काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता कृष्णप्रसाद सिटौलालार्इ सिध्याउन पार्टी सभापति शेर बहादुर देउवासँग नयाँ प्रस्ताव गरेका छन् । पार्टीमा पछिल्लो समय तेस्रो धारको रुपमा स्थापित भएको सिटौला समूहलार्इ सिध्याउन उनले यस्ताे प्रस्ताव गरेका हुन् । पार्टीको महाधिवेशनपछि लगातार भएको दुईवटा भातृ संगठनबाट कमजोर बन्दै गएपछि पौडेलले देउवासँग सहकार्य गर्न प्रस्ताव गरेका हुन् ।
पत्रकार हरिहर विरहीको पुस्तक ‘आगो निभेको छैन’ पुस्तकको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी समेत रहेका पौडेलले सभापति देउवासँग पार्टीलाई एकीकृत बनाएर लैजान आफ्नो तर्फबाट प्रस्ताव गरेका हुन्। ड्यासमा बसिरहेका नेता कृष्णप्रसाद सिटौलाप्रति इङ्गित गर्दै नेता पौडेलले बीचमा बसेर फाईदा उठाउनेहरू पार्टीमा हाबी भएको आरोप पनि लगाए ।
भाषणसँगै जोसिँदै गएका पौडेलले सोही सभाबाट पार्टी सभापतिलाई भने ‘हामी दुई मिलेको अवस्थामा तेस्रो पक्षले बाहिर बसेर खेल्न सक्दैन।’ उनले पार्टीलाई एकीकृत र संगठीत बनाउनको लागि देउवा र आफ्नो सहकार्य जरुरी रहेको दाबी पनि गरे।
उनले आफूलाई विधिन्न निर्वाचनमा सहयोग नगर्नेलाई आफूले पनि कहि गएपनि नछोड्ने चेतावनी पनि दिए। पछिल्लो समय नेपाली काँग्रेसको तेस्रो धारको रूपमा सशक्त रुपमा उदाएको सिटौला पक्षले पछिल्ला दुई भातृसंस्थाको निर्वाचनमा सम्मानजनक स्थान पाएको छ भने पौडेल समूहको स्थान एकदमै कमजोर बन्न पुगेको छ। त्यस्तै, अब निकट भविष्यमा नै अर्को भातृ संस्था तरूण दलको पनि निर्वाचन हुँदैछ।
पौडेलले पार्टीमा देखिएको गुटबन्दीप्रति आफ्नो चिन्ता व्यक्त गरे। उनले भने, “मैले पार्टी सभापति शेरबहादुर देउवालाई ‘तपाई सभापति भइसक्नुभयो, तीनपटक मुलुकको प्रधानमन्त्री पनि हुनुभयो अब सीमित घेरामा नबस्नुस् भनी सुझाव दिएँ।” नेता पौडेलले सभापति देउवालाई परम्परागत गुटबन्दीको अन्त्य गरी आफूसँग समझदारी गरेर अघि बढे बीचमा बागीले खेल्न नपाउने सुझाव पनि दिएको जानकारी गराए।
कार्यक्रममा नेता कृष्ण प्रसाद सिटौलाले भने विरहीको पुस्तकको बारेमा चर्चा गरेका थिए। उनले नेपाली राजनीतिलाई लामो समयदेखि भोग्दै र देख्दै आएका पत्रकारीताका अग्ला व्यक्तित्व विरहीको लेखकको रुपमा फेरिएको परिचयका लागि शुभकामना पनि दिए। सिटौलाले जनआन्दोलन र लामो सङ्घर्षपछि मुलुक आजको अवस्थासम्म आइपुगेको बताउँदै आन्दोलनले ठूलो परिवर्तन ल्याए पनि राजनीतिक नेतृत्वले जनताले चाहेअनुरुप काम गर्न नसकेको विचार व्यक्त गरे।
कार्यक्रममा काँग्रेस नेतासमेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले लोकतन्त्र र शान्तिसँग सम्बन्धित काम गर्न अझै बाँकी रहेको बताउँदै संविधानको स्वामित्व बढाउन संविधान संशोधनको आवश्यकता रहेको धारणा व्यक्त गरे।
काँग्रेस नेता प्रदीप गिरीले वरिष्ठ पत्रकार विरहीको पुस्तकमाथि विवेचना गर्दै क्रान्तिबाट नगुज्रिएको मुलुक र प्रेमबाट नगुज्रिएको मानिस अपूर्ण हुने धारणा राखे। वरिष्ठ पत्रकार हरिहर विरहीले पुस्तक लेख्दाका अनुभव सुनाउँदै आफूले नयाँ पुस्तालाई यथार्थ इतिहासको जानकारीका लागि पुस्तक लेखेको बताए।
वरिष्ठ पत्रकार विजय कुमारले वाक स्वतन्त्रता समेत नभएको परिवेशमा पत्रकार विरहीले नेपाली पत्रकारितामा गरेको योगदानको प्रशंसा गरे। पुस्तकको विमोचन प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् काँग्रेस नेताद्वय सहिद केशव कोइराला र बोधप्रसाद उपाध्यायका श्रीमती क्रमशः गुणकुमारी कोइराला र विद्या घिमिरे उपाध्यायले गरेका थिए।