arrow

देउवाका कारण कांग्रेस पीडामा

logo
जगदिशनरसिंह केसी, 
प्रकाशित २०७९ पुष १३ बुधबार
jagadishwor-narasingh-kc-2078.jpg
तस्बिर – फाइल ।

शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन् ।  तर उनी सिद्धान्त, नीति, निष्ठा र संस्कारको कसीमा कांग्रेस हुन् कि कांग्रेसलाई भित्रैदेखि कीरा पारेर सडाउने छद्मभेषी वा कसैका एजेण्ट हुन् ? कांग्रेसका निष्ठावान कार्यकर्ताका मनमा विगत केही वर्षदेखि उब्जिएका यी प्रश्नहरु हिजोसम्म अतिशयोक्ति र पूर्वाग्रही जस्तो लाग्थ्यो । 

तर आज स्वभाविक रुपमा यो प्रश्न पार्टीभित्रका विभिन्न तह र तप्काका नेताहरुमा मनमा उठेको छ । र उठ्नुपर्छ । पाँच पटक मुलुकको प्रधानमन्त्री भएका व्यक्तिले मुलुक र आफ्नै पार्टीहरूलाई निचोरेर अट्टाहास गरिरिहँदा पनि भूलचूकवश यसो भएको हो, भनेर क्षमा दिने ठाउँ अब रहेन ।

दुई पटक नेपाली कांग्रेसको वैधानिक सभापति र एकपटक पार्टी फुटाएर सभापति भएका देउवाले आफूलाई कहिल्यै सुधारेनन् । सिंगो पार्टी र संघर्षबाट जीवन समाप्त गरेका कार्यकर्ताको वास सडकमा हुँदा पनि उनको चेत फिरेन । पार्टी नेतृत्वलाई लोकतान्त्रिक बन्ने आग्रह गर्दै नेता– कार्यकर्ताहरुले खबरदारी गर्दा पनि देउवाको निरङ्कुश चरित्रमा कहिल्यै परिवर्तन आएन ।

देउवाकै कारणबाट पार्टीको लोकतान्त्रिक निष्ठा र चरित्र गुमेको पीडा आज आम कांग्रेसजनले भोग्नु परिरहेको छ । यसकारण अब कुनै सच्चा लोकतन्त्रवादी, स्वाभिमानी र निष्ठावान कांग्रेसजनले सभापतिका नाममा देउवालाई सहज रुपमा स्वीकार गर्नु पर्ने अवस्था छैन । 

पार्टी समाप्त पारेर आफू मात्रै बलियो बन्न खोज्ने देउवाको हठलाई अब पनि  सामान्य ठानियो भने मुलुकमा प्रजातन्त्र र कांग्रेस नै समाप्त हुने छ । प्रजातन्त्र र कांग्रेस जोगाउन पनि अब देउवाका विरुद्ध लड्नु पर्ने दुर्भाग्यपूर्ण दिन हामी कांग्रेसहरुका सामु आएका छन् ।
 
पाँच दलीय सत्तागठबन्धनको जोड उनैको थियो । यो गठबन्धनको विरोध गर्नेहरूलाई उनैका चट्टाबट्टाले ‘गठबन्धन नमान्नेले पार्टी छोडेर गए हुन्छ’ भन्ने सम्मका चुनौती  दिए । जुन कुरा कांग्रेसको संस्कारसँग मिल्ने र शोभनीय थिएन । कांग्रेसले देशको भविश्य बनाउने सपना देखेका कांग्रेस नेता–कार्यकर्ताहरु देउवा मण्डलीका यस्तै अपमान जनक ओठे जवाफ सुन्न बाध्य भएका छन् ।  

गठबन्धनको नाममा पार्टी सभापति पदको दुरुपयोग गर्दै देउवाको निरङ्कुश मर्जीले गर्दा प्रतिनिधि सभाको लागि ७४ सिटमा माया मारेर ९१ सिटको उम्मेद्वारीमा खुम्चिनु परेको घाउ अब कांग्रेसले कहिले पुर्न सक्ला ? चिन्ताको विषय बनेको छ ।  भने प्रदेश सभाको हकमा पनि देशभर यस्तै नियति भोग्यो कांग्रेसले । 

चितवन, पर्सा, धनुषा, कास्की, प्यूठान जस्ता कांग्रेसका ऐतिहासिक र गौरवभूमि गठबन्धनका नाममा कांग्रेसले त्याग्नु परेको खेदजनक स्थितिमा देउवाले सभापतिबाट राजीनामा नदिनु यो जस्तो लज्जास्पद के हुन्छ ?  
 
एकातिर ३५ लाख नयाँ मतदाता थपिएका छन् । अर्कातिर कांग्रेसले अघिल्लो निर्वाचनको तुलनामा सात लाख मत गुमाएको अवस्था छ । २०७४ को संसदीय निर्वाचनमा एमाले र माओवादी मिलेर निर्वाचन लड्दा पनि कांग्रेसको एमालेकै हाराहारीमा लोकप्रिय मत थियो । तर त्यसयता कांग्रेसको छवि र जनाधारमा नै घात हुने काममा सभापति देउवाको प्रत्यक्ष हात रहेको छ ।

पार्टीका क्रान्तिकारी, जनप्रेमी र निष्ठावान कार्यकर्ताहरूलाई यो वा त्यो बहानामा अन्यायपूर्वक निराश र हतोत्साही बनाएर पन्छाउने काम भयो । र भ्रष्टाचारी, तस्कर, कालोधन वा आर्थिक अपराधका धनपतिहरूलाई प्रश्रय, संरक्षण र पुरस्कृत गर्ने परिपाटी उनीबाटै निर्माण गर्यो ।

पाँच दलीय गठबन्धन तहसनहस हुनुमा सभापति देउवाकै दुर्बुद्धि, खोक्रो अहंकार र कांग्रेसघाती हर्कतको परिणाम हो । सत्तामा आफ्नो औचित्य स्वयंले समाप्त गरेका देउवालाई कांग्रेसको सभापति हुने र उनलाई सभापति मानिराख्नु पर्ने औचित्य समाप्त भएको छ ।

अतः शेरबहादुर देउवाले या त सभापति पदबाट राजीनामा दिएर इज्जतपूर्वक हट्नुपर्छ । नत्र भने पार्टीको विशेष महाधिवेशन बोलाएर उनलाई पदमुक्त गर्नु जरुरी भएको छ । सभापतिको गरिमामय पद कसैको मनपरी गर्ने र पार्टीकै हुर्मत लिने पद कदापि हुन सक्दैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ