काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिलासंघको जारी तेस्रो महाधिवेशनमा पनि पार्टी शीर्ष नेताहरुकै बढी सक्रियता देखिएको छ। उनीहले चुनावी नतिजा आ–आफ्नो पक्षमा पार्न छुट्टा–छुट्टै भेला र चियापान आयोजना गरेका छन्। पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौलाबीच कार्यगत एकता भएपनि दुवै समूहका नेता कार्यकर्ता चियापानमा सरिक भएका छन्।
बिहीबार देउवा निवास बुढानीलकण्ठमा भएको दुई पक्षीय बैठकबाट खुल्ला, प्रदेश र समावेशी कोटामा निर्वाचित हुने विभिन्न पदका लागि दुई पक्षबीच लेनदेन मिलेपछि संयुक्त रूपमा उम्मेदवारी दिने सहमति भएको छ । सहमति अनुसार देउवा पक्षले अध्यक्ष सहित ३३ जना र सिटौला समूहले महासचिव सहित २३ जना पाउने कुरा भएको बुझिएको छ।
महाधिवेशन स्थलमै आयोजना गरेको चियापानमा देउवा र सिटौला समूहका महाधिवेशन प्रतिनिधि तथा उम्मेद्वाहरुले सामूहिक भेटघाट गर्न पाए। जहाँ स्वास्थ्यमन्त्री समेत रहेका केन्द्रीय सदस्य गगन थापालगायतका नेताहरु सहभागि भए। यसअघि, नेता रामचन्द्र पौडेल नेता पौडेलले छुट्टै चियापान आयोजना गरेका थिए। जहाँ केन्द्रीय सदस्य शेखर कोइराला समेत पुगेका गिए।
पौडेल पक्षको तर्फबाट शान्ति तथा पुनर्निर्माण मन्त्री समेत रहेकी पार्टी कोषाध्यक्ष सीतादेवी यादवले काठमाडौंको लैनचौरमा रहेको लैनचौर बैंङ्क्वीटमा महिला संघका महाधिवेशन प्रतिनिधीहरुलाई दिएको चियापानमा कोइरालालगायत नेता सहभागि भएका हुन्। पौडेल पक्षले कोइरालाई बैठक नबोलाउने मात्र होइन उनी समेत समूहको बैठकमा जान छोडेका थिए । सरकारमा जाने मन्त्रिहरुको सिफारिसका क्रममा पनि पौडेल पक्षको सूचीमा शेखर अटाएनन्।