बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल नियुक्त
रविन्द्र गौतम
प्रकाशित २०७९ पुष २५ सोमबार
1.6k
Shares
हेटौंडा। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका बागमती संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मकट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
११० सांसद मध्य ७० सांसदको समर्थनसहित जम्मकट्टेलले मुख्यमन्त्रीमा दाबी पेश गरेलगत्तै प्रदेश प्रमुख शर्माले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री जम्मकट्टेललाई एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन रहेको छ ।
जम्मकट्टेल यसअघि डोरमणि पौडेलको नेतृत्वमा गठित प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन र आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् । उनी २०७९ मङ्सिर ४ मा भएको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ (२)बाट निर्वाचित भएका थिए । जम्कट्टेल हाल माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं धादिङ जिल्ला इन्चार्ज हुन् ।
मुख्यमन्त्री बनेपछि जम्मकट्टेलले मन्त्रालय घटाएर प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिने प्रतिक्रिया दिएका छन् उनले हाल भएको १४ वटा मन्त्रालय घटाएर बढीमा ११ वटा कायम गरिने बताए ।