काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायको विश्वव्यापी सिद्धान्तअनुसार समाजमा मेलमिलाप सिर्जना गर्ने गरी शान्ति र पुनर्निर्माणको काम अघि बढ्नेमा जोड दिँदै गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई उन्मुक्ति नदिने बताएका छन् ।
अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा बुधबार शान्ति तथा पुनर्निर्माण मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘शान्ति प्रक्रियाको सफल समापनसँगै विकास र समृद्धिले गति पैदा गर्ने छ ।’
यद्यपि, दाहालले द्वन्द्वकालिन मुद्दाहरुलाई महान्याधीवक्ताको कार्यालयमार्फत छुट्टै विशेष अदालतमा ल्याउने विषयमा भने केही बोलेनन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई भेटेको भन्दै चर्को आलोचना भइरहेको छ ।
यस्तै, शान्ति क्षेत्र घोष्ति गरिएका विद्यालयमा एक दिन अघि (मंगलबार)मात्रै बम भेटिनु र विष्फोट हुनुले शान्ति प्रक्रियाका बाँकी कामप्रति सरकार नै गम्भीर नदेखिएको टिप्पणीहरु समेत भइरहेका छन् ।
दाहालले भने, ‘नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गले सुरुवात गरियो । सेना समायोजन, हतियार व्यवस्थापन जस्ता महत्वपूर्ण काम सहज र मौलिक ढङ्गले निष्कर्षमा पुर्यायौं । अब शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुयाउन ढिलाई गर्नु हुँदैन ।’
शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएलगत्तै मुलुकमा शान्ति व्यवस्थापनका लागि पीडित पक्षलाई आर्थिक सहयोग तथा द्वन्द्व प्रभावितलाई पुनःस्थापनाको कार्य सञ्चालन गर्दै आएको बताइन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र बेपत्ता पारिएको व्यक्तिको खोजबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले शान्ति प्रक्रियालाई सार्थक बनाउन द्वन्द्वपीडितलाई सामाजिक न्याय उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
यस वर्षको दिवसको नारा ‘दिगो शान्ति राष्ट्र विकासको आधार’ भन्ने रहयो । दिवसको अवसर पारी शान्ति मन्त्रालयले पाँचथर, सिराह, सिन्धुपाल्चोक, गोर्खा, कैलाली, बाँके र सुर्खेतलाई स्थानीय शान्ति समिति सम्मान गरेको छ ।
स्थानीय निकायको निर्वाचनको तयारी अन्तिम चरणमा
कार्यक्रममा प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचनको अन्तिम तयारी भइरहेको बताए ।
प्रधानमन्त्री दाहालले दलहरुको सहमतिबाट निर्वाचनको मिति तय गर्ने लगाउने प्रतिवद्धता व्यक्त गर्दै मुलुकको आन्तरिक राष्ट्रिय एकता बलियो बनाउन हिमाल, पहाड र तराईलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिए ।