arrow

लोकमानसिंह कार्कीबारे संसदमा छलफल गर्न मिल्छ : स्वास्थ्यमन्त्री थापा

मेरो कार्यकालमा अनियमितता हुन पनि दिन्न र सहन्न

logo
प्रकाशित २०७३ असोज ६ बिहिबार
gagan-thapa-chitawan.jpeg
चितवन। स्वास्थ्य मन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तका विषयमा संसदमा छलफल गर्नु हुँदैन भन्ने मानसिकता गलत भएको बताएका छन् । 
 
नेपाल प्रेस युनियन चितवनले गरेको पत्रकारसम्मेलनमा मन्त्री थापाले प्रधानमन्त्री, राष्ट्रपतिको आचरणका बारेमा संसमा छलफल गर्न मिल्ने तर तथ्यसहित सार्वजनिक रुपमा कुरा उठिसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र आयुक्तको विषयमा छलफल हुनु हुँदैन भन्ने मानसिकता गलत भएको उल्लेख गरेका हुन् । 
 
मन्त्री थापाले भने, ‘उहाँहरुमाथि महाअभियोग लगाउने वा नलगाउने भन्ने विषय छलफलपछिको विभाजनले देखाउने हो । छलफल गर्नैै हुँदैन भन्ने कुरा हुँदैन । म सांसद मात्रै रहँदा सार्वजनिक महत्वको विषय संसद्मा दर्ता गराएकै हो ।’ आफू अहिले जिम्मेवार मन्त्री पदमा रहेको भन्दै थापाले यस विषयमा अन्य सांसदले विषय उठान गर्नुपर्छ भन्ने आफ्नो धारणा रहेको बताए । 
 
चिकित्सा क्षेत्रको अनियमितताको विषयमा संवैधानिक निकायको संलग्नता रहेको विषय उठेको भन्दै मन्त्री थापाले यसको छानबिन गर्नुपर्ने बताए । छलफल गर्ने कुरामा नै डराउनु गलत भएको भन्दै मन्त्री थापाले यो विषय सर्वोच्च अदालतमा समेत छलफलको विषय बनेको बताए । 
 
मन्त्री थापाले सर्वोच्चले समेत सरकारलाई केही निर्देशन दिइसकेको भन्दै सरकारले त्यसको पालना गर्नुपर्ने उल्लेख गरे । 
पत्रकारको एक प्रश्नमा उहाँले तत्कालिन माओवादी लडाकुको शिविरको अनियमितताको विषय संवैधानिक निकायमा छलफलको विषय बनेकाले यस विषयमा जुन ठाउँमा छलफल हुनुपर्ने हो, त्यहाँ छलफल हुन्छ भने । 
 
फरक प्रसङ्गमा मन्त्री थापाले गोविन्द केसीका अधिकांश मागका सम्बन्धमा सरकार सकारात्मक रहेको बताए । केसीले  दिएकै समयमा माग पूरा हुन नसकेपनि चरणबद्धरुपमा माग पूरा गर्नका लागि प्रक्रिया अगाडि बढिसकेको बताए । 
 
चिकित्सा शिक्षा ऐन संशोधनका लागि दर्ता भइसकेको, ऐन पारित नभएसम्म नयाँ मेडिकल कलेजको सम्बन्धन नदिइने, मनमोहन स्मृति प्रतिष्ठानलाई मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विषय अगाडि बढेको, सातै प्रदेशमा एक–एकवटा मेडिकल कलेज स्थापनाका लागि एक महिनाभित्रमा प्रारम्भिक प्रतिवेदन आउने गरी काम भएकाले संसद्को प्रक्रियाका कारण काममा ढिलाइ भएपनि माग पूरा हुने बताए ।  
 
डा केसीले जुन विषय उठान गर्नुभएको छ त्यही सुधारका लागि आफू मन्त्री भएको भन्दै थापाले उहाँका माग पूरा हुने धारणा राखे । लथालिङ्ग र भताभुङ्ग अवस्थामा स्वास्थ्य क्षेत्र रहेको भन्दै थापाले यसको सुधारका लागि तलदेखि माथिसम्म सुधार गर्ने बताए । स्वास्थ्य क्षेत्रलाई सुधार्न सकिन्छ भन्ने सङ्कल्प बोकेर आफू आएको भन्दै मन्त्री थापाले तीन महिनाभित्रमा नतिजा देखिन सुरु हुने बताए । 
 
पत्रकारको एक प्रश्नमा मन्त्री थापाले भरतपुरको क्यान्सर अस्पतालको व्यवस्थापकीय त्रुटि, अनियमितता, स्रोत र साधनको उपयोग नभएको भन्दै यसको सुधार आफ्नो पहिलो प्राथमिकतामा रहेको सुनाए । मन्त्री थापाले भने, ‘मेरो कार्यकालमा अनियमितता हुन पनि दिन्न र सहन्न । कुनै रङ्ग र झन्डा बोकेको भएपनि कसैले छुट पाउँदैन ।’ रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ