काठमाडौ । एक हिमाली क्षेत्रसहित धादिङमा १२ वटा स्थानीय तह रहने भएको छ । राजनीतिक दलहरु र जिल्ला प्राविधिक सहयोग समितिबिच बिहीवार बसेको छलफलले धादिङमा १२ वटा स्थानीय तह बनाउने सर्वसम्मत निर्णय गरेको प्रविधिक समितिका संयोजक एवं स्थानीय विकास अधिकारी भगवान अर्यालले बताए ।
योसँगै धादिङमा १ नगरपालिकासहित ११ वटा गाउँपालिका रहने छ । स्थानीय तहको संख्या र सिमांकन आयोगले जिल्लालाई ११ वटा स्थानीय तह गठनका लागि सिलिङ दिएको थियो ।
जिल्लाले धादिङ, मकवानपुर र चितवन जिल्लाको महाभारत लेक क्षेत्रमा सीमान्कृत चेपाङ समुदायको बसोवास रहको क्षेत्रलाई एकीकृत गरी चेपाङ विशेष संरक्षित क्षेत्र घोषणा गर्न आयोगलाई अनुरोध गरेको समितिका संयोजक अर्याले बताए ।
सहमति जुटेसँगै अब प्रविधिक समितिले जिल्लाको स्थानीय तहको खाका शुक्रवार आयोगमा पेश गर्ने अर्यालले बताए ।
जिल्लाले उत्तरी भेगका चारवटा गाविसलाई समेटेर प्रस्ताव गरेको रुबी भ्याली गाउँपालिकालाई विशेष हिमाली क्षेत्र घोषणा गर्नका लागि आयोगमा प्रस्ताव गरेको छ ।
लापा, सेर्तुङ, तिप्लिङ र झार्लाङ गाविसलाई मिलाएर रुबी भ्याली गाउँपालिकाको प्रस्ताव गरिएको छ । यस गाउँपालिकाको केन्द्र चालिस रहने छ ।
नगरपालिका भने पुरानै नगरपालिकालाई प्रस्ताव गरिएको छ । सदरमुकाम धादिङवेसीलाई नै केन्द्र बनाएर निलकण्ठ नगरपालिकाको प्रस्ताव गरिएको छ । यस नगरपालिकाले निलकण्ठ, खाल्टे र धुवाकोट गरि तीन गाविसलाई समेटेको छ ।
दार्खा, सत्यदेवी, मार्पाक, कटुन्जे र सेम्जोङ गाविसलाई समेटेर डापचोङ गाउँपालिकाको प्रस्ताव गरिएको छ । यस गाउँपालिकाको केन्द्र सापटारी रहने छ । यस्तै बसेरी, बुढाथुम, फुलखर्क, री र गुम्दी गाविसलाई मिलाएर एउटा गाउँपालिका बनाउन प्रस्ताव गरिएको छ । गंगाजमुना नाम दिइएको यस गाउँपालिकाको केन्द्र मण्डली, फुलखर्क रहने छ ।
सल्यान्टारलाई केन्द्र बनाउने गरि आगिन्चोक, सल्यान्टार, त्रिपुरेश्वर, सल्यानकोट र मुलपानी गाविसलाई समेटेर सल्यानटार गाउँपालिकाको प्रस्ताव गरिएको छ । यस्तै साधभन्ज्याङलाई केन्द्र बनाउने गरि चैनपुर, खरी, ढोला र ज्यामरुङ गाविसलाई मिलाएर ज्वालामुखी गाउँपालिकाको प्रस्ताव गरिएको छ ।
नलाङ, सलाङ र मैदी गरि तीन गाविसलाई समेटेर सिद्धलेक गाउँपालिकाको प्रस्ताव गरिएको छ । यस गाउँपालिकाको केन्द्र ढापभन्ज्याङ रहने छ । यस्तै छत्रे, जीवनपुर र नौविसे गाविसलाई मिलाएर धुनिवेसी गाउँपालिकाको प्रस्ताव गरिएको छ । यस गाउँपालिकाको केन्द्र धुनिवेसी नै रहने छ ।
यस्तै थाक्रे, तसर्पु, केवलपुर र भूमेस्थान गाविसलाई समेटेर एउटा गाउँपालिका बनाउने प्रस्ताव गरिएको छ । महादेववेसी गाउँपालिका नाम दिइएको यस गाउँपालिकाको केन्द्र भने महादेववेसी नै रहने छ । बैरेनी, कल्लेरी, किरान्चोक, गोगनपानी गाविसलाई मिलाएर गल्छी बैरेनी गाउँपालिकाको प्रस्ताव गरिएको छ । यस गाउँपालिकाको केन्द्र डल्टार रहने छ ।
गजुरीलाई केन्द्र बनाउने गरि गजुरी, पिडा र कुम्पुर गाविसलाई समेटेर गजुरी गाउँपालिकाको प्रस्ताव गरिएको छ ।
यस्तै जोगिमारा, धुषा, बेनीघाट र महादेवस्थान गाविसलाई समेटेर विशालटार केन्द्र बनाउने गरि रोराङ गाउँपालिकाको प्रस्ताव गरिएको छ ।