काठमाडौं । स्वास्थ्य क्षेत्रमा रहेको चरम वेथिति अन्त्यका लागि संघर्षरत वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीले सोमबार (असोज ३) देखि थाल्ने भनेको अनसन १० दिनका लागि स्थगित गरेका छन् ।
केसीले सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी सरकाले माग पूरा गर्न भन्दै लिखित प्रतिवद्धता जनाएकाले १० दिन सम्म कार्यान्वयन तह हेर्ने भन्दै तत्काललाई अनशन स्थगित गरेको जानकारी गराए ।
आठौं अनशनका क्रममा सरकारसँग भएको सहमति कार्यान्वयन गर्ने सरकारबाट लिखित प्रतिवद्धता आएको छ, केसीले भने, ‘हालका लागि अनशन स्थगित गरिन्छ ।’ यद्यपि, संघर्ष जारी छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् र त्यसपछि प्रधानमन्त्रीसहित दुई विभागिय मन्त्रीको छलफलले खिलित खाका तय गरेको थियो । सोही अनुरुप प्रधानमन्त्री पुष्पकमल दाहालले डा. केसीलाई खिलित रुपमै जानकारी गराउन भनेको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।
सरकारले संसदमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्ताव छलफल गर्न नमान्नुको कारण माग्दै केसीले गएको भदौ २५ गते नवौं चरणको अनसन सुरु गर्ने चेतावनी दिएका थिए । त्यसपछि प्रधानमन्त्री र स्वास्थ्यमन्त्री निकै सक्रिय भए ।
अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउन संसदमा छलफल हुनुपर्ने प्रस्ताव स्वास्थ्यमन्त्री रहेका गगन थापाले नै दर्ता गराएका थिए । सो प्रक्रिया शुरु गर्न व्यवस्थापिका संसदमा १० असोजभित्रै छलफल शुरु हुनुपर्ने पत्रकार सम्मेलनका क्रममा डा. केसीले बताए ।
डा. केसीले भने, ‘अहिले सरकारले माग पूरा गर्ने प्रतिवद्धता जनाएकोले अनशन एक साताका लागि स्थगित गरेको छु, माग पूरा भएन भने १० असोजदेखि फेरि आमरण अनसन शुरु गर्छु ।’