arrow

संसद विघटनको भोक र सनक नमेटिएको पाइयो: प्रदीप पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
pradeep-poudel-nc.jpg

काठमाडाैं। नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसद फेरि पनि आम आशाको केन्द्र बन्ने सम्भावना नदेखिएको बताएका छन् । संसदको विशेष समयमा बोल्दै उनले अहिलेको नयाँ संसदमा आफूलगायत करिब ५० जना नयाँ साथीहरुले स्थान पाएको बताएका छन्।

तर पनि संसद फेरि आशाको केन्द्र बन्ने सन्दर्भमा आफू उत्साहित नभएको उनले बताएका छन् । पौडेलले भने,'नयाँ तीन वटा राष्ट्रिय दल संसदमा उपस्थित भएको अवस्था छ। यो अवस्थामा खासगरी शीर्ष नेतृत्वले चुनौती र चेतावनीको बोध गर्नुपर्ने थियो भन्ने मलाई लाग्छ। तर, संकेतहरु यस्तो देखिएको छ कि फेरि पनि संसद आम आशाको केन्द्र बन्ने सन्दर्भमा म धेरै उत्साहित छैन ।'

यस्तै उनले अघि भनेका छन्, 'समस्यै समस्याको चाङले देश भरिएको छ। जुनसुकै क्षेत्रमा पनि समस्या देखिएका छन्। त्यसलाई समाधान गर्ने सन्दर्भमा संसद असाधै प्रभावकारी हुन जरुरी छ।'

उनले संसदमा उपस्थिति कम देखिएको भन्दै जाँगर चल्न छोडेको हो कि भन्ने स्थिति देखिएको बताएका छन् ।

यस्तै उनले अघि भनेका छन्, 'संसद विघटन कायरता थियो, त्यो कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्न कोसिस गरिएको छ। तर म चुनौती दिन चाहन्छु अब, कायरता दोहरिन दिइने छैन । संसदकै रोस्टमबाट सर्वाेच्च अदालत मानिलिउँ आफ्नो पार्टीको कानून विभाग हो जस्तै गरी लल्कार्ने परिस्थिति देखिएको छ। त्यसले अदालतप्रतिको, कानूनप्रतिको निष्ठा कति झल्किन्छ ?' उनले भने ।

'संसद विघटनको भोक र सनक नमेटिएको पाइयो, यो संसद पनि असुरक्षित छ भनेर अनुमान गर्ने स्थिति बनेको छ। त्यसकारण यो विषयमा गम्भीर भएर जनताको पक्षमा यो संसद उभिन जरुरी देखिन्छ,' उनले भने ।

'प्रधानमन्त्री भन्दा पनि माथि सुपर प्रधानमन्त्री भएर जुन, फूर्ति प्रस्तुत गरिएको थियो आज किन सुस्त छ, किन बालकोट र बालुवाटारको दौड एकदमै व्यापक बढेको छ, त्यसकारण यो हामीलाई थाहा छ यहाँ राष्ट्रपति चाहिएको हैन, यहाँ रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ। यहाँ आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ ।आवश्यकता पर्याे भने सचिव पनि लुकाएर राखिदिने राष्ट्रपति चाहिएको छ। त्यस्तो राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उत्रिदै गर्दा कांग्रेसले ढोक्सा थापेको भनिन्छ भने हामी तयार छौं,' उनले अघि भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ