कास्की । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत गई नेपालको इज्जत फालेको आरोप लगाएका छन् ।
कास्कीको पोखरामा आयोजित एमाले प्रदेश नम्बर ४ संगठन कमिटीको पहिलो बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा नेपाली राष्ट्रियतामाथि कलङ्कको टीका लगाएको कटाक्षपूर्ण आरोप लगाए ।
ओलीले भने, ‘दाहालले भारत भ्रमणका क्रममा गरेको २५ बुँदे सम्झौता राष्ट्र हित विपरीत छ । राष्ट्रिय स्वाभिमानविरुद्ध राणा प्रधानमन्त्री मोहनशमशेरले समेत नगरेको काम दाहालले गरिदिए ।’
ओलीले दाहाल र भारतीय प्रधानमन्त्री मोदीले जारी गरेको संयुक्त वक्तव्यमै संविधान विरोधी विषय समावेश रहेको जिकिर गर्दै ओलीले त्यो हर्कतमा ल्याप्चे लगाएको आपत्ति जनाए । ओलीले भने, ‘नेपाल र नेपाली जनताले यस्ता कुरालाई बोक्न सक्दैनन्, २५ बुँदेलाई हामी पूर्ण रुपमा अस्वीकार गर्छौ ।’
यस्तै, एमाले महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री दाहाल नतमस्तक हुँदै भारतले जे भन्यो त्यही मान्ने बचन दिएको फर्किएको आरोप लगाए । एमालेले केही दिन अघि मात्रै प्रदेश कमिटीलाई पूर्णता दिएको थियो । अहिले एमाले संविधान कार्यान्वयनका लागि भन्दै अभियानमा लागेको छ ।