- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रत्यक्षतर्फको निर्वाचनको परिणाम आइसकेको र समानुपातिक मतको पनि परिणाम अन्तिम अवस्थामा पुगेका बेला सत्ता गठबन्धन दलको पहिलो बैठक आज बस्दैछ । सत्ता गठबन्धन दलको बैठकमा निर्वाचन परिणाम र आगामी सरकार गठनको विषयमा छलफल हुने भएको छ । यो छलफलसँगै सरकार गठनको बहसले औपचारिकता पाउने भएपछि नेकपा एमालेले पनि सत्ता गठबन्धन दलहरूको बैठक र त्यसबाट आउने नतिजालाई पर्खेर बसेको छ।
४ मंसिरको चुनावले संसद्मा राजनीतिक दलको शक्ति सन्तुलन परिवर्तन हुने स्पष्ट भएको छ । चुनावको अन्तिम नतिजा आइनसके पनि संसद्मा कुन दलको अवस्था के हुन्छ भन्ने स्पष्ट भइसकेपछि कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने नत्र एमाले अघि सर्ने गरी पर्ख र हेरको अवस्थामा रहेको हो ।
२०७४ को चुनावपछि संसद्मा पाँच राष्ट्रिय दल र अन्य दल गरी ९ दलको उपस्थिति थियो । अहिले सात राष्ट्रिय दल र अन्य गरी १० दलको उपस्थिति हुने स्पष्ट भएपछि एमालेले आफ्नो भूमिका परिवर्तन गर्ने र सरकार बनाउने विषयमा केही समय पर्ख र हेरको अवस्थामा बस्ने भएको हो । अहिले बिहानसम्म प्रत्यक्षतर्फ १६५ सिटमध्ये १६५ सिटकै अन्तिम परिणाम आइसकेको छ ।
समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ । यस्तो अवस्थामा एमालेले कांग्रेस ठूलो दल भएको स्वीकार गरिसकेको छ । ‘कांग्रेस पहिलो दल भैसकेको संसद्मा पहिलो दलले नै सरकार गठनको पहल गर्नुपर्छ, यो विषयमा एमालेले केही सोचेको छैन, गठबन्धन दलहरूले नै सरकार बनाउँछन् बनाउन नसके एमालेले पहल गर्ने विषय त छँदैछ’, एमाले उपाध्यक्ष विष्णु पौडेलले भने । उनका अनुसार एमालेलाई प्रतिपक्षमा बस्न जनताले निर्देशन दिएकै कारण सरकार बनाउन हतार नगर्ने भएको हो ।
यतिबेला समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ । त्यसैले यस पटक संसद्मा कुन दलको कति सिट हुन्छ भन्ने करिब करिब हिसाब निस्किसकेको छ । २०७४ को चुनावपछि संसद्मा वामपन्थीहरूको उपस्थिति लगभग दुई तिहाइ थियो । तर अहिले भने गैरकम्युनिस्टको बहुमत पुग्ने देखिएको छ । कांग्रेसले प्रत्यक्षतर्फ ५७ सिट जितेको छ भने समानुपातिकमा दोस्रो स्थानमा रहँदा ३२ सिट पाउने सम्भावना छ । यसरी २०७४ को चुनावमा समग्रमा ६३ सिटमा सीमित भएको कांग्रेसले अहिले शक्ति बढाएर ८९ सिट पुर्याउने देखिएको छ ।
यस्तै, अहिले संसद्मा नयाँ गैरकम्युनिस्ट पार्टीका रूपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको छ । यो पार्टीले प्रत्यक्षतर्फ ७ सिट जितेको छ भने समानुपातिकमा १४ सिट पाउने सम्भावना छ । समग्रमा यो पार्टी २१ सिटसहित प्रतिनिधिसभामा चौथो दलको हैसियतमा पुग्ने देखिएको छ ।
यस्तै, अर्को गैरकम्युनिस्ट पार्टी राप्रपाले पनि यो पटक शक्ति बढाएको छ । २०७४ मा एक सिटमा सीमित भएको राप्रपाको अहिले प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४ सिटसहित पाँचौँ शक्ति बन्नेछ । यस्तै, जनता समाजवादी पार्टीले ७ सिट प्रत्यक्ष जितेको छ भने समानुपातिकमा ५ सिट पाउने सम्भावना छ । पहिलो पटक संसदीय चुनाव जितेको जनमत पार्टीले प्रत्यक्षमा एक सिट जितेको छ भने समानुपातिकबाट ५ सिट पाउने सम्भावना छ ।
यस्तै, महन्थ ठाकुर नेतृत्वको लोसपाले ४ सिट जितेको छ । रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले पनि प्रत्यक्षमा तीन सिट जितेको छ ।
रेशम चौधरीका बुबा लालवीर चौधरीले बर्दिया २ बाट स्वतन्त्र उठेर चुनाव जितेकाले उनी उन्मुक्ति पार्टीमै जाने लगभग पक्का छ । यस्तै, कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेर सर्लाही ४ बाट चुनाव जितेका डा. अमरेश सिंह पनि गैरकम्युनिस्ट हुन् । यसरी हेर्दा यो संसद्मा गैरकम्युनिस्ट सांसदको संख्या १६१ पुग्छ । जसले गर्दा कांग्रेसले चाहे माओवादी र एस पार्टीको सहभागिता बिना नै सरकार बनाउन सक्ने सम्भावना पनि उत्तिकै छ ।