- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । झापाको प्रसिद्ध धार्मिक स्थल कनकाईमाई नदी किनारमा लागेको माई मेलामा भक्तजनहरूको घुइँचो लागेको छ । आज माघ १ गते अर्थात् मकर सङ्क्रान्तिको अवसर पारेर उक्त मेला लागेको हो ।
कोरोना भाइरस सङ्क्रमणका कारण विगत दुई वर्ष रोकिएको माइमेला यसपल्ट भने आयोजक समितिले भव्य रुपमा आयोजना गरेको छ । साथै मेलामा यस वर्ष उल्लेख्य मात्रामा भक्तजनको उपस्थित रहेको पाइएको छ ।
हरेक वर्ष आजको दिन स्वतःस्फूर्त रुपमा कनकाई माई नदी किनारमा भव्य मेला लाग्दै आइरहेको छ । धार्मिक आस्था र विश्वास राख्ने भक्तजनहरूले मकर सङ्क्रान्तिका दिन सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जप तप, तीर्थ, व्रतलाई उत्तम मान्दै आएका छ्न् ।
आजको महत्त्वपूर्ण दिनमा नदीमा नुहाएर पूजाअर्चना गरे आफूले चिताएका मनकामना पूरा हुने धार्मिक विश्वास रहेको भक्तजनहरू बताउँछन् । बिहानैदेखि कन्काईमाई नदी किनारमा पूजापाठ गर्नेहरूको घुइँचो लागेको छ ।
विगतमा तीन दिन लाग्दै आएको मार्इमेला यस वर्ष पाँच दिनसम्म लाग्ने जनाइएको छ । झापाको कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाको संयुक्त आयोजनामा कनकाईमाई नदीको दुवै किनारमा मेला लगाइएको छ ।
मेलामा रोटेपिङ तथा विभिन्न खेलका साथै विभिन्न जातजातिका झाँकी, कला साहित्यका विविध कार्यक्रम आयोजना गरिएको साथै यस वर्ष करिब दुई लाख तीर्थयात्री मकर स्नान गर्न आउन सक्ने अनुमान गरिएको कनकाई मेला मेला आयोजक समितिले जनाएको छ ।
मेलाको सुरक्षा व्यवस्था कडा बनाउन कनकाई पुल वारिपारि दुई डीएसपीको नेतृत्वमा तीन सय सुरक्षाकर्मी परिचालन गरिनुका साथै राजमार्गमा ट्राफिक व्यवस्थाका लागि ट्राफिक प्रहरी र मेलास्थलमा सादा पोशाकमा पनि प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
माई मेलामा पूर्वका झापा, मोरङ, सुनसरी, धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङलगायत भारतको सिलिगुडी, सिक्किम, दार्जिलिङ, मणिपुर, असाम लगायतका स्थानहरुबाट भक्तजनहरु आउने गरेका छ्न् ।