काठमाडौं । २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको १९ औं स्मृति दिवस आइतबार विविध कार्यक्रम गरी मनाइँदैछ ।
सो क्रममा काठमाडौको शोभा भगवतीमा रहेको स्वर्गीय सिंहको प्रतिमामा माल्यार्पण गरेर सिंहको योगदानको स्मरण गरिँदैछ ।
१९७२ सालमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।
लौहपुरुषका नामले समेत चिनिएका सिंहले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि कठोर संघर्ष गरेका थिए ।
बीपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका गणेशमान सिंह कांग्रेसले लिएका हरेक कदममा बीपीसँगै थिए । उनी कहिल्यै पदको लोलुपतामासमेत लागेनन् ।
राणा शासनविरुद्धको आन्दोलनदेखि २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव र सरकार अनि २०१७ सालको महेन्द्रको प्रजातन्त्रमाथिको कूसम्म उनीहरु सँगसँगै रहे ।
जेल तोडेर भारत प्रवासमा रहँदा होस् वा मेलमिलापको नीति लिएर २०३३ सालमा नेपाल फर्कदा या २०३७ सालको जनमत संग्रहमा सहभागि हुँदा मुद्दामाथि विमति रहँदा पनि बीपीसँग उनी साथमै रहे ।
०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना र २०४७ को संविधान निर्माणपछि उनले सरकारको नेतृत्व गर्ने नेताहरुलाई आर्थिक क्रान्तिमा लाग्न बारम्बार घच्घचाएका थिए ।
त्यसो नगरेसम्म राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धि प्रजातन्त्र स्थीर र स्थायी नहुने उनको धारणा थियो ।
जीवनको उत्तराद्र्धमा काँग्रेसले नै सम्मान गर्न नसकेपछि सिंह आफैले हुर्काएको पार्टी परित्याग गरेका थिए ।
त्यागी, पदलोलुपविहीन र साहसी सिंहको अहिले पनि आवश्यकता खड्किएको काँग्रेसका नेताहरु बताउन भने चुक्दैनन् ।