arrow

मित्र, प्रेम ! ज्यूँदै जलेर तिमीले गल्ती गर्‍यौं कि क्रान्ति ?

logo
युवराज गौतम,
प्रकाशित २०७९ माघ ११ बुधबार
prem-yubraj1.jpg

काठमाडौं । काठमाडौं वानेश्वरको सङ्घीय संसद भवन अगाडि मित्र प्रेम आचार्यले आफ्नो शरीरमा आगो लगाएर आत्मदाह गरेको भिडियो हेरेपछि र समाचार पढेपछि मन भाउन्न भएर आयो । दिमाग रन्थनियो । मन अशान्त भयो । मथिङ्गल हल्लियो । समाचारमा नाम र ठेगाना पढेपछि झनै छटपटी भयो । हत्तपत्त उनको फेसबुक खोलेर हेरेँ । ६ हजार बढी शब्दको स्टाटस(मृत्यु पत्र) पढेपछि दिग्दारी महसुस भयो । एक दशकअघि उनीसँगको सहकार्य सम्झिएँ । उनीसँग बनाएका योजनाहरूलाई घोत्लिएँ । पर्यटन क्षेत्रमा केही गर्ने उनको र मेरो रुचि मिल्थ्यो । देशमा लुकेका पर्यटकीय स्थल र सम्भावनाहरूलाई उजागर गर्नुपर्छ, प्रचार प्रचार गर्नुपर्छ र आफ्नो करियर पर्यटन क्षेत्रमै बनाउनुपर्छ भन्ने उनको र मेरो ध्येय ठ्याक्कै मिल्थ्यो । केही गर्ने हुटहुटी थियो उनी मसँग । तर धेरै क्षेत्रमा हात हाल्ने उनको अस्थिर स्वभावले म गम खान्थेँ । खैर, उनी चलायमान थिए । ऊर्जाशील थिए ।

दुवै जनाको गृह जिल्ला इलाम भएकाले चिया र पर्यटनको अवधारणा बनाएर अघि बढ्नुपर्छ भनेर उनीसँग धेरै योजनाहरू बनाएका थियौँ । उनको अगुवाइमा ठमेलमा ट्राभल एजेन्सी खोलेर पर्यटनको प्रचारमा बिछट्टै दौडेका थियौँ । तर समय एकनास रहेन । योजनाहरू तुहिए । उनले मृत्यु पत्रमा लेखे जस्तैगरी योजनाहरू भत्किए । हुन त कमजोरी उनको पनि थियो होला र मेरो पनि । परिस्थिति झेल्दै जाँदा गलत ठाउँमा हात हालियो कि भन्ने डरले दिनहरू बितिरहे । उनले मन स्थिर बनाउन सकेनन् । म पनि समाचार कर्म दौडिरहेँ । समयको तालमेल मिलेन । कालान्तरमा उनले ट्राभल एजेन्सीको व्यवसाय छाडेर अन्यत्रै मोडिए । तर पनि उनको र मेरो सम्पर्क भइरहन्थ्यो । विदेश जानै नपर्ने उनी विदेश उडे । विदेशबाट फर्किएपछि पछिल्लो समय उनले सूर्योदय एग्रो उद्योग खोलेर घिउ, छुर्पी, गुन्द्रुक, अचार आदीको व्यवसाय शुरु गरेछन् । समाचारमार्फत प्रचार गरिदिन आग्रह गरेका थिए । उद्योग प्रवर्द्धनका विषयमा भेट्ने सल्लाह भएको थियो तर भेट हुन सकेन ।

इलाम सूर्योदय नगरपालिकाको मेरो गाउँ कन्याममा चलिरहेको होटल उनले लिजमा लिएछन् । गएर भेटेँ । बधाई दिएको थिएँ । ६ महिना नबित्दै होटल छाडेको खबर पाएँ । त्यसपछि इलाममा विवेकशील साझा पार्टीको संयोजक भएपछि पहिलो समाचार कभरेज गरेर हौसला दिएको थिएँ । तर अहिले वानेश्वरमा ज्यूँदै जलेको भिडियो हेरेपछि मात्र होइन उनले लेखेका शब्दहरू पढेपछि राज्यप्रति औँला उठाउन बाध्य गरायो ।

हुन त, उनले आफ्नो मृत्यु पत्रमा मेरो नाम पनि मेन्सन गरेका रहेछन् । चिया–पर्यटनको सम्भावनाको आवाज उठाउने व्यक्तिका रूपमा चित्रित गरेका छन् । आफूले व्यावसायिक दौरानमा भोगेका पीडा, हन्डर, ठक्कर जोडतोडले उठाएका छन् । कतिपयले ऋणमा चुर्लुम्म डुबेपछि बिरक्तिएको र मर्न उद्धत रहेको हुतीहारा भनेर आलोचना पनि गरिरहेका छन् । तर मुलुकको वास्तविकता, युवाहरूले भोगिरहेको यथार्थ प्रेमले बोलेका छन् । आफैमाथि आगो लगाएर अत्यन्त पीडादायी आत्महत्याको बाटो कसैले पनि सहजै लिँदैन । प्रेमले व्यावसायिक जीवनमा भोगेका हण्डर, ठक्कर, धोका र लुट कति गहिरो रहेछ भनेर उनले आफैँले चित्र उतारेका छन् ।

मुटु ढुक्क फुलाउने उनको लेखाइले देश कता जाँदै छ ? राजनीतिक दलका नेताहरू के गर्दै छन् ? राज्यको नीति, नियम, ऐन र व्यवहारिकताप्रति दिमाग फनफनी घुमिरहेको छ । उनको जलनलाई मानसिक समस्याको उपज हो भनेर व्याख्या गर्न अनौठो होइन । चरम निराशा र अवसाद हो भनेर भन्नु नौलो कुरा होइन । तर वास्तविकताको गहिराइ कसले बुझ्ने ? त्यो गहिराइ कसले नाप्ने ? घट्नाले अन्तर्राष्ट्रिय जगतमा कस्तो सन्देश दिइरहेको छ ? देशको अवस्था कस्तो छ भनेर घट्नाले स्पष्ट चित्रण गर्दैन र ? ।

घट्नापछि उनको ऊर्जाशील तन र उत्साही मन झलझली सम्झिरहेको छु । पोखरादेखि इलाम, दार्जिलिङ सँगै यात्रा गरेको, ठमेलका चिया पसलहरूमा पाउरोटी र चिया पिएर भविष्यको योजना बुनेको सम्झना खुबै आइरहेको छ । भेट नभएको महिनौँपछि उनको यो दर्दनाक र बीभत्स दृश्य देखेर प्रेम तिमीले गल्ती गर्‍यौ भन्न सकिरहेको छैन । क्रान्ति गर्‍यौँ कि भनौँ भने आफैँलाई ज्यूँदै जलाएर अल्पायुमै परलोक जाने प्रयासलाई कसरी क्रान्ति भनौँ ? दोधारमा छु । काठमाडौँमै ठक्कर खाएर फर्किएको व्यक्ति फेरि डेढ महिनादेखि काठमाडौँमा भौँतारिरहेका प्रेमले नानुका म्याडम, दुई कलकलाउँदा छोरी र परिवारबाट किन टाढा हुन खोज्यो होला ? यसको उत्तर प्रेमसँगै छ । जवाफ चाहिँ राज्यसँग माग्न मन छ ।  

दर्जनौँ ठक्कर खाएपछि बिरक्तिएको दिमाग लिएर दौडिरहेको प्रेमको जस्तो आँट अन्य युवाले गर्न नसकेका मात्र हुन तर पीडा उस्तै छन् । सहेका छन् । भोगेका छन् र बिरक्तिएर भौँतारिरहेका छन् । गरिखान्छु भनेर लगानी गरेको, दत्तचित्त भएर सङ्घर्ष गरिरहेको युवालाई मृत्युको मुखमा धकेल्ने सरकारी रवैयाले देशको मुहारमा कालो पोतिरहेको छ । हामीले लडेर व्यवस्था बदल्यौँ तर अवस्था बदल्न सकेनौँ । मित्र प्रेम आचार्य जल्नु जनआक्रोश हो । वितृष्णाको विष्फोट हो । विकृतिको बदला हो । त्यसैले प्रेमको शरीरमा दनदनी बलेको आगोलाई क्रान्ति भन्ने कि गल्ती ?, कायर भन्ने कि बहादुरी ? यही प्रश्नले नेपालको अवस्थालाई घेरिरहेको छ । मन भारी बनाएर भन्दै छु–अलबिदा प्रेम । आत्मले शान्ति पाओस् ।

 



नयाँ