सोलु । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पुष्पकमल दाहाल नेतृत्वको सरकारले संविधान संशोधन प्रक्रिया शुरु नगर्नुले सरकार र मधेसी मोर्चाबीच भएको तीन बुँदे सम्झौता कार्यान्वयनमा शंका पैदा भएको बताएका छन् ।
सोलुखुम्बुमा रिपोर्टस क्लब नेपालको साक्षात्कारमा संघीय गठबन्धनका संयोजक समेत रहेका अध्यक्ष यादवले संशोधनको काम ढिला भएपनि आशा बाँकी नै रहेको बताएका हुन् ।
शेर्पा प्रदेशको प्रशिक्षणका लागि जिल्ला आएका यादवले संविधानलाई प्वालैप्वाल भएको च्यादरको संज्ञा दिँदै दलहरु प्वाल टाल्न सहमत नभए आन्दोलन चर्काउने चेतावनी समेत दिए ।
सरकारले संघीय गठबन्धनका माँग संविधान संशोधनको माध्यमवाट पुरा गर्ने प्रतिवद्धता जनाएकाले सरकार बाहिरै बसेर पनि समर्थन जनाएको अध्यक्ष यादवको भनाई छ । उनले संशोधनका लागि एमाले सहमत नभएको बेला अतिवादी सोच भएका नेताहरुको कारण देश द्धन्द्धमा जान सक्ने सम्भावना आैंल्याए ।
संविधान संशोधनको मुख्य एजेण्डा संघीयता भित्र पहिचान, प्रादेशिक स्वायत्त र सुशासन, राज्य पुनःसंरचना, स्रोत साधन तथा शक्तिको बाँडफाँड नै रहने यादवको भनाई छ ।