arrow

सम्पादकीय

कतार विश्वकपको सन्देश र नेपाली फुटबल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ४ सोमबार
qatar-worldcup-final-stadium.jpg

कतारले यसपालि विश्व फुटबलका हरेक कीर्तिमान तोड्न सफल भएको छ । आयोजक राष्ट्रको नाताले कतारले कुनै पनि कसर बाँकी राखेन । अहिलेसम्मकै फुटबल इतिहासमा सबैभन्दा धेरै रकम खर्चेर कतारले विश्वलाई नै चकित पार्दै विश्वकप फुटबल आयोजना गरेर वाहीवाही पाएको छ । 

पहिलो पटक खाडी मुलुकमा भएको विश्वकप सम्पन्न हुन नदिन विभिन्न षड्यन्त्र रचिएको भए पनि त्यसलाई चिरेर कतारले लक्ष्य पूरा गरेरै छाडेको छ । प्रायः असार–साउनमा हुँदै आएको विश्वकप यसपालि मंसिर–पुसमा हुनु आफैं कीर्तिमान हो । 

गर्मी हुने भएकाले कतारले अत्याधुनिक र वातानुकूलित रंगशाला निर्माण गरेर विश्वलाई नै चकित पारिदियो । अर्थात् उद्धेश्य लिएपछि त्यसलाई जसरी पनि पूरा गर्न सकिन्छ भन्ने उदाहरण बनेको कतार । 

विश्वकपका लागि साम, दाम, दण्ड, भेद सबै किसिमका रुप देखाउनु पर्ने भएकाले गर्दा हुन सक्छ कतारले भौतिक संरचना निर्माण गर्दा थुप्रै नेपालीको ज्यान गएको छ । त्यसको क्षति कहिल्यै पूर्ति हुन सक्दैन । त्यो कालो पाटो रहिरहने छ । त्यो भागलाई छाडुने हो भने कतारले उदाहरणीय काम गरेको छ । 

फुटबल विश्वकै चर्चित छ । विश्वकपलाई नपछ्याउने विरलै छन् । र यसले आर्थिक कायापलट गर्न सक्छ । यसपालि कतारले देखाइदिएको पनि छ । कतारको अवनति देख्न चाहनेहरुले पनि प्रशंसा गर्न बाध्य भए । 

कतार विश्वकपबाट नेपालीहरु पनि अछुतो रहन सकेनन् । एकातिर एसियाली मुलुकमै भएको विश्वकप र अर्कातर्फ फुटबलको ‘क्रेज’ का कारणले पनि विश्वकपमा होमिनेहरु बढ्नु स्वभाविकै हो । टिकट किनेरै पनि कतार पुगेर प्रत्यक्ष फुटबल हेर्ने नेपाली पनि रहे । 

विश्वको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई कति टिकट दिएमध्ये के कसरी बिक्री गरियो भन्ने सत्य जानकारी न यसअघिको नेतृत्वले दियो न अहिलेकै नेतृत्वले पूर्ण विवरण दिने हिम्मत गर्ला । जेहोस् पदाधिकारीहरुले कतारमा खुशीयाली मनाएका छन् । 

सवाल आउँछ पदाधिकारीहरु अरु देशलाई समर्थन गर्दै चिच्याउँदै र विदेशी खेलाडीहरुसँग रमाएको तस्बिर खिचेर फर्कन्छन् कि नेपाललाई पनि विश्वकपसम्म पुर्याउन कसरी सम्भव पार्न सकिन्छ भनेर सूत्र सिकेर फर्कन्छन् ? 

यसको जवाफ नेपाली फुटबलप्रेमीले पाउन सकेका छैनन् । ग्रासरुटदेखि नै फुटबलको विकास नगरेसम्म नेपालले कहिल्यै पनि विश्वकप फुटबलमा सहभागीता जनाउनेबारे परिकल्पना नगरे पनि हुन्छ । जग बलियो भएमात्र घर बलियो हुने हो । त्यो जग अहिलेसम्म हाल्न फुटबलका पदाधिकारीले सक्दै सकेनन् । 

फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का गुणस्तरीय कार्यक्रम ल्याउन नसक्नु एन्फाको कमजोरी हो । ल्याएका कार्यक्रमलाई टिकाउन नसक्नु र त्यसमाथि पनि चरम भ्रष्टाचार हुनु अर्को कमजोरी हो । अर्थात् विधिपूर्वक नेपाली फुटबल चलेको छैन । चार दर्जन जिल्लामा जिल्ला फुटबल संघ छन् । नियमित कार्यक्रम छैनन् । क्लबहरुलाई व्यवसायिक बनाउने सीप छैन । क्लबहरु पनि कतिबेला एन्फाले तयारी खर्च देला र विभिन्न लिगहरुमा सहभागीता जनाउन पाइएला भनेर ढुकेर बसेका छन् । क्लब नै स्थिर भएर चल्न नसकेपछि खेलाडीहरुले कसरी व्यवसायीक भएर खेल्न सक्छन् ? 

पदाधिकारीहरु जहिले पनि सरकारले लगानी गरेन भनेर गुनासो गर्छन् । तर फुटबलमा जति लगानी नेपालको अरु कुन खेलमा भएको छ ? यतातर्फ कहिल्यै ध्यान गएन । अब पनि कुनै लक्ष्य नलिइ अगाडि बढ्ने को हो कयौं दशक यसरी नै बित्नेछन् । नेपाली खेलाडी र टिमको हैन विदेशी खेलाडी र विदेशी टिमको वाही वाही गरेर विश्वकप हेर्नुको विकल्प हुने छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ