arrow

भारत-चीन जोड्ने सडक क्षेत्रका स्थानीयले भत्काए घर

logo
राम धामी,
प्रकाशित २०७९ फागुन १ सोमबार
tinker-rod (2).jpg
परशुराम नगरपालिका–७ साँदनी चौराह बजार क्षेत्रमा सडक क्षेत्रमा रहेका घर स्थानीयले स्वतःस्फूर्त रूपमा भत्काएका छन् । तस्बिर राम धामी

साँदनी (डडेल्धुरा) । नेपाललाई भारत र चीनसँग जोड्ने सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवको योजनामा समावेश गरेको महाकाली करिडोर सडक निर्माणमा ढिलासुस्ती भइरहेको भन्दै स्थानीयले स्वतःस्फूर्त रूपमा सडक क्षेत्रमा रहेका घरहरू भत्काउन थालेका छन् ।  
 
अविलम्ब सडक निर्माणका लागि दबाब दिने उद्देश्यले स्थानीयले सडक क्षेत्रमा रहेका घरहरू भत्काउन थालेका हुन । डडेल्धुराको परशुराम नगरपालिका–७ सादनीस्थित चौराहा बजारका घरधनीहरूले स्वतःस्फूर्त रूपमा सडक क्षेत्रमा रहेका आफ्ना घर भत्काएर सडक निर्माणमा ढिलासुस्ती नगर्न दबाब दिएका छन् । उनीहरूले बजार क्षेत्रका झण्डै दुई दर्जन घर भत्काएर सडक निर्माणका लागि दबाब दिइरहेको साँदनी बजार व्यवस्थापन समितिका सचिव प्रेम धामीले बताए ।

महाकाली करिडोरलाई भारत र चीनसँग जोडिने मुख्य सडकको रूपमा लिइएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकर जोड्ने महाकाली करिडोर सडक निर्माणमा निकै ढिलासुस्ती भइरहेको स्थानीयको गुनासो छ । कञ्चनपुरलाई त्रिदेशीय नाका बनाएर महाकाली पारीको भूभाग दोधारा चाँदनी हुँदै दार्चुलाको टिंकर जोड्ने महत्त्वपूर्ण सडक योजना निर्माणमा चरम लापरबाही भइरहेको परशुराम नगरपालिका–७ का पूर्व वडाध्यक्ष केशव बोहराले बताए । दार्चुलादेखि कञ्चनपुरसम्म महाकाली किनारका बस्तीलाई सडक सञ्जालसँग जोड्न डेढ दशकअघि सडक निर्माणको काम सुरु भएको थियो। 

उक्त आयोजनाको काम निकै सुस्त गतिमा भइरहेको छ। हालसम्म ट्रयाक खोल्ने काम पनि सकिएको छैन। ब्रह्मदेवदेखि दार्चुलाको तिखारपानीसम्म ३३४ किलोमिटर सडक निर्माणको काम महाकाली करिडोर सडक परियोजनाले गरिरहेको छ। तिखारपानीदेखि टिंकरसम्म ९१ किलोमिटर सडकको ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ। ३३४ किलोमिटरमध्ये हालसम्म २१५ किलोमिटरमा ट्रयाक खोलिएको परियोजनाले जनाएको छ। अझै ११९ किलोमिटरमा ट्रयाक खोल्न बाँकी छ। केही स्थानमा कालोपत्रेका लागि ठेक्का भए पनि काम सुरु हुन सकेको छैन।

धेरै ठाउँमा रूख कटानीको आदेश नपाएका कारण ट्रयाक खोल्न ढिलाइ भएको हो। कञ्चनपुरमा पर्ने कौवानी वन क्षेत्रको ११ किलोमिटर सडकमा रूख कटानीको आदेश आएको छैन। उक्त सडक खण्डमा १९ सय ५१ रूख काट्नुपर्ने हुन्छ। महाकाली करिडोर सडक परियोजनाका अनुसार डडेल्धुरामा १० हजार चार सय ७६ रूख काट्नुपर्ने भए पनि हालसम्म दुई हजार पाँच सय रुख मात्रै काटिएको छ।

यस्तै, बैतडीमा चार हजार पाँच सय ९६ रूख कटानीको आदेश भरखरै प्राप्त भएको परियोजनाले जनाएको छ। कटानी आदेश प्राप्त भएका क्षेत्रहरूमा रूख कटानीको काम सुरु भएको परियोजना प्रमुख लक्ष्मणदत्त जोशीले बताए । उनका अनुसार दार्चुलामा पनि दुई हजार ४३ रूखको कटानी आदेश प्राप्त भएको छ। ‘धेरै ठाउँमा रूख कटानीको आदेश नआएका कारण ट्रयाक खोल्ने काम पनि सुरु हुन सकेको छैन,’ परियोजना प्रमुख जोशीले भने, ‘रूख कटानीको आदेश पाए अगामी आर्थिक वर्षभित्र ट्रयाक खोल्ने काम सकिने छ ।’

हाल चार स्थानमा ३८ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएको परियोजनाले जनाएको छ। डडेल्धुराको परशुराम नगरपालिका–६ कुणादेखि साँदनीसम्म ६ किलोमिटर, दार्चुलामा लेकम गाउँपालिकामा बेतदेखि उकुसम्म १२ किलोमिटर र खलङ्गादेखि उत्तर १०-१० किलोमिटरको दुई प्याकेजमा २० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का भएको हो। कालोपत्रेका लागि ठेक्का भएको डडेल्धुराको कुणामा पर्खाल लगाउने तथा कल्भर्ट हाल्ने काम भइरहेको परशुराम नगरपालिका–६ का वडाध्यक्ष खगेन्द्रबहादुर सिंहले बताए । तर बीचबाटोमै रहेका रूखहरू भने कटान हुन सकेका छैनन् । 

सो सडक सञ्चालनमा आउन सके डडेल्धुराको भित्रिमधेस क्षेत्रबाट आधा घण्टामै भारतीय बजार टनकपुर पुग्न सकिने वडाध्यक्ष सिंहले जानकारी दिए । सादनी हुँदै तराई झर्ने बाटो बनेमा स्थानीयलाई धेरै राहत हुने परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीले बताए । भारत सरकारले रणनीतिक आयोजनाका रूपमा महाकाली किनार भएर चीन सीमासम्म राष्ट्रिय राजमार्ग निर्माण गरिसकेको छ। तर नेपाल तर्फ निर्माण हुने भनिएको सडक डेढ दशकसम्म ट्रयाक खोल्ने कामसमेत नसकिएको स्थानीय अगुवा कर्णबहादुर धामीले बताए । 

महाकाली करिडोर सडक निर्माण भएमा महाकाली किनारका बासिन्दाले तराई झर्नका लागि भारतकै भर पर्नुपर्ने बाध्यता अन्त्य हुने डडेल्धुराको भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले बताए । तराईदेखि दार्चुलासम्मको सडक यातायात अहिलेको भीमदत्त राजमार्ग हुँदै बैतडी दार्चुला जोड्ने सडकको तुलनामा महाकाली करिडोरले ५० किलोमिटर दूरी छोटिने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ । चालु आर्थिक वर्षमा परियोजनाका लागि ४१ करोड बजेट विनियोजन भएको छ। 

सुदूरपश्चिम प्रदेश सरकारका पुर्वमन्त्री पठानसिंह बोहराले प्रदेश गौरवको सडक आयोजना निर्माणमा ढिलासुस्ती गर्न नहुने बताए । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीका रूपमा काम गर्दा आफुले द्रुत गतिमा ट्रयाक खोल्ने काम गरेको बोहराले जिकिर गरे । महाकाली करिडोर सडक निर्माण हुन सकेमा कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने उनले दाबी गरे । ‘सडक निर्माणका लागि स्थानीयले स्वतःस्फूर्त रूपमा घर भत्काई रहेका छन्,’ पुर्वमन्त्री बोहराले भने, ‘ढिलासुस्ती हुनुको कारण खोजबिन गरेर द्रुतगतिमा सडक निर्माण गर्न जरुरी छ ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ