ललितपुर । पौडीको ओपन महिला ५० मिटर ब्रेष्टस्ट्रोकमा नयाँ राष्ट्रिय कीर्तिमान कायम भएको छ । नयाँ जलपरी निहारिका तुलाधरले ३८.६ सेकेन्डमा पौडदै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
निहारिकाले बेलायतको लण्डनमा बसेर पौडी अभ्यास गर्दै आएकी गौरिका सिंहको कीर्तिमान भङ्ग गरेकी हुन् । गौरिकाले गत वर्ष १२ औं दक्षिण एसियाली खेलकुद सागमा ३९.३३ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।
निहारिकाले नेपाल पौडी संघले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा आयोजना गरेको छैटौं एनएसए खुल्ला पौडी प्रतियोगिताका क्रममा कीर्तिमान राखेकी हुन् ।
दुई दिने प्रतियोगितामा खुल्लातर्फ ११ महिला र १३ पुरुष गरी २४ स्पर्धामा प्रतिस्पर्धा हुँदैछ ।
प्रतियोगिता नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद साग र फिना वल्र्ड च्याम्पियनसिपको छनोटका लागि आयोजना गरिएको पौडी संघले जनाएको छ ।