काठमाडौं । सरकारलेमधेश आन्दोलनका क्रममा घाइते भएकाहरुको विभिन्न अस्पतालमा भएको १ करोड ४० लाख उपचार खर्च बेहोर्ने निर्णय गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
केही दिन अघि मात्रै संयुक्त लोकतान्त्रिम मधेसी मोर्चाले करिब डेढ करोड बराबरको खर्च विवरणसहितका विल गृहमन्त्री विमलेन्द्र निधिलाई बुझएको थियो ।
मन्त्रीपरिषद् बैठकले वरिष्ठ कृषि अर्थ विशेषज्ञ डा. प्रद्युम्नराज पाण्डेलाई बंगलादेशको ढाकास्थित सार्कको कार्यालयमा काजमा पठाउने निर्णय गरेको छ । त्यसैगरी बैठकले आगामी २ वर्षभित्रमा मुक्त हलिया पुनःस्थानाको काम गरिसक्ने निर्णय गरेको छ ।
बैठकले अल्ट्रा म्याराथुन धाविका भोजपुरकी मीरा राईलाई उपचारार्थ सरकारले ५ लाख सहयोग प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार हुलाक सेवाका निम्न बेतनभोगी कर्मचारीहरुको तलब अन्य सेवाका कर्मचारी सरह साउनदेखि लागु हुने गरी वृद्धि गर्ने निर्णय भएको छ । बैठकले नेपाल टेलिकमको कार्यकारी निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै, उच्च अदालत स्थापना भएका ठाउँहरुमा उच्च सरकारी वकिलको कार्यालय स्थापना गर्ने, विश्व बैंकको दक्षिपूर्वी शाखामा काम गर्नका लागिअर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय सहायता शाखामा कार्यरत उपसचिव प्रेमनाथ उपाध्यायलाई कार्यकारी निर्देशकको सल्लाहकारको रुपमा पठाउने, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र सहअनुसन्धान निर्देशक रामबहादुर कार्कीलाई अनुसन्धान निर्देशक पदमा बढुवा गर्ने निर्णय भएको छ ।
बैठकले गृह मन्त्रालयअन्तर्गत सशस्त्र प्रहरी बल प्रधान कार्यविभागमा कार्यरत २ जना अतिरिक्त महानिरीक्षकहरुको सरुवा गरेको छ ।
त्यसैगरी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाललाई सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानव स्रोत विभागमा र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक जीतबहादुर पुनलाई सशस्त्र प्रहरी बल महानगरीय सशस्त्र प्रहरी बलमा पदस्थापना गर्ने समेत बैठकले निर्णय गरेको छ ।