arrow

मोबाइल, गाडीलगायतको आयात प्रतिबन्ध हट्यो, राजश्व बढ्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २१ बुधबार
bilasi-expensive-gadget-final.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकल लगायतको आयातमा लगाइएको प्रतिबन्ध खुलाएको छ । आगामी पुसदेखि सरकारले सात महिनाअघि प्रतिबन्ध लगाएका सामग्री खुलाउने निर्णय गरेको हो । 

सरकारले विदेशी मुद्रा सञ्चितीका लागि विलासी सामग्रीको आयातमा प्रतिबन्ध लगाएको थियो । यसले मुद्रा सञ्चितीमा झिनो सुधार भए पनि राजश्व संकलनमा भने नकारात्मक असर पुगेको थियो । सरकारले सीधा आयातमा प्रतिबन्ध लगाए पनि ‘ग्रे मार्केट’ बढेकाले त्यसको असर राजश्वमा परेको थियो । 

अवैध मार्गबाट मोबाइल लगायतका विलासी सामानहरु आउन नरोकिएपछि राजश्व गुमेको हो । सरकारले विदेशी मुद्रा सञ्चिती घटेपछि गत बैशाख १३ गतेदेखि मोबाइल, गाडी, टीभी, मोटरसाइकल, तास लगायत १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । 

तर भदौ १४ मा राजपत्रमा सूचना प्रकाशन गरी ६ वस्तु (चुरोट तथा सुर्ती, हीरा, टीभी, खेलौना, तास, कुरकुरे–लेज) को प्रतिबन्ध फुकुवा गरेको थियो । सबै प्रकारका तयारी मदिरा (औद्योगिक कच्चा पदार्थ), ३ सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, एम्बुलेन्स र शववाहनबाहेक जिप, कार र भ्यान एवं १ सय ५० सीसीभन्दा माथिका मोटरसाइकलको आयात प्रतिबन्ध भने सरकारले यथावत् राखेको थियो ।

तर जतिसुकै प्रतिबन्ध लगाएको भए पनि बजारमा महंगा मोबाइलहरु आउन नरोकिएपछि यससँग सरोकार राख्नेहरुले सरकारसँग पटक पटक प्रतिबन्ध खोल्न माग गरेका थिए । उनीहरुले प्रतिबन्ध नखोल्ने हो भने ‘ग्रे मार्केट’ बन्द गर्न मागसमेत गरेका थिए । तर त्यो रोकिएको छैन । 

सरकारी नीतिकै कारण ठूलो नोक्सानी बेहोर्नुपरेको भन्दै उद्योगी व्यवसायीले प्रतिबन्ध हटाउन माग गर्दैै आएका छन् । 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मंसिर १६ गते शुक्रबार पत्रकार सम्मेलन गरेरै कार, जिप भ्यान र १५० सीसीभन्दा माथिका दुई पांग्रे सवारीसाधनको आयात खोल्न माग गरेको थियो । 

तर तस्करी हुने सुपारी, केराउलाई निर्वाध रूपमा आयात गर्न दिइएकामा सरकारको आलोचना हुँदै आएको छ ।

राष्ट्र बैंकका अनुसार गत असोजमा कुल विदेशी मुद्रा सञ्चिती ९ अर्ब ४८ करोड अमेरिकी डलर छ । यो गत असारको तुलनामा ०.६ प्रतिशतले मात्र कमी हो । नेपाली रुपैयाँमा भने १२ खर्ब ४६ अर्ब २२ करोड सञ्चिती पुगेको छ । गत असारमा सञ्चिती १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ थियो । 

आयात प्रतिबन्ध हटेपछि ‘ग्रे मार्केट’ कम हुने र राजश्वसमेत बढ्ने अपेक्षा गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ