arrow

आन्दोलन-हिंसा नगर्न भन्दै प्रेमले गरेको आत्मदाह र अरब स्प्रिङ

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७९ माघ ११ बुधबार
prem-acharya-self-immolation-nepal-man-fire-himself.jpg

काठमाडौं । सङ्घीय संसद् चलिरहेको समयमा संसद् भवन अघि आत्मदाह गर्ने प्रेम आचार्यले लेखेको फेसबुक स्ट्याटसले सिङ्गो देश हल्लिएको छ। उनले लेखेका आफ्ना भोगाइहरू धेरै साना तथा मझौला व्यवसायीहरूको साझा समस्या हुन्। उनले आफ्नो जीवनको यात्रामा भोगेको अफठ्याराहरूका बाबजुद उनले आन्दोलन र हिंसा नगर्न आव्हान गरेका छन्। 

देशले अहिलेसम्म निकै आन्दोलन र हिंसा सहेको भन्दै उनले परिवर्तनका लागि आफ्नो मागमा शान्तिपूर्ण ऐक्यबद्धता जनाई दिन माग गरेका छन्। उनले लेखेका छन्-,'यदि कोही मेरो मागमा सहमत हुनुहुन्छ भने शान्तिपुर्ण ऐक्यबद्धता जनाइदिनु होला। आन्दोलन र हिम्सा मेरो देशले धेरै सह्यो, त्यता नलाग्नुहोला। सरकारलाइ झक्झकाइ रहनु होला। सम्झाइदिरहनुहोला। सुन्दर देशको कल्पना गर्दै मैले लिएको यो अभियान हो, यसलाइ मर्न नदिनुहोला। मलाइ राजनीतिमा लगाउने महानुभाबहरुलाइ आग्रह, मेरो अभियान लाई अगाडि बडाइदिनुहोला, सरकारलाइ झक्झकाइ रहनुहोला। यो देश दुखेको ठाउँमा मल्हम लगाइदिरहनुहोला।'

यसैगरि करिब एक दशक अघि ट्युनिसयाका एक सडक व्यापारीले सरकारले व्यापार गर्न दिएन भनेर आत्मदाह गर्दा पुरै अरब क्षेत्रमा आन्दोलन उठेको थियो। जसलाई अरब स्प्रिङको नामले चिनिन्छ। यसैगरि नेपालमा प्रेम आचार्यले गरेको आत्मदाहले उक्त 'अरब स्प्रिङ'को झल्को दिएको छ। 

करिब एक दशक अघि सन् २०१० को प्रारम्भमा अरब संसारका धेरैजसो भागमा ठुला सरकार विरोधी प्रदर्शन, विद्रोह र सशस्त्र विद्रोहका चरणबद्ध शृङ्खला चर्किए। गरिबी, बेरोजगारी, बढ्दो महँगी, राजनीतिक भ्रष्टाचार, अधिनायकवादी शासन, भ्रष्टाचार, आर्थिक उथलपुथल र ऊर्जा सङ्कटलगायतका कारणले सुरु भएको यो जनविद्रोह लगभग पूरै अरब संसारमा फैलियो।

ट्युनिसिया, मोरक्को, इराक, अल्जेरिया, लेबनान, जोर्डन, कुवेत, ओमान र सुडानमा बिशाल रुप लिएको यो प्रदर्शन जिबूती, मौरिटानिया, प्यालेस्टाइन, साउदी अरेबिया र मोरक्कोले कब्जा गरेको पश्चिमी सहारामा समेत फैलियो।

ट्युनिसियाली क्रान्ति हुँदै जन्मेको यो जनविद्रोहले अरब संसार हल्लाएपछि यसले नाम पायो 'अरब स्प्रिङ'। झन्डै २ वर्ष चलेको यो अरब स्प्रिङ प्रदर्शनका क्रममा करिब ६१ हजारको ज्यान गयो भने, चार देशको सत्ता पलट भयो।

परिवर्तनको खोजका लागि अरब संसार मात्रै नभई विश्व हल्लाउने यो विद्रोह तब जन्मिएको थियो, जब एक २६ वर्षीय युवाले सरकारी भवनअघि आफ्नो शरीरमा आगो लगाएर आत्मदाह गरे। 

त्यसरी नै हिजो सङ्घीय संसद् भवन अगाडि आफ्नो शरीरमा आगो लगाएर आत्मदाह गरे नेपालका प्रेम आचार्यले। 

एक दशक अघि नै ट्युनिसियामा सुरु भएको यो हृदय विदारक घटना वा स्थिति यतिका वर्षपछि नेपाल आईपुग्याे अथवा नेपाल बल्ल दश वर्ष अघिको ट्युनिसियाको दाँजोमा रहेछ।

आत्मदाह गरेका ट्युनिसियाका २६ वर्षीय मोहम्मद बोआजीजीले २०१० को १६ डिसेम्बरमा अर्को दिन बेच्न २०० अमेरिकी डलर बराबरको सामानको ऋण सम्झौता गरेका थिए। पेट पाल्न र परिवार चलाउन उनी तरकारी, फलफूललगायतका बेच्थे।

अर्को दिन १७ डिसेम्बर २०१० मा बिहान ८ बजेदेखि नै उनी काममा लागे तर, साढे १० हुने बित्तिकै आइपुगे नगरपालिका कर्मचारी र उनलाई सताउन थाले र सामान खाेसे। कसैले उनले सडकमा सामान बेच्न अनुमति नलिएको त कसैले ट्युनिसियामा सडकमा सामान बेच्न नमिल्ने भनेका छन्।

तर, २४ गोर्भनोरेट (राज्य वा प्रदेश जस्तै निकाय) रहेको ट्युनिसियाको त्यो सिदी बोजिद गोर्भनोरेटको कार्यालयले भने सडकमा बेच्न अनुमति नचाहिने बताएको थियो । 

मोहम्मद बोआजीजीको परिवारले नगरपालिकाकी एक ४५ वर्षीया अधिकारी फैदा हाम्दीले उनलाई 'थप्पड हानी, उनीमाथि थुकेर, उनको तराजु भाँचेर, सामान बेचिरहेको ठेला फाल्दै उनका मृत बुवालाई गाली गर्दै घोर अपमान गरेको' बताएको थियो।

यो त्यो घटना मात्र त्यो दिनको थियो, तर आठ जनाको परिवार पाल्ने जिम्मेवारी रहेका उनी र उनी जस्तै अन्यमाथि यस्तो अत्याचार विगतका वर्षहरूदेखि हुँदै आएको थियो, नगर प्रहरीले उनलाई निशाना बनाउँदै आएका थिए।

त्यसपछि साढे ११ बजे उनी गर्भनोरेट अथवा राज्य कार्यालयमा गए र आफ्नो सामान फिर्ता दिन आग्रह गरे, तर कसैले उनको कुरा सुनेनन् नत, आफूमाथिको दुर्व्यवहारबारे नै कसैले उनलाई सुने।

उनले 'सामान फिर्ता नदिने भए म आफूलाई यहीँ आगो लगाउँछु,'सम्म भन्दा पनि गर्भनरले सुनेनन्। त्यसपछि नजिकैको ग्यास स्टेशनबाट उनले पेट्रोल क्यान किनेर शरीरमा छर्किए र लगाए आगो। नगरप्रहरीले उनीमाथि आक्रमण गरेको एक घण्टा नबित्दै यो सब भयो। ४ जनवरी २०११ मा उपचारका क्रममा उनले प्राण त्यागे।

अनि सुरु भयो ट्युनिसियाली क्रान्ति र अरब स्प्रिङ

२६ वर्षीय मोहम्मद बोआजीजीले आफ्नो शरीरमा आगो लगाएकै दिन अर्थात् १७ डिसेम्बर सन् २०१० कै दिनबाट सुरु भएको थियो ट्युनिसियाली क्रान्ति।

सन् १९८७ देखि अधिनायकवादी शासन गरिरहेका त्यतिबेलाका राष्ट्रपति जिने अल अबिदिन बेन अलीको सरकारले चरम गरिबी, बेरोजगारी, भ्रष्टाचार र देशमा आर्थिक सङ्कट मच्चाएको थियो। उनको सरकार ढाल्न चार हप्ता चलेको थियो, ट्युनिसियाली क्रान्ति।

नभन्दै २३ वर्ष लामो अधिनायकवादी शासन ढाल्न सफल भए ट्युनिसियाली जनता र अन्ततः २०११ को जनवरी १४ मा साउदी अरेबिया भागे शासक जिने अल अबिदिन बेन अली।

अरब स्प्रिङका रूपमा परिवर्तन खोज्दै चर्कियो विद्रोह

मोहम्मद बोआजीजीको आत्मदाहपछि अरब स्प्रिङ, अरब स्प्रिङ र विन्टर, अरब जागरण र अरब विद्रोहका रूपमा मध्य पूर्व र उत्तरी अफ्रिका भर सरकारी व्यवस्था बदल्न, भ्रष्टाचार, र कुशासनविरुद्ध चर्किएको थियो आन्दोलन।

अरब स्प्रिङको आन्दोलनले, लिबियामा गृह युद्ध सुरु भयो र करिब ३१ वर्षदेखि शासन गरिरहेका मुअम्मर गद्दाफीको सत्ता पल्टियो।

इजिप्टमा करिब २१ वर्षदेखि शासन गरिरहेका होस्नी मुबारकको सत्ता पल्टियो। करिब ११ वर्षदेखि शासन गरिरहेका यमनका अली अब्दुल्लाह सालेहको सत्ता पनि पल्टियो।

सन् २०१२ को डिसेम्बरसम्म चलेको अरब स्प्रिङ क्रान्तिका बीच ट्युनिसियामै १०० भन्दा बढी र अन्य अरब देशमा धेरैले आत्मदाह गरेका थिए।

यसरी अरब संसारमा ठुलो रूपमा लिएको प्रदर्शनले थुप्रै देशहरूमा त्यतिबेलाका लागि महत्त्वपूर्ण परिवर्तन गरायो। तथापि, त्यसपछिका दिनहरूमा एक दशक बितिसक्दा अरब स्प्रिङले के दियो भन्ने कुरा त्यहाँका जनतालाई नै बढी थाहा होला।

नेपालको हकमा

प्रेम आचार्यको आत्मदाहको घटनाले नेपाललाई दश वर्षको अघिको ट्युनिसिया समक्ष राखेको छ र बढी जसो नागरिकहरूले फरक उद्देश्यको तर, अरब स्प्रिङकै जस्तो आन्दोलनको पक्षमा बहश गइरहेका छन्।

घर पाल्न ठेला हाल्नेहरू नेपालमा पनि उत्तिकै छन्, उद्यम क्षेत्रमा आत्मदाह भन्दा अघिल्लो क्षणमा रहेका उत्तिकै प्रेम आचार्यहरू छन् र उत्तिकै लामो समयदेखि सत्ता पालैपालो गर्दै आएका 'मिलिभगत अधिनायकवादीहरु' पनि छन्।

देशको सबैभन्दा ठुलो अपेक्षा र आशावादी क्षेत्र पर्यटन व्यवसायबाट उद्यममा लागेका प्रेम आचार्य अर्को आशावादी भन्नै नपर्ने कृषि प्रदान देशको कृषि व्यवसायसम्म आईपुग्दासम्म घाटा नै घाटामा रहेका छन्। उनी प्रत्यक्ष या अप्रत्यक्ष रूपमा व्यवस्था र नीतिको सिकार भएका छन्।

एक पटक देशको व्यवस्थाबाट ठगिएर सङ्कटमा परेका प्रेम आचार्य विदेशिएर जीवनको लयमा आएका छन्। फेरि देशकै लागि र देशमै केही गर्ने योजनाका साथ अघि बढ्दा उनी निरन्तर र निर्मम तरिकाले ठगिएका छन्।

ठुला धनाढ्य दलालहरूले नीति निर्माता र सरकारी नेतृत्वहरूलाई आफ्नो 'अण्डर'मा राखेर बनाएका नीतिहरूले मारमा र शोषणमा कसरी साना गरिखानेहरू पर्छन् भन्ने छर्लङ्ग पारेका छन्, उनले।

राजनीति, नीति र नीतिगत भ्रष्टाचार, न्याय, कुख्यात कर्मचारीतन्त्र अथवा दलाल तथा नोकरशाही र मिलीजुली पुँजीवादका टाउकेहरूले पोसिराखेका केही धनाढ्यहरूले कसरी आम नागरिकलाई ठग्छन् र कसरी स-साना उद्यमीहरूको पत्तासाप गर्छन् भन्ने अर्को उदाहरण पस्केका छन्, आचार्यले।

उनले भनेका छन्,'मलाइ बचाउने प्रयास कसैले नगर्नु होला। बाचिगए भने फेरि मर्ने नै छु। प्रहरिले पक्राउ गर्यो भने जेलमा नै आत्महत्या गर्नेछु। म क्रान्ती गर्दैछु। म जस्तै केही गर्छु भन्नेलाइ यो देशको सरकारले सहयोग गरोस् । वातावरण बनाओस।'

उनले भाटभटेनी, नेपाल ग्रामोद्योग, गोल्यान एग्रो, डाबर नेपाल, बिग मार्टसम्मले आफूलाई कसरी सङ्कटमा पारे भनी लेख्दै ठूलाहरुको मारमा साना उद्योगी एवं व्यवसायीहरु कसरी निमोठिन्छन् भन्दै देशका ठुला र राम्रा भनाउँदा दलालहरुको विसंगतीको पर्दाफास गरेका छन्।

वर्तमान विश्वका मोटिभेसनल स्पिकरदेखि चाणक्यसम्मका विद्वानहरुलाई पढ्न भ्याएका प्रेम आचार्यले अन्त्यतिर भनेका छन्,'देश बनाउनलाइ हावा गफले मात्र हुदैन, हेर्दा सानो/झिनोमसिनो देखिने सुक्ष्म कुराहरु तर जनताको जनजिबिकामा ठुलो असर गर्ने मुद्दाहरुमा ध्यान दे सरकर, हार्दिक अपिल!!!!'

प्रेम आचार्यको आत्मदाह

देशमा केही गर्छु भनेर लागेका युवाहरूको कुण्ठा र निराशा हो, बिदेसिने युवाहरूको कुण्ठा र निराशा हो, हरेक क्षेत्रमा सरकारी नीतिकै कारण ठगिइरहेका र लुटिइरहेकाहरूको कुण्ठा र निराशा हो, माथि भनिए झैँ यो देशमा आत्मदाह गर्नु भन्दा ठिक अघिको अवस्थामा रहेका हजारौँ, लाखौँ युवाहरू छन्, यी युवाहरूलाई सामान्य स्थितिमा ल्याउन नीति निर्माता, राजनीतिकर्मी, नेतृत्व तह, कर्मचारीतन्त्र, उद्यम, न्यायलगायतका सबैक्षेत्रका व्यक्तिहरूले आमूल सुधार गर्नै पर्छ, यी सबै क्षेत्रहरूमा आमूल परिवर्तन आउनै पर्छ।

प्रेम आचार्यले देशमा व्याप्त कुरीतिबारे भनेका छन्,'जिन्दगिको अन्तिम समयसम्म लुटिए, गत हप्ता दाङ बाट काठमाडौं को night bus मा टिकट काटेर हिँडे, केही वर आएपछि थाहा भयो मैले लिएको seat अरू दुइजनालाइ पनि बेचेको रहेछ, महिलाहरू उभिने भए मनले मानेन छोडिदिए seat. जताततै लुट्छन् हौ सरकार, कसले सुन्ने मलाइ? सरकार तिमि सुनिदेऊ!!!!'

हो यस्तै साना देखिने तर चरम सास्ती दिने र भ्रष्टहरूलाई पोस्ने र पोसाउने हरेक क्षेत्रका कुकृत्यहरू जबसम्म सुधार र अन्त्य हुँदैनन्, तबसम्म यो देशमा बस्ने जनताहरूलाई लाज छ र नेतृत्व तह एवं कर्मचारीतन्त्रमा बिगार गर्नेहरूलाई धिक्कार छ। 

प्रेम आचार्यको घटनाले शान्तिपूर्ण क्रान्ति ल्याओस् र देशलाई सकारात्मक समृद्धिको दिशामा कायापलट गराओस्, उनको आत्माको शान्तिको कामना।

 



नयाँ