काठमाडौं । संविधानप्रति असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई मधेस आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारमा लागेको खर्चको विवरण सरकारलाई बुझाएको छ । आइतबार दिउँसो सिंहदरबार पुगेका मोर्चाको सचिवालयका नेताहरुले गृहमन्त्री विमलेन्द्र निधिलाई ‘खर्च’ विलसहितको विवरण बुझाएका हुन् । जसमा डेढ करोड बढीको खर्च विवरण छ ।
विवरण हस्तान्त्रण पछि सद्भावनाका महामन्त्री मनिष सुमनले हाम्राकुरालाई भने, ‘एक–एक रुपैंयाको हिसाब बुझाएका छौं । जसमा शहीद घोषणा हुन बाँकी १६ जनाको सूची, जीवन पर्यन्त भरण पोषणका लासगि घाइतेको नामावली, विभिन्न अस्पतालमा घाइतेको उपचारका क्रममा भएको खर्च विवरण र छुट मुद्दाको विवरण समावेश छ ।’
सुमनसंग तराई मधेस सद्भावना पार्टीका बरिष्ठ नेता रामनरेश राय यादवलगायत सहभागि थिए । सुमनले भने, ‘कयौं व्यक्तिको ४२–४३ लाखको विल छ । यस्तै, विभिन्न अस्पतालहरुको करिब ९० लाखको विल रहेको छ ।’ हामीले सम्पूर्ण विवरण गृहमन्त्रीलाई बुझाएका छौं ।
विवरण मोर्चाले बुझाएपनि रकम सम्बन्धित अस्पताल र व्यक्तिलाई नै दिन भनिएको महामन्त्री सुमनले बताए । शनिबार मात्रै गृहमन्त्री नीधिले दशैं अघि उपचार खर्च र शहीद परिवारलाई आर्थिक सहायता दिइसक्ने र मोर्चाकार्यकर्ता विरुद्ध लागेका झुठ्ठा मुद्दा फर्ता गर्ने उद्घोष् गरेका थिए । मोर्चाका नेताहरुसंगको भेटमा गृहमन्त्री विमलेन्द्र निधिले साँझ ५ बजे बस्ने मन्त्रिपरिषद बैठकमा यसबारे छलफल हुने बताएका छन् ।
बाँकी मृतक १६ जनालाई शहीद घोषणा गर्न माग
तराई–मधेस आन्दोलनका क्रममा मृत्यु भएका तर शहीद घोषणा नभएका १६ जनालाई समेत मोर्चाले शहीद घोषणा गर्न माग गरेको छ । मोर्चाले यसअघि बुझाएको ६८ जनाको सूचीमा रहेका मध्ये ५२ जना शहीद घोषणा भइसकेका छन् । बाँकी १६ जनाबारे छानविन गर्नु पर्ने भएकाले तत्काल शहीद घोषणा नगरिएको गृहमन्त्री निधिले बताउँदै आएका छन् ।
अब बाँकी रहेका १६ जनामा एक जना भारतीय नागरिक समेत रहेका छन् । ती भारतीय नागरिक सीमावारी आएका बेला प्रहरीसंगको दोहोरो झडपमा मारिएका थिए ।
१६ जनाको सूचीमा वीरगञ्जमा मारिएका भारतीय नागरिक आशिष राम र महोत्तरीमा आत्महत्या गरेका एक व्यक्ति पनि छन् । गृहमन्त्रालयले यसअघि मृतकको सूचीमा अन्य कारणले मृत्यु भएकाहरु समेत समावेश रहेको भन्दै कानूनी प्रक्रिया पूरा गरेर मात्रै घोषणा गरिने बताएको थियो ।