arrow

कम्बोडियाबाट झापा ल्याइयो निराकारको शव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ७ शनिबार
cambodia-fire-casino-nepali.jpg

झापा। कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका बिर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव आज झापास्थित निवासमा ल्याइएको छ । कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटेल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२औँ तलाको झ्यालबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो ।

शुक्रवार कम्बोडियाबाट काठमाडौँ आइपुगेको उनको शव आज दिउँसो १२:३० बजेतिर विर्तामोडस्थित निवासमा ल्याइएको हो । युवा व्यवसायी पाण्डे भिजिट भिसामा थाइल्यान्ड र कम्बोडिया गएका अवस्थामा उक्त घटना भएको थियो । उनको शव निवासमा आइपुग्ने खबर थाहा पाएर आज बिहानैदेखि पाण्डे निवासमा हजारौँ शुभचिन्तकको भीड लागेको थियो ।

“एउटा होनहार युवाले अकल्पनीय दुर्घटनामा ज्यान गुमाउँदा सबैको मन रोएको छ”, स्थानीय इजलास दैनिकका सम्पादक प्रदीप परियार भन्छन्, “आज सिङ्गो बिर्तामोड स्तब्ध भएको छ ।” मृतक पाण्डे बिर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेका छोरा हुन् । पाण्डेको शव ल्याउन नेपाल सरकारले सहयोग गरेको छ । 

घटना लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाण्डेको मृत्युमा गहिरो शोक व्यक्त गर्दै शव ल्याउन सरकारले सहयोग गर्ने बताएका थिए । आजै कनकाइ माईमा स्व. पाण्डेको अन्त्येष्टि गरिने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ