अर्को विकल्प खोज्ने हो’, महासचिव गुरुङले भने ।

माओवादी अध्यक्ष प्रचण्डले आधा कार्यकालको सुरुको दुई वर्ष आफ्नो नेतृत्वमा सरकार बन्नु पर्ने प्रस्ताव अघि सारेका छन् । प्रत्यक्षतर्फ जम्मा १७ सिट जितेको माओवादीले समानुपातिकतर्फ पनि १५ सिट पाउने अवस्था तर पनि प्रधानमन्त्रीको दाबी गरिरहेका कारण सत्ता गठबन्धनका लागि माओवादी निकै भारी पर्ने अवस्था सिर्जना हुन थालेको छ ।

 ‘सुरुमा दुई वर्ष माओवादीको नेतृत्वमा सरकार गठनको प्रस्ताव गरिसकेको छु’, प्रचण्डले आजको बैठकमा पदाधिकारीहरूलाई ब्रिफिङ गरेका थिए । उनका अनुसार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी गठबन्धनकै क्रममा प्रधानमन्त्री दिने वचन दिएका थिए । तर कांग्रेस नेताहरूले यो विषयलाई अस्वीकार गरेको अवस्था रहेको भन्दै माओवादी नेताहरूले आइतबारको बैठकमा प्रचण्डको भनाइलाई खण्डन गरेका थिए ।

 ‘उहाँले प्रधानमन्त्री बन्ने पालो मेरो हो भन्नु भयो हामीले कांग्रेसमै विवाद छ कसरी सम्भव छ भनेर प्रश्न गर्‍यौँ’, एक पदाधिकारीले भने । उनका अनुसार प्रचण्डले कांग्रेसलाई तर्साउन हतारमा आइतबार अर्को दलसँग पनि सहकार्यका लागि खुला गर्न राजी भएका थिए । तर यसले कालान्तरमा माओवादी आफैलाई घाटा गर्ने भएको भन्दै पदाधिकारीहरूले माओवादी अध्यक्षको आलोचना गरेका थिए । आलोचनाकै क्रममा उनीहरू विशेष महाधिवेशनको प्रसङ्ग पनि उठाएको स्रोतको दाबी छ ।

नयाँ सरकार गठनको सन्दर्भमा बसेको बैठकमा बैठकमा केही नेताहरूले विशेष महाधिवेशनको माग गरेका थिए ।  चुनावमा पार्टीको समग्र अवस्था खस्किएको देखिएको भन्दै केही पदाधिकारीले विशेष महाधिवेशनमार्फत पार्टीलाई ‘रिफर्म’ गरिनुपर्ने धारणा राखेको स्रोतको दाबी छ । उनीहरूले कतिपय स्थानमा गठबन्धन भए पनि मत ट्रान्सफर नहुँदा पार्टी हार्ने अवस्थामा पुगेको भन्दै यसको गम्भीर समीक्षा हुनुपर्नेमा पनि पदाधिकारीहरूले जोड दिएका थिए ।

यस्तै पार्टी सङ्गठनलाई चुस्त बनाइनुपर्ने तथा आफ्नै सङ्गठनको बलमा जित्ने अवस्थाको सिर्जना गरिनुपर्नेमा पनि नेताहरूले धारणा राखेको पनि स्रोतको दाबी छ । ‘पार्टीले किन हार्‍यो ? किन मत कम आयो ? भनेर पनि पदाधिकारीको मत आएको छ’, माओवादीका एक पदाधिकारीले भने । उनका अनुसार एमालेसँगको वार्ता र संवादको प्रसङ्गले पनि बैठकमा प्राथमिकता पाएको थियो ।

बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वी सुब्बा गुरुङले माओवादी नेताहरू जनार्दन शर्मा र शक्ति बस्नेतसँग कुराकानी गरिरहेको प्रसङ्गलाई पनि कोट्याएकोमा उनीहरूले शुभकामना आदानप्रदान मात्रै भएको भनेर टारेको स्रोतको दाबी छ ।

सरकार गठनको सन्दर्भमा एमाले नेताहरू पौडेल, गुरुङ र माओवादी नेताहरू शर्मा, बस्नेतले अनौपचारिक रूपमा छलफल गरिरहेका छन् । उनीहरुबीचमा कांग्रेससँगको सहकार्य बिग्रेमा एमालेसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने बारेमा खाका बनाउने र विभिन्न मोडेलमा कुराकानी चलेको स्रोतको दाबी छ ।

 एमाले नेताहरूले माओवादीसँगको सहकार्यलाई ‘राजनीतिक सरप्राइज’ दिने गरी तयारी गरेको एमाले स्रोतले पनि जनाएको छ । एमाले यो सत्ता गठबन्धनलाई भत्काएर आफ्नो नेतृत्वमा सरकार बनाउने कोसिसमा लागेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ