काठमाडौं । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले राष्ट्रिय भवन संहिता कडाईका साथ पालना गराइने बताउँदै यसको पूर्णपालनाबाट मात्र आम नागरिकलाई विपद्को जोखिमबाट सुरक्षित राख्न सकिने धारणा राखेका छन् ।
सोसाईटी अफ नेप्लीज आर्किटेक्टले नेपाल आर्ट काउन्सिल बबरमहलमा आयोजना गरेको दुई दिने दोस्रो राष्ट्रिय आर्किटेक्चर प्रदर्शनीको बिहिवार उद्घाटन गर्दे मन्त्री केसीले ऐन कानूनहरुको प्रभावकारी कार्यान्वयनको प्रत्यक्ष लाभ सबै नागरिकलाई पुग्ने बताउँदै भवन संहिता कार्यान्वयन गराउन सबै संयन्त्र परिचालित गराईने स्पष्ट पारे ।
कार्यक्रममा मन्त्री केसीले सरकारको ध्यान सहरी विकासमा केन्द्रित रहेको बताउँदै यसकालागि आवश्यक सबै पूर्वाधारहरुको निर्माणमा देखिएका समस्याको अन्त्य गर्दे एकिकृत कार्ययोजना बनाईने समेत स्पष्ट पारे ।
सरकारी निकायहरुको समन्वय र सरकारी निजी सहकार्यमा सहरी विकास गुरुयोजना निर्माण गरेर अघि बढ्ने तयारीमा समेत मन्त्रालय रहेको मन्त्री केसीको भनाई छ ।
कार्यक्रममा सोसाईटी अफ नेप्लिज आर्किटेक्टका अध्यक्ष किशोर थापाले नेपालमा प्रत्येक वर्ष दुईसय ५० जना आर्किटेक्ट इन्जिनियरहरुको उत्पादन भईरहेको बताउँदै उनीहरुको ज्ञान र सीपको सदुपयोग गर्ने सरकारी सोचको आवश्यकता रहेकोमा जोड दिए ।