arrow

मुद्दा परिवर्तनको

लडाइँ पुस्ता हस्तान्तरणको

गणितमा फेल र मुद्दामा पास भए गगन

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०७९ पुष ९ शनिबार
rajendra-panthi-article-58.jpg

नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचन भर्खर सम्पन्न भएको छ । संसदीय दलको नेताको लागि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा प्रतिस्पर्धामा उत्रिएका थिए । देउवा ६४ मतसहित ३९ मतान्तरले विजयी भए । गगन थापाले भने जम्मा २५ मत प्राप्त गरे । 

प्रतिनिधि सभामा नेपाली कांग्रेसको संसदीय दलमा प्रत्यक्ष र समानुपातिक गरी जम्मा ८९ सांसद रहेका छन् । यस संसदीय दलको निर्वाचनमा कम्तीमा ४५ मत ल्याउने उम्मेदवार नै संसदीय दलको नेता बन्न सक्ने थिए । यस निर्वाचनमा कांग्रेस भित्र गुटको नेतृत्व गर्ने नेताहरू देउवा र डा. शेखर कोइराला नै दुई गुट बनी कित्ता स्पष्ट पारेर देखिए । 

कांग्रेसभित्र धेरै बलिया बलिया गुटहरू बनेको देखिन्छ । जस्तै; सभापति देउवा गुट, वरिष्ठ नेता रामचन्द्र पौडेल गुट, शेखर गुट, डा. शशांक कोइराला गुट, बिमलेन्द्र निधी गुट, प्रकाशमान श्रेष्ठ गुट, कृष्णप्रसाद सिटौला गुट आदि । यस निर्वाचनमा शेखर गुट, कृष्णप्रसाद सिटौला गुट बाहेकका सबै गुटहरू सभापति शेरबहादुर देउवातिर लागेको देखियो र यी सबै गुट मिलेर देउवालाई संसदीय दलको नेतामा विजयी पनि गराइयो ।

नेपाली कांग्रेस संसदीय दलमा अङ्क गणितीय हिसाब गर्दा मतदाता सांसद ८९ मध्ये देउवाको पक्षमा ५८ जना र गगन थापाको पक्षमा कम्तीमा ३१ बढीमा ३७ जना हुन सक्छन् भनिएको थियोे । तर मत परिणाम आउँदा गगनका पक्षमा सुनिश्चित छन् भनिएका ७ मतहरूसमेत घटे र ती मतहरू देउवातिर गए भनिएको छ । गोप्य मतदान भएको हुनाले बाहिर हिसाब गरे जस्तो तिनै गनिएका मतहरू यताउता भए भन्ने त होइन । तर सिंहदरबारभित्र गोप्य मतदान प्रक्रियामा गोप्यता भङ्ग गरिएका दृश्यहरू देखिएको हुनाले जनताका प्रतिनिधिले समेत   विवेकसम्मत तरिकाले निर्णय गर्न नसकेको स्पष्टै देखियो । 

गोप्य मतदान प्रक्रियामा केही मतदाताले मतपत्रको फोटो खिचिएको घटनाले सांसद जस्तो गरिमामय पदमा रहेको व्यक्तिले आफ्नो इमान्दारिता र नैतिकता बेचेको आरोप खेप्नु पर्यो।अझै सामाजिक संजालमा प्राप्त जानकारी अनुसार १२ दिदीबहिनी सांसदले भाउजूहरूलाई प्रमाण देखाउनको लागि फोटो खिचेको भन्ने कुराहरू बाहिर आइरहेका छन् । यद्यपि ती दिदीबहिनीहरू भनेका को को हुन् र भाउजूहरू भनेका को को हुन् भन्ने तथ्य आइसकेको छैन । 

गोप्य मतदान प्रक्रियामा मोबाइल फोन लैजानु हुन्छ वा हुँदैन भन्ने कुरा विवादै बनाउनु पर्दैनथ्यो । स्वभाविकै रुपमा निर्वाचनको आचारसंहिताअनुसार नै मोबाइल साथमा लैजानु हुँदैन भन्ने नै हुन्छ । कसैले आफूले मत दिएको मतपत्रको फोटो खिच्छ भने त्यसमा स्वच्छता हुन्छ भनेर विश्वास गर्ने ठाउँ नै देखिँदैन । यी क्रियाकलापबाट यस निर्वाचनमा मतलाई पैसा र पदले खरिद गरिए र सांसदहरू पनि किनिए र बेचिए भनेर आरोप लगाउन सकिन्छ ।

यदि यो गरिएकै हो भने अत्यन्तै घृणित र निन्दनीय घटना हो । यसले नेपाली कांग्रेसका माननीय सांसदहरूको निर्णय गर्ने क्षमता, विवेक, इमान्दारी र नैतिकतामाथि धेरै प्रश्न, शंका, आरोप र लान्छना लागेका छन् । जनताको सर्वोच्च निकाय व्यवस्थापिका छिर्नु पूर्व नै कहिल्यै नमेटिने दाग लागेको देखिन्छ ।

संसदीय दलको निर्वाचनमा गगन थापाको अङ्क गणितीय पराजय हुनुमा पार्टीकै प्रमुख कारण भए पनि पार्टी बाहिरको प्रभाव भएन भन्न सकिन्न । कांग्रेसका सांसदहरूमा सत्ता स्वार्थ र पदलोलुपताको लोभ रहेको देखिन्छ । एक त कांग्रेसको केन्द्रीय कार्यसमितिमा सभापति देउवा पक्षमा अत्यधिक बहुमत रहेको छ भने संसदीय निर्वाचनमा टिकट वितरण गर्दा नै देउवाले धेरैजसो आफ्नो समूहका कार्यकर्तालाई टिकट वितरण गरेका थिए भने समानुपातिक प्रणालीमा पनि आफ्नै समूहलाई प्राथमिकता राखेका थिए ।

पहिले नै करिब बहत्तर प्रतिशत सांसदहरू आफ्नो पक्षमा बनाएर देउवा सुरक्षित र सुनिश्चित भएका थिए भनिएको थियोे । गगन थापाले नयाँ मुद्दा उठाएर हजुरबुवा पुस्तासँग प्रतिस्पर्धामा उत्रिएका हुनाले कतै सांसदहरू परिवर्तनको पक्षमा आउँछन् कि भन्ने थियोे । तर त्यसो हुन सकेन । उनीहरू देउवाको पदलोलुपताको जालो र  जंजिरबाट बाहिर निस्कन सकेनन् ।

यसले गर्दा कांग्रेसलाई युग अनुकूल बनाउन अझै गगन थापाहरूले यो विद्रोहको शैलीलाई  तीव्र रुपमा अगाडि बढाउनु पर्ने देखिन्छ । कांग्रेस बाहिरको प्रभावलाई चर्चा गर्दा शेरबहादुरको नेतृत्वमा सरकारमा जाँदा कांग्रेसइतर पार्टी वा शक्तिलाई राजनीतिक चलखेल गर्न जति सजिलो हुन्छ, गगन हुँदा उनीहरूलाई पक्कै पनि सहज हुँदैनथ्यो । 

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले देउवा संसदीय दलको नेता नभए गठबन्धन भत्किन पनि सक्छ भनेकै थिए । यसरी कतै  गठबन्धन भत्कने हो कि र पद पाइँदैन कि भनेर पनि लोभलालचले गर्दा पनि देउवालाई जिताइएको छ । गगन थापा अलोकप्रिय भएर हारेका होइनन् । देउवालाई जिताउनको लागि नेपाली कांग्रेसइतर शक्ति राम्रै लागेको पनि देखिन्छ ।

अहिले नै पनि देउवा कांग्रेस सभापति र प्रधानमन्त्री हुँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुष्पकमल दाहाल प्रचण्डसँग सत्ताको साँचो मात्र नभएर नेपाली कांग्रेस सञ्चालन गर्ने साँचोसमेत रहेको देखिन्छ । सत्ता स्वार्थको बाँडफाँटमा शेरबहादुरलाई सजिलैसँग गलाउन सकिन्छ र फाइदा लिन सकिन्छ भन्ने कांग्रेसइतर पार्टीलाई विश्वास लागेको पाइन्छ ।

कांग्रेसको गगन गुटले उठाएका मुद्दा भनेका नेपाली समाजको सामाजिक, आर्थिक र राजनीति परिवर्तनको लागि उठाएको अत्यन्तै समसामयिक महत्त्वपूर्ण मुद्दा र विचारहरू रहेका छन् । देशको समृद्धिको लागि अब नेपाली राजनीतिमा रुपान्तरण र पुस्तान्तरण हुनुपर्छ भन्ने मुद्दा नै गगन गुटको एउटा  प्रमुख एजेन्डा हो । 

यस्तो महत्त्वपूर्ण मुद्दा बोकेर उदाइरहेका युवापुस्ताको प्रतिनिधि गर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रतिस्पर्धामा उत्रिँदा पनि असफल गराइएको छ । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा नेपाली कांग्रेसका अधिकांश सांसदहरूले पुनः देउवालाई नै जिताउनु भनेको जनताको आवाज र आकांक्षा अनि एउटा सिङ्गो मुद्दालाई नै लत्याउन खोजेको देखिन्छ र अझै नेपाली राजनीतिलाई यथास्थितिमा राख्न खोजेको देखिन्छ । अनि परिवर्तनको लागि बाधक बन्न खोजेको देखिन्छ । कांग्रेस सभापति तथा नव निर्वाचित संसदीय दलका नेता देउवा नेपाली राजनीतिमा पटकपटक प्रयोग भएर असक्षम प्रमाणित भएका पात्र हुन् । देउवालाई दलको नेता बनाई छैटौं पटक प्रधानमन्त्रीको दौडमा लगाउनु भनेको देशलाई थप बर्बादीतिर धकेल्नु नै हो । 

वास्तवमा कुनै एउटा व्यक्तिको नेतृत्व र भिजनले देशको रुपान्तरणमा महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । तर २०४८ देखि आजसम्म आउँदा कहिँ कतै नेतृत्वमा शेरबहादुर देउवाले पटकपटक नेतृत्व सम्हालिरहँदा देशले खासै उल्लेखनीय कुरा प्राप्त गर्न सकेको छैन । देश निर्माणको अभिभारा लिएर आएका जनप्रतिनिधि नै अन्धो भएर आफ्नो व्यक्तिगत र गुटको स्वार्थको लागि पटकपटक प्रयोगबाट असक्षम प्रमाणित भएको व्यक्तिलाई नेता र प्रधानमन्त्री चयन गर्दा देशले कहिल्यै पनि काँचुली फेर्न सकेको छैन । 

पछिल्लो चरणमा प्रजातन्त्रको पुनःबहाली भएको करिब तेत्तीस वर्ष बितिसक्दा देशमा आशालाग्दो र उल्लेखनीय उपलब्धि हुन नसक्नु नै यस्तै असक्षम पात्रलाई बारम्बार नेतृत्वमा पुर्याउनु नै हो । आजको २१ औं शताब्दीमा युवा पुस्ताको प्रतिनिधित्व गर्दै पुरानो चिन्तन र पुस्ताको विरुद्धमा रुपान्तरण र पुस्तान्तरणको मुद्दा उठाएका शेखर कोइराला, गगन थापा, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल आदि एकजुट हुँदा पनि पुरानो चिन्तन नै बोकेका सांसदहरूबाट साथ नपाउनु भनेको उनीहरूको एजेन्डालाई असफल बनाउने प्रयत्न गरिनु हो । 

आजको युग अनुकूल र लोकतन्त्रलाई मलिलो र बलियो बनाएर सरकार हाँक्ने एउटा सक्षम पात्र जनताले पनि खोजिरहेको अवस्थामा अझै पनि कांग्रेसका अधिकांश नेता तथा सांसदहरू पार्टी सभापति शेरबहादुर देउवाको सत्तालिप्सा र परिवारवादमा नराम्ररी फसेको देखिन्छ । अब कांग्रेसका योग्य, इमानदार र निष्ठावान कार्यकर्ताहरू यसरी चुप लागेर बस्नु हुँदैन । यस्तै किसिमले पार्टीभित्रको नातावाद, कृपावाद, चाकडी र चाप्लुसी प्रथाविरुद्ध विद्रोह गर्दै जानुपर्छ । देशमा राजनीतिक स्थायित्व र समृद्धिको लागि कांग्रेस जस्तो इतिहास बनाएको पुरानो पार्टी जीवन्त र बलियो हुनुपर्छ ।

कांग्रेसको संसदीय दलको निर्वाचनमा अङ्क गणितीय हिसाबले महामन्त्री गगन थापाले हारे पनि मुद्दाको दृष्टिकोणले उनको जित भएको छ । नेपाली कांग्रेसभित्रको देउवाको जालो र जंजिरलाई प्रजातान्त्रिक निर्वाचन  प्रक्रियाबाट भत्काउने प्रयास गरिरहेका छन् र देउवाको एक छत्र रजगजलाई चुनौती दिइरहेका छन् । 

यो कांग्रेस भित्रको देउवा र गगनको प्रतिस्पर्धा मात्र नभए पुस्ता हस्तान्तरणको लागि बाजे र नाति लडाइँ पनि हो । उनले पार्टीको महामन्त्रीमा पनि दोस्रो पटकको प्रतिस्पर्धामा सफलता हासिल गरेका थिए । अहिले उनले संसदीय दलको नेतामा पहिलो पटक सफलता हासिल गर्न नसके पनि दोस्रो पटकमा अवश्य सफलता हासिल गर्नेछन् । अहिलेको यो निर्वाचनको प्रतिस्पर्धाले देउवा गुटलाई  पनि आगामी दिनको लागि एकोहोरो निर्णय गरी जबर्जस्ती अगाडि बढ्न त्यति सजिलो छैन । तत्काल शेखर समूह संख्यात्मक दृष्टिकोणले थोरै भए पनि विचार र मुद्दाको दृष्टिकोणले धेरै अगाडि देखिएको छ । (लेखक अमेरिकाको भर्जिनियामा कर्म गर्छन्)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ