काठमाडौं । नेपाल महिला संघमा मनोनित सदस्यले उम्मेदवार बन्न नपाउने सम्बन्धी विवाद समाधान भएको छ । अध्यक्षकी उम्मेदवार उमा रेग्मी र सदस्यहरु पद्मा शाह र नन्द वनबारे उजुरी परेका अवस्थामा माउ पार्टी नेपाली काँग्रेस र भगिनी संघ नेपाल महिला संघको विधान नै फरक परेपछि तीनै जना उम्मेदवार उठ्न पाउने भएका हुन् ।
निर्वाचन समिति संयोजक यदुनाथ खनालले हाम्राकुरालाई दिएको जानकारी अनुसार उजुरी परेपछि रातभर विधान हेर्ने, विज्ञहरुको विचार लिएर निर्णय भएको हो ।
महाधिवेशन प्रतिनिधिले चुनावमा उठ्न नपाउने कतै उल्लेख नभएकाले र मनोनित गरिएका सदस्यले पनि निर्वाचनमा भाग लिन पाउने विधानमा उल्लेख भए अनुसार विवाद समाधान भएको संयोजक खनालले बताए ।
काँग्रेसमा तत्कालीन सभापति सुशील कोइरालाले मनोनित गरेका ३० जनाले भने चुनावमा भाग लिन पाएका थिएनन् । त्यही विधानलाई टेकेर यसपटक उमा रेग्मीसहित तीन जनालाई निर्वाचनमा भाग लिन नपाउने गरी उजुरी परेको थियो ।
योसंगै मतदान प्रक्रिया शुक्रबार बिहान ९.३० देखि सुरु हुने पनि खनालले बताए ।
सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाको संयुक्त प्यानलको अध्यक्षकी उम्मेदवार उमा रेग्मीलाई नै विवादमा तान्दा चुनाव हुने स्थिति आएको थिएन ।
योसंगै उमा रेग्मी र मीना पाण्डेबीच कडा टक्कर हुने देखिएको छ । तर संयुक्त प्यानलबाट नै उठ्दा रेग्मीको पल्ला भारी रहेको विश्लेषण गर्न थालिएको छ ।