काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्य पार्टीबाट भित्रिएका नेताहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएको दुई दिन वित्न नपाउँदै एमालेका अधिकांश सदस्य तथा नेताहरु गैरकम्युनिष्ट भएको बताएका छन् ।
पार्टीको केन्द्रीय स्कुल विभागले शनिबार ललितपुरमा गरेको कार्यक्रमा अध्यक्ष ओलीले एमालेका कतिपय सदस्य तथा नेताहरुलाई कम्युनिष्ट भन्नै नसकिने तर्क गरे । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने, ‘म जो कम्युनिष्ट पार्टीको अध्यक्ष हरेको छु त्यो पार्टीका कतिपय सदस्य र नेताहरु कम्युनिष्ट होइनन् ।’ यद्यपि, ओलीले आफुले भनेका कुराहरु सार्वजनिक नभई गोप्य र अफ द रेकर्डका रुपमा लिन कार्यकर्ताहरुसँग आग्रह गरे ।
गएको विहिबार मात्रै पार्टी स्थायी समिति बैठकले डिल्लीराज खनाल, घनश्याम भट्टराई, मझिलाल थारु थनेत, चक्रपाणि तिमिल्सिना र घनप्रसाद गौतमलाई केन्द्रीय सल्लाहकार परिषद्का सदस्य तथा कृष्णबहादुर शाहीलाई ज्येष्ठ कम्युनिस्ट मञ्चको सदस्य बनाएको थियो ।
यस्तै, बमबहादुर बिसी, रूपबहादुर परियार, लक्ष्मी फुयाँल, ट्रिपल पी गुरुङ, चन्द्रलाल केप्छाकी मगर, विजय राई र ठाकुर गजुरेललाई विभिन्न प्रदेश सङ्गठन कमिटीको सदस्यको जिम्मेवारी दिएको थियो । उनीहरु मध्ये अधिकांश अन्य पार्टीबाट एमाले प्रवेश गरेकाहरु हुन् ।
अध्यक्ष ओलीले एमालेका कतिपय नेताहरुमा कम्युनिष्ट नेताको आचरण र विचार नै नरहेको तर्क गरे । ओलीले भने, ‘एमालेका धेरैजसो नेताहरु बाहिर एउटा देखाउने र भित्र अर्कै गर्ने खालका रहेका छन् ।’ नेता माधव नेपाल समूहप्रति संकेत गर्दै ओलीले कतिपय नेताहरुले अहिले पनि झारफुकमा विश्वास गर्ने तथा घरको ढोका बन्द गरेर माथिल्लो तलामा गई बर्बराएर ग्रहशान्ति गर्ने गरेको बताए ।
यद्यपि, ओलीले विश्वास गर्ने र सहयोगीहरु विदेशीको लगानीमा हुने योगामा जाने गरेको बारे भने केही उल्लेख गरेनन् । पछिल्लो समय विभिन्न दलका नेताहरु विदेशीको लगानीमा हुने योगामा सहभागि हुने गरेको तथ्य खुलेको छ । जहाँ एमालेका दोस्रो तहका नेताहरु समेत पुग्ने गरेका छन् ।
अध्यक्ष ओलीले स्कुल विभागबाट प्रशिक्षण लिएका कार्यकर्तालाई पार्टीका नेताहरुको जस्तो दोहोरो चरित्र नदेखाउन आग्रह गर्दै पार्टीका नेताहरुको दार्शनिक अवस्था निकै कमजोर रहेको र स्मरण शक्ति हराउँदै गएको तर्क गरे । ओलीले त्यसअघि शनिबारकै कार्यक्रममा दुईचार जनाले गाउँदैमा संविधान संशोधन नहुने भन्दै अहिले संविधान संशोधनका नाममा मदारीले जमुरे नचाए जस्तै नचाउन खोजिएको कटाक्ष गरेका थिए । यस्तै, एमालेले असोज ३ गते मनाउन लागिएको संविधान दिवसमा छुट्टै कार्यक्रम गर्ने भएको छ ।