arrow

कुर्सीको दौडधूप

राष्ट्रपतिमा अड्केको राजनीति

माओवादी बैठक बस्दै, छलफलपछि प्रचण्डले देउवालाई निर्णय दिने, एमालेले माधवलाई अगाडि सारे के होला ? 

logo
बाबु नेपाली,
प्रकाशित २०७९ फागुन ८ सोमबार
sheetal-niwas-2079-tika.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपति चयनलगायतका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार आज अपरान्ह ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक डाकिएको हो ।

फागुन २५ गते हुने राष्ट्रपतिको चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ । सो छलफलअघि नै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको छ ।

आइतबार राति कांग्रेस नेताहरु सभापति शेरबहादुर देउवाको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । उनीहरुले राष्ट्रपतिको निर्वाचनमा कांग्रेस उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका छन् । जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टीको पदाधिकारी बैठकपछि निर्णय दिने जवाफ दिएका छन् । 

प्रचण्डलाई भेट्न कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका थिए ।

नेताहरु बालुवाटारमा करिब दुई घण्टा बसे । उक्त छलफलपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले छलफल सकारात्मक रुपले अघि बढेको बताएका छन् । उनले प्रचण्डले पार्टीभित्र छलफल गरेर निर्णय दिन्छु भनेको पनि बताए । 

नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सत्तागठबन्धन गत पुस १० मा टुंगिएको थियो । प्रचण्ड एकाएक बालकोट गएर सोही दिन एमालेसँग सत्ता सहयात्रा गर्न पुगेका थिए । उनले कांग्रेससँगको यात्रा अचानक टुंग्याएका थिए । 

तर कांग्रेसले उनलाई विश्वासको मत दिएको थियो । त्यसयता भने प्रचण्ड फेरि कांग्रेससँगै सहकार्य गरेर अगाडि बढ्नु पर्छ भन्नेमा छन् । कांग्रेसले पनि सत्तामा नगए पनि राष्ट्रपति आफूले लिएर प्रचण्ड नेतृत्वको सरकारलाई सहयोग गरिरहने बताइरहेको छ । 

प्रचण्डले पनि राष्ट्रिय सहमति गरेर राष्ट्रपति चयन गर्ने बताइरहेको छ । यो भनेको कांग्रेसलाई नै सघाउने भन्ने हो । तर अहिलेसम्म पार्टीबाट निर्णय भने गराएको छैन । सम्भवतः आजको बैठकबाट उक्त निर्णय हुन सक्नेछ । 

अर्कातर्फ एमालेले पुस १० को सहमतिअनुसार नै आफूले राष्ट्रपति पाउनु पर्ने बताउँदै आएको छ । प्रचण्डले प्रधानमन्त्री बन्ने बेलामा राष्ट्रपति र सभामुख एमालेलाई दिने मौखिक सहमति गरेको बुझिएको छ । 

तर प्रधानमन्त्री अढाइ वर्षमा फेरेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउने तर अन्य पद यथावत् रहँदा राष्ट्रपति र प्रधानमन्त्री मिल्नासाथ २०७७ साल पुस को घटना दोहोरिन सक्नेतर्फ प्रचण्ड सचेत देखिएका छन् । 

त्यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारी (पूर्व एमालेकी उपाध्यक्ष) सँग मिलेर प्रधानमन्त्री रहेका ओलीले संसद विघटन गरेका थिए । त्यस्तै अध्यादेश ल्याएर संवैधानिक निकायमा नियुक्ति गरेका थिए । 

शक्ति सन्तुलनका लागि पनि प्रचण्डले सुझबुझका साथ कांग्रेसलाई राष्ट्रपति दिन खोजिरहेको बुझिन्छ । 

कांग्रेसभित्र एकताको संकेत
अहिले भने कांग्रेसभित्र एकताको संकेत देखिएको छ । कांग्रेसको तीन धारमा रहेका नेताहरु एकजुट भएर बालुवाटार जानुले पनि यो संकेत दिएको हो । 

सभापति देउवाले महामन्त्री गगनकुमार थापा (थापा–शेखर पक्ष) लाईसमेत समेटेर लैजानु अनि कृष्णप्रसाद सिटौलासमेत सहभागी हुनुले पनि एकताको संकेत दिएको छ । 

यो जरुरी पनि यसअर्थमा देखिएको छ कि कांग्रेस एक नभएसम्म कसरी राष्ट्रपतिको उम्मेदवार खडा गर्न सक्छ त भन्ने प्रश्न उब्जिरहेको थियो । 

अर्कातर्फ कांग्रेसभित्र अहिले रामचन्द्र पौडेल र सिटौलाको राष्ट्रपति उम्मेदवारका लागि सम्भावना देखिएको छ । 

तर पछिल्लो समय सिटौला अगाडि रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार प्रचण्डले पनि सिटौलालाई रुचाएको बुझिएको छ । 

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सिटौलाले अहम् भूमिका खेलेको भन्दै प्रचण्ड सिटौलातर्फ ढल्किएको पाइएको छ । 

राष्ट्रपति निर्वाचनका लागि यही फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्नेछ । 

के गर्छ एमाले ?
एमालेले १३ गते नै उम्मेदवार सार्वजनिक गर्ने जनाएको छ । एमालेलाई पछिल्लो समय राष्ट्रपति आफूले पाउने हैन कि भन्ने चिन्ता छ । यसको प्रमुख कारण हो माओवादी अध्यक्ष प्रचण्डको निर्णय । यसअघि नै प्रचण्डले पार्टीमा एकखालको राष्ट्रिय सहमतिको खाका तयार गरेका थिए । 

त्यसो भयो भने एमालेले समर्थन पाउने छैन । तर पछिल्ला समय ओली र प्रचण्डबीचको छलफल बाक्लिएको छ । यो छलफलले कुन रुप लिन्छ पत्तो छैन । 

एमालेले राष्ट्रपति नपाए पनि सरकार छाड्ने संकेत भने छैन । कुनै पनि हालतमा आफूले पाएको अधिकारको प्रयोग गर्नेमा ओली छन् । सरकार छाड्नासाथ सबै कुरा गुम्छ भन्नेमा ओली रहेकाले पनि राष्ट्रपति गएजावस् भन्ने पक्षमा ओली पुगेको बालकोट स्रोत बताउँछ । 

तर अन्तिमसम्म नछाड्ने स्थितिमा ओली देखिन्छन् । अर्कातर्फ प्रचण्डले पाँच वर्ष नै आफूलाई प्रधानमन्त्रीमा रहन दिने हो भने राष्ट्रपति एमालेलाई दिने सर्त तेस्र्याएको बालुवाटार स्रोतले जनाएको छ । 

यो समझदारी कहाँसम्म पुग्छ भन्ने पनि अहम् बनेको छ । 

माधव र उपेन्द्रको अनुरोध अहम् 
नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवको अनुरोध पनि अहम् रहेको छ । उनीहरु दुवैले बालुवाटार पुगेर प्रचण्डलाई कुनै पनि हालतमा राष्ट्रपति एमालेलाई दिन नहुने बताएका छन् । 

प्रचण्डले कथंकथाचित सत्ताबाट यदि राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिन खोजिरहेको छ भने तयारी अवस्थामा नेकपा एस र जसपालाई राखेका छन् । उनले सत्तामा नजाने रास्वपाको सर्तसहितको अडानलाई चिर्दै एस र जसपालाई भित्र्याउन खोजिरहेका छन् । 

यसकारण पनि प्रचण्डले माधव र उपेन्द्रको अनुरोध मान्न सक्छन् । 

ओलीले माधवलाई नै अगाडि सारे के हुन्छ ? 
एमाले र माओवादी मिलेर बनेको नेकपाकालमा केपी ओलीले माधव नेपाललाई खुवै पेले । कुनै पनि कोणबाट माधवलाई अगाडि आउन दिएनन् । घर न घाटको बनाएपछि माधवले पनि अब ओलीसँग बस्न सकिँदैन भनेर कदम चाले । 

सोहीअनुसार उनले एमालेबाट टुक्रिने निर्णय गरेर टुक्रिए पनि । एमालेबाट टुक्रिएर बनेको नेकपा एसको आफ्नै शक्ति छ अहिले । कतिपय अवस्थामा नेकपा एसका नेताहरु एमालेसँग समाहित हुनुपर्छ भन्नेमा पनि छन् । 

तर माधव नेपालले बरु माओवादीसँग एकता गर्न सकिने तर धोका दिने इखालु ओलीसँग मिल्न नसकिने बताइरहेका छन् । माधव र ओलीको पनि बोलचाल छैन । 

तर माधव बिमार भएका बेलामा ओलीले स्वास्थ्य सोधेर मित्रभाव देखाउन खोजेका थिए । 

प्रचण्डले प्रधानमन्त्रीको शपथ लिने बेलामा पनि हालखबर सोधेर रीसको गाँठो केही खुकुलो बनाएका थिए । 

अब प्रश्न यहाँनेर आउँछ कि राष्ट्रपति एमालेले पाएन र कांग्रेसलाई दिनुपर्ने अवस्था आयो भने त्यो बेलामा ओलीले बठ्याइँ गरेर माधव नेपाललाई राष्ट्रपतिमा अगाडि सारे भने के हुन्छ ? 

त्यसो भएमा नेकपा एसका नेताहरु एमालेमा मिल्ने सम्भावना अधिक हुन्छ र माधव नेपाल उम्मेदवार बन्दा माओवादीले पनि समर्थन गर्दिन भन्न सक्दैन । 

अर्कातर्फ कांग्रेसले नेकपा एससँगको सम्बन्ध तोडिसकेको छैन । 

नेपाली राजनीतिका यावत् गोलमटोल प्रश्न यद्यपि छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ