दैलेख । प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले निर्वाचन आयोग स्थानीय तहको निर्वाचन गर्न तयार रहेको बताएका छन् ।
जिल्ला निर्वाचन कार्यालय दैलेखको नयाँ भवन उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले सरकार फेरवदल भइरहने, संविधान कार्यान्वयमा केही ढिलाई, र स्थानीय तह पुनःसंरचनाको प्रतिवेदन सरकार समक्ष पेश भइनसकेका कारण केही अन्योल देखिएको बताए ।
यादवले २०७२ साल पौष १७ गते विधेयक संशोधनका लागि नेपाल सरकारलाई पठाइसकिएको समेत जानकारी दिए । राजनीतिक अस्थिरताकाबीच निर्वाचन आयोगले स्थायित्व कायम गर्ने भूमिका निर्वाह गरेको भन्दै यादवले स्थानीय तहको निर्वाचनका लागि गएको साउन महिनामा नै कानुन बनाएर नेपाल सरकारलाई पठाइसकिएको बताए ।
६ वटा कानुनका मस्यौदा तयार भएको र नेपाल सरकारलाई पठाएको बताउँदै प्रमुख आयुक्त यादवले राजनीतिक दलहरुको सहमति पछि निर्वाचन आयोग निर्वाचन गराउन सदैब तयार रहेको र सरकारले निर्वाचनको लागि मिति तोकेको दिनबाट निर्वाचनको लागि अगाडि बढ्ने बताए ।
संविधान जारी भइसकेको र निर्वाचन कार्यालयलाई संविधान कार्यान्वयन गराउन केही महत्वपूर्ण भूमिका दिएको बताउँदै यादवले सो भूमिका आफुले स्वच्छ निर्वाचन गराएर स्थानीय निकायलाई पूर्णता दिनु हो भने । यादवले भने, ‘अबको निर्वाचनमा नेपाली जनतालाई राजनीतिक दलले विश्वास दिलाउनु पर्ने देखिएकाले निर्वाचनसँग रिसाएका अवथा मतदान गरेर के भएको छ भन्ने मतदातालाई मतको महत्व बुझाउन सक्नु पर्दछ ।
जसरी पनि जित्नु पर्छ भनेर आचारसंहिता विपरीत चल्ने राजनीतिक दल वा उम्मेदवारका लागि निर्वाचन आयोगले आफ्नो अधिकार प्रयोग गर्ने र निर्वाचनको समयमा राष्ट्रसेवक कर्मचारीले पनि निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भेटिए कारबाही हुन्छ ।’ यादवले राजनीतिक दलहरुबीच समझ्दारी भए तोकिएको समयमै निर्वाचन सम्पन्न भई धेरै वर्ष देखि रिक्त रहेका स्थानीय निकाय प्रतिनिधि पूर्ण हुने निश्चित छ ।