arrow

मृत्यु कुरिरहेकी जुम्ली युवतीबारे मन्त्री थापाले बनाए अध्ययन टोली

टोलीको प्रतिवेदनका आधारमा सन्ध्यासंग कुराकानी हुने

logo
प्रकाशित २०७३ असोज ९ आइतबार
sandhya_Gagan.jpeg
काठमाडौं । एक त्यस्तो प्रतिनिधि घटना जसले नेपालको सम्पूर्ण ध्यान खिचेको छ। त्यसमा पनि स्वास्थ्य क्षेत्रको ध्यान मूल रुपमा । स्वास्थ्यमन्त्री गगन थापालाई स्वास्थ्य क्षेत्रको वेतिथि र आफ्नो करुण जीवनबारे पत्र लेख्ने तीनै जुम्ली युवती सन्ध्या शाहीको गृह जिल्ला अहिले पत्र भावले रोइरहेको छ । 
 
मन्त्रीज्यू तपाई विरामी हुँदा वा विरामी लगेर अस्पताल जादा कत्तिको माया पाउनु भयो ? बढी सम्मान की माया ? कतै अपमान त पाउनु भएन ? तर, मैले अस्पतालमा माया र सम्मान त के बोल्ने मान्छे सम्म पाईन । त्यसैले मन्त्री ज्यु, तपाईसंग अस्पतालको वेतिथिका बारेमा कुरा गरेर मर्ने रहर छ । सन्ध्याले पत्रमा यस्तै पीडा लेखेकी छन् । 
 
अहिले काठमाडौं चावाहिल गोपिकृष्ण हल नजिकैको सरस्वती नगरमा बस्दै आएकी सन्ध्याले पत्रमा आफु मृत्यु कुरिरहेको उल्लेख गरेकी छन् । पाँच सात वर्ष देखि काठमाडाैंमा बस्दै आएकी उनको हातको एक औलामा देखिएको सानो खटिराले क्यान्सरको विशाल रुप लियो । अहिले उनी मृत्युसँग पौँठेजोरी गरिरहेकी छिन् । हुँदाहुँदा उनलाई अहिले उपचार गरिरहेका चिकित्सकले मृत्युको पर्चा दिएर घर पठाएका छन् । 
 
उनले स्वास्थ्यमन्त्री थापासंग मृत्यु अघि एक पटक भेट्ने इच्छा पत्रमा जाहेर गरेकी छन् । सन्ध्याले पत्रमै स्वास्थ्यमन्त्रीलाई चिकित्सा क्षेत्रका कयौं वेथिति सुनाउने इच्छा रहेको भन्दै पत्रमा सबै उल्लेख गर्न नमिल्ने उल्लेख गरेकी छन् । जसकारण स्वास्थ्यमन्त्री थापाले उनलाई भेट्ने प्रतिवद्धता समेत गरिसकेका छन् । 
 
स्वास्थ्यमन्त्री थापाले आइतबार उनलाई भेट्ने भनेका थिए । यद्यपि, थापाले उनीसंग भेट्नु अघि महत्वपूर्ण विधि अपनाएका छन् । मन्त्री थापाले आइतबार सन्ध्याले उठाएका विविध पक्ष र स्वास्थ्य सेवाको हविगतबारे अध्ययन गर्न मन्त्रालय र सम्बन्धित निकायको एक प्रतिनिधि मण्डल खटाएका छन् । टोलीले सम्बन्धित अस्पताल र विरामीहरुले पाइरहेको सेवाबारे बुझेर सोमबार स्वास्थ्यमन्त्रीलाई प्रतिवेदन दिने छ । टोलीको प्रतिवेदनका आधारमा स्वास्थ्यमन्त्रीले सोमबारै सन्ध्यासंग कुरा गर्ने भएका छन् । 
 
हाम्राकुरासंग कुरा गर्दै मन्त्री थापाले भने, ‘टोलीलाई भक्तपुरमा रहेको क्यान्सर अस्पताल र अन्य सम्बन्धित स्वास्थ्य संस्था र विरामीमाझ गएर सेवाबारे अध्ययन गर्न भनेको छु । टोलीले प्रतिवेदन दिन्छ । जसले सन्ध्याको विषय मात्र नभई आम स्वास्थ्य सेवामा रहेको वेथितिको पहिचान हुने छ ।’ 
 
थापाले सन्ध्याको घटना एउटा विषय मात्र नभई स्वास्थ्य क्षेत्रले कसरी नागरिकलाई सेवा दिने र कसरी रेस्पोन्स गर्ने भन्ने मार्ग दर्शन गरेको बताए । थापाले थपे, ‘सन्ध्याको पत्रको गाम्भीर्यता कति छ भन्ने कुरा सबैले बुझेका छन् । स्वास्थ्य मन्त्रालय र मेरो त झन् यो घटनाले सम्पूर्ण ध्यान खिचेको छ ।’ टिमले यसबारे अध्ययन गरिरहेको छ । स्वास्थ्य क्षेत्रमा यस्तै अन्य विषयहरु पनि उठेका छन्, मन्त्री थापाले भने,  ‘विधिमार्फत गर्ने सबै कामहरुमा गर्न हामी डटेर लागेका छौं ।’ सन्ध्या बस्दै आएको स्थान मन्त्री थापाकै निर्वाचन क्षेत्र हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ