काठमाडौं। नेपाली काँग्रेसको भातृ संस्थाहरु नेविसंघ र महिला संघको महाधिवेशन पछि अब पालो नेपाल तरुण दलको रहेको छ। सबै कुरा यथावत रहेको भए असोज ३ देखि ५ सम्म पोखरामा तरुण दलको महाधिवेशन भइरहेको हुन्थ्यो। तर विभिन्न विवादका बीच महाधिवेशन समयमै हुन सकेन। निर्देशन समितिको निर्देशन अनुसार तरुण दलको महाधिवेशन कार्तिक २७ देखि २९ सम्म पोखरामा हुने भयो। पोखरा हुने महाधिवेशनका लागि यतिखेर तरुण दलका नेताहरु लागिपरेका छन्। दलका नेताहरुकहाँ पुग्ने, लविङ गर्ने र समिकरण बनाउने सम्मका कामहरु भइरहेका छन्।
तरुण दलको यो महाधिवेशनमा कोइराला परिवारका तेस्रो पुस्ता समेत आकाँक्षी छ। नेपाली काँग्रेसका संस्थापक वीपी कोइरालाका नाती तथा प्रकाश कोइरालाका छोरा सिद्धार्थ कोइराला यो महाधिवेशनबाट तरुण दलको नेतृत्वमा आउने तयारीमा छन्। त्यसोत वीपी कोइरालाको परिवारमा जोकोही राजनीतिमा होमिदा स्वभाविक मानिन्छ। कार्यकर्ताहरुले त्यसरी नै हेर्छन। त्यो आम प्रवृती काँग्रेसीहरुमा देखिन्छ। अहिले वीपीका नाति सिद्धार्थ कोइराला नेपाल तरुण दलमार्फत राजनीतिमा होमिने तयारी गरिरहँदा धेरैले त्यसरी पनि बुझेका छन्। लामो समयदेखि तदर्थवादमा चलेको तरुण दललाई नयाँ नेतृत्वको खाँचो रहेको औल्याइँदा सिद्धार्थ राम्रो विकल्प हुनसक्ने आँकलन कोइराला परिवार वृत्तमा छ।
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल खेमामा उनको चर्चा अहिले ह्वात्तै बढेको छ। पौडेल-कोइराला खेमाबाट तरुण दल पदाधिकारीमा सार्ने तयारी भएका सिद्धार्थ भने यतिखेर विभिन्न नेताकहाँ दौडधुपमा लाग्दा उनको विभिन्न खाले टिप्पणी पनि हुन थालेको छ। नेतृत्वमा जाने आकाँक्षीहरुले पार्टीभित्रका गुटका नेताहरुलाई मिलाउन परेपनि त्यो रणनीतिका रुपमा र समिकरण बनिसक्दा गर्ने कुरा हो। शुरुमा भने कार्यकर्ताहरुसँग पुग्नु नै नेताहरुका लागि उपयुक्त भएपनि महाधिवेशन भन्दा अघीदेखि नै नेताहरुकहाँ दौडधुप कसैलाई पनि नसुहाउने तरुण कार्यकर्ताहरु नै बताउँछन्। अझ काँग्रेसमा वीपी कोइरालाको विरासत लिएर आएकाहरुले त त्यसलाई बढी महत्व दिनुपर्ने हो।
सिद्धार्थ यतिवेला आफ्नो राजनीति शुरु गर्न लागिपरेका छन्। उनलाई कोइराला परिवारका तेस्रो पुस्ताका रुपमा राजनीतिक सफलताको शुभकामना पनि छ। तर उनी जुन समयमा नेताहरुसँग समिकरण मिलाउने पार्टीका अलग अलग गुटहरुमा पुगिरहेका छन् त्यसले उनलाई फाइदा भन्दा वढी नोक्सान नै पुर्याउँछ। नेपाल विद्यार्थी संघको चुनाव भन्दा महिला संघको चुनाव गुटहरुप्रति अझ प्रतिवद्ध झै देखियो। एक गुटमा आएको मत अर्कोतर्फ कमै मात्र आएको छ। काँग्रेस नेताहरुले गुटहरुको निर्माण र त्यसमा देखाएको कट्टरताले यो अवस्था सिर्जना भइरहेको छ। यो अवस्थामा साझा उम्मेद्वार बन्नु जुनसुकै व्यक्तिका लागि गाह्रो छ। बरिष्ठ नेता रामचन्द्र पौडेलले तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाकी छोरी तथा काँग्रेस नेतृ सुजाता कोइरालालाई सर्वसम्मत महिला संघको अध्यक्ष बनाउन गरेको प्रस्ताव सभापति देउवाले स्विकारेका थिएनन्। फलत महिला संघमा गुटहरुबीच चुनाव भयो।
तरुण दलमा पनि सभापति देउवा र बरिष्ठ नेता पौडेलको अलग अलग प्यानल नै चुनाव उठ्ने छन्। अर्का नेता कृष्ण प्रसाद सिटौलाले पनि नेविसंघ र महिला संघमा झै देउवासँग एलाइन्स बनाउन सक्छन। सिटौलाको पौडेल समुहसँग तत्काल गठवन्धन हुनसक्ने सम्भावना कम छ। त्यस अवस्थामा गुटहरुबीच प्रतिष्पर्धा अझ व्यापक हुनसक्छ। गुटहरुबीचको आन्तरिक प्रतिष्पर्धा देखिनेभन्दा पनि निर्मम हुँदै आएको छ। यतिबेला आफ्नो गुट बलियो बनाउने काममा नेताहरु मात्र हैन भातृ संस्थाका गुटका नेताहरु पनि लागेका छन्। यो बेलामा कोइरालाका तेस्रो पुस्ताका नाती नेता बन्न लागिपरेका हुन्। तर नाती कोइराला भने यतिखेर घरघरमा धाइरहेको देखिन्छन्।
कोइराला सभापति देउवासँग समेत आफूलाई पदाधिकारीमा सर्वसम्मत बनाउन अथवा आफूलाई सहयोग पाउने वातावरण बनाउन लागिपरेका छन्। तर यो उनको लागि त्यति सहज छैन। काँग्रेस महाधिवेशनको जस्तो समिकरण बने गुटलाई धोका दिएको आरोप लाग्छ। त्यो पनि धेरै समय लुकाउन पनि सकिदैन। यो अवस्थामा कोइराला नेताहरुको दैलो धाउनुभन्दा आफ्ना समकक्षीहरुसँग पुग्नु नै उपयुक्त हुन्छ। पार्टीभित्रको आन्तरिक राजनीतिमा प्रतिष्पर्धी देखिएका नेतृत्वहरुसँग जाँदा भने उनले अझ ध्यान दिनुपर्ने हो। तर उनले त्यसमा धेरै ध्यान दिएको देखिएन। नत्र उनले सभापति शेर बहादुर देउवाकहाँ जाँदा बाहिर आँगनमा पर्खिएर बस्नुपर्ने थिएन। उनले देउवासँग अलग नै भेटेपनि पारिवारिक पृष्ठभुमिका कारण पनि उनले त्यहाँ आम भेट मात्र पाए। देउवा निकट त्यहाँ रहेका नेता कार्यकर्ताहरुले सिद्धार्थ लामो समय कुरेर बसेको देख्दा अप्ठ्यारो माने। बरु सिद्धार्थ अरु नेता कार्यकर्ताहरुसँग कुराकानीमा थिए।
वीपीपुत्र प्रकाश कोइरालाका छोरा सिद्धार्थ चलचित्र अभिनेता हुन्। उनले भारतमा केही चलचित्रमा अभियन गरेका छन् । उनी बलिउड नायिका मनिषा कोइरालाका भाइ हुन् । अरुले महामन्त्रीमा लड्ने बताइरहँदा सिद्धार्थले भने परेका खण्डमा नेतृत्व सम्हाल्न पनि सक्ने गरी तरुण दलमा जान लागेको बताइरहँदा उनले धेरै कुरा विचार पुर्याउनुपर्ने देखिएको छ। उनी सुनसरीबाट तरुणदलको महाधिवेशन प्रतिनिधि भएर तरुण दलमा आँकाक्षी हुन्।