सचिवहरुअघि प्रधानमन्त्रीकाे वक्तव्य,–राष्ट्रिय गौरवका आयोजना ढिलो होइन छिटो गर्ने प्रतिस्पर्धा गर्नुस्
प्रकाशित २०७३ असोज ९ आइतबार
963
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजना ढिला नभई छिटो सम्पन्न गर्ने प्रतिस्पर्धा गर्न सचिवहरुलाई निर्देशन दिएका छन् ।
सोमबार सचिवहरुलाई सामूहिक निर्देशन दिँदै प्रधानमन्त्रीले आयोजनामा ढिलाई गर्ने प्रतिस्पर्धा नगर्न सुझाए । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले सचिवहरुको प्रस्तुतिले प्रधानमन्त्रीको सम्बोधन कार्यान्वयनको आशा जगाएकाले सरकारको प्राथमिकता अनुसार मन्त्रालयगत योजना बनाउन सचिवहरुलाई आग्रह गरे ।
बैठकमा विभिन्न मन्त्रालयका सचिवहरुले प्रधानमन्त्रीको सम्बोधन मध्ये आफ्नो मन्त्रालयसँग सम्बन्धित विषय, त्यसको कार्यान्वयनको अवस्था र जटिलताबारे आफ्नो धारणा राखे ।
— सचिवहरुको कुरा सुनें । यसले यथार्थ कुरा बुझ्न मलाई मद्दत गरेको छ । अहिलेको राजनीतिक घटनाक्रम र आकांक्षाअनुसार मैले सरकारबाट दिशानिर्देश गर्ने प्रयास गरेको छु । अहिले हामी बिशिष्ट राजनीतिक कालखण्डमा छौं । म आफैं द्धन्द्ध र शान्ति दुवै प्रक्रियाबाट आएकाले नेपालमा स्थायी शान्तिका लागि प्रयास गर्न लागेको छु ।
— तल्लो वर्ग र समुदायलाई बेलैमा सम्बोधन गर्न सकिएन भने नयाँ द्धन्द्ध आउन सक्छ । यसमा म एकदमै सचेत छु, त्यसैले मैले शान्ति र स्थीरताका लागि निकै जोड लगाएर काम गर्न खोजेको छु । तपाईहरु नै विज्ञ हुनुहुन्छ, यो कुरा मैले तपाईहरुप्रति विश्वास र अनुभवका कारणले भनेको हुँ । तर, तपाईहरुले परिवर्तनका लागि नयाँ संकल्प गर्नुपर्ने आवश्यकता छ । तपाईहरुको मेहेनत पनि बढाउन आवश्यक छ ।
— यसपल्ट प्रधानमन्त्री भएलगत्तै बिश्राम नगरी खटिरहेको छु । हामीले केही दिन सकेनौं भने गम्भीर समस्या आउँछ भन्नेमा म स्पष्ट छु । सचिवज्यूहरुलाई जनतालाई राहत दिने गरी परिणाममूखी काम गर्न निर्देशन दिन चाहन्छु । सरकार संविधानले परिलक्षित गरेका परिवर्तनका एजेण्डा सम्बोधन गर्न गम्भीर छ । संघीय लोकतान्त्रिक गणतन्त्रको चरित्रअनुसार मैले सम्बोधनमा संकेत गर्न खोजेको छु, यसलाई गम्भीरतापूर्वक लिनुहोला ।
— संसदको सम्बोधन महत्वकांक्षी छैन । हिजो राज्यबाट उपेक्षा परेका समुदायलाई अग्रभागमा ल्याउन खोज्दा महत्वकांक्षी देखिएको हो । तर, त्यसो नगरी परिवर्तन सम्भव छैन । नीतिगत र कानूनी जटिलता भए सरकारलाई भन्नुस्, बजेट अपुग भए पेश गर्नुस् । तर, परिणाममूखी काम हुनैपर्छ ।
— तपाईहरुले कार्ययोजना दिनुभएको छ । तर, मेरो स्प्रिडअनुसार कार्ययोजना आएको छैन । ४५ दिनभित्र पहिलो किस्ता अनुदान सम्झौता गर्ने घोषणा पूर्ण रुपमा लागु भएको छैन । अनुदान सम्झौताको काम सन्तोषजनक छ । तर, उत्साहजनक छैन । आफैलाई बाँध्ने संरचनाले पनि यसमा काम गरेको छ । युद्ध स्तरमा काम गर्न रोक्ने संरचनामाथि पूनर्विचार गर्नेबारे सोच्दैछु ।
— वैदेशिक रोजगारी र राष्ट्रिय गौरवका आयोजनाको सवालमा सरकार गम्भीर छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुको पीडामा सरकारले साथ दिनैपर्छ । हामीले पूँजीगत खर्च बढ्न नसक्ने समस्याको हल खोज्नुपर्छ । राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न नियमित अनुगमन र निरीक्षण गर्छु । म तपाईहरुका मन्त्रालय अन्तर्गतका आयोजनामा पनि अचानक अनुगमनमा आउन सक्छु ।
— अरु देशमा आयोजना छिटो सम्पन्न प्रतिस्पर्धा हुन्छ । तर, हामीकहाँ ढिलो काम गर्ने, अपारदर्शिता देखाउने विषयमा प्रतिस्पर्धा हुने गरेको छ । हाम्रो समस्या यहीँनेर छ । विकासका ठूला आयोजनाहरुको नियमित अनुगमन गर्नेछु । तपाईहरु काम ढिलो गर्नेतिर होइन, छिटो गर्नेतिर प्रतिस्पर्धा गर्नुहोस् ।
— हेलो सरकारमा आउने गरेका गुनासा, सिधा प्रश्न प्रधानमन्त्रीसँग कार्यक्रममा बोलेका विषयहरु हाम्रो कार्ययोजनामा आउनुपर्छ । कालोबजारी र महंगी नियन्त्रण गर्न अनुगमन अगाडि बढिरहेको छ । तर, जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी अनुगमनलाई प्रभावकारी बनाउन जरुरी छ । राम्रो काम गर्ने र राम्रो काम देखिने अवस्था आउनुपर्छ ।
— जनतालाई आशावादितामा लैजानुपर्छ । सरकारी निकायप्रति जनताले सकारात्मक धारणाले सोच्ने वातावरण बनाउनैपर्छ । हामीले नयाँ संविधानले नयाँ परिणाम दियो भन्ने अनुभूति गराउनैपर्छ । यसमा तपाईहरुले गम्भीरतापूर्वक काम गर्नुहोला ।
— मैले साना साना कुरामा पनि ध्यान दिन खोजेको छु । हाम्रा लागि साना कुरा जनताका लागि ठूला कुरा हुन् । हामीले साना सम्झेर जनताका ठूला कुरामा खेलबाड गर्नु हुँदैन । साना साना कुरामा परिणाम निकाल्न सक्यौं भने पनि त्यसले ठूलो परिणाममा उपलब्धि हासिल गर्ने वातावरण बन्छ ।
— मेरो तपाईहरुप्रति विश्वास छ । हामीकहाँ राम्रा नराम्रा दुवै प्रवृत्ति छन् । नराम्रालाई हटाएर राम्रालाई अनुशरण गरौं । मेरो व्यवस्थापिका संसदको सम्बोधनलाई अक्षरशः पालना र कार्यान्वयन गर्नेतिर सोचौं । यो राजनीतिक संक्रमणको व्यवस्थापनको कार्ययोजना हो । मैले अनुगमनमा आउँदा सबै निकायमा परिवर्तनको अनुभूति भएको देख्न पाउनेछु ।