- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हेटौंडा । राजनीतिक शक्तिको आडमा ड्युटीमा खटिएका प्रहरीलाई कुटे पनि केही हुँदैन भन्ने उदाहरण हेटौंडामा देखिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सामान्य विवाद र प्रहरीसँग आँखा जुधाएर कुरा गरेको भरमा नियन्त्रणमा राखेर कारबाही गरेको र मुद्दासम्म चलाएको थुप्रै उदाहरण छन् ।
सामान्य नागरिकलाई चाहिने भन्दा बढी दुःख दिने र कारबाहीको दायरामा ल्याउन खोज्ने मामिलामा मकवानपुर प्रहरी अलि अगाडि छ भन्दा फरक पर्दैन । तर राजनीतिक पहुँच र शक्तिको आडमा ड्युटीमै खटिएका प्रहरीलाई रगत निस्किने गरी कुट्दासमेत केही गर्न नसक्ने अवस्थामा प्रहरी पुग्दो रहेछ भन्ने गतिलो उदाहरण हेटौंडामा देखिएको छ ।
घटना शनिबार रातिको हो । शनिबार राति हेटौंडा-१८ जलारी भन्ने स्थानमा मोटरसाइकलले साइकल यात्रुलाई ठक्कर दियो । साइकल चालक घाइते भए । दुर्घटना भएको खबर प्राप्त भएपछि प्रहरी चौकी ठूलोदमारका प्रहरी हवल्दार देवीप्रसाद देवकोटासहितको प्रहरी टोली दुर्घटनास्थलमा पुग्यो ।
ठक्कर दिने चालक र मोटरसाइकल स्थानीयले लुकाएपछि प्रहरीले खोजतलास गर्न थाल्यो । घटनाबारे थप बुझ्न खोज्दा मादक पदार्थ सेवन गरेका स्थानीय जितबहादुर आधिकारी ड्युटीमा खटिएका प्रहरीमाथि जाइलागे । अधिकारी र उनको समूहले हवल्दार देवकोटामाथि आक्रमण गरे । आक्रमणबाट हवल्दार देवकोटा घाइते भए । उनको मुखमा चोट लागेको छ ।
प्रहरीलाई आक्रमण गरेपछि उनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा भएका उनले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको भान्जा हुँ, एक घन्टामा छुट्छु भन्दै चुनौती दिए ।
प्रहरी कुट्ने जितबहादुरलाई जिल्ला प्रहरी कार्यालयमा पुर्याइयो, त्यतिबेला रातको ११ बजिसकेको थियो । मुख्यमन्त्रीको भान्जा बताउने अधिकारीको हेटौंडा अस्पतालमा चेकजाँच हुँदा उनले मापसे गरेको पुष्टि भयो ।
उनलाई छुटाउन हेटौंडा-१८ का वडाध्यक्ष अनिल बानियाँ राति नै जिल्ला प्रहरी कार्यालय पुगेका थिए । उनले प्रहरी कुट्ने अधिकारीलाई तत्कालै छुटाउन निकै जोडबल गरेका थिए । तर रात अबेर भैसकेकाले अधिकारीलाई प्रहरीले हिरासतमै राख्यो ।
आइतबार सबेरैदेखि उनलाई छुटाउन वडाध्यक्ष बानियाँ जिल्ला प्रहरी परिसरमै धर्ना दिएर बसे र चौतर्फी दवाब थेग्न नसकेपछि आफ्नै प्रहरी हवल्दार कुटेका जितबहादुर अधिकारीलाई एसपी बामदेव गौतमले छाडिदिए ।
मकवानपुर प्रहरी प्रमुख एसपी बामदेवले भने आफूलाई कतैबाट दवाब नआएको बताउँछन् । 'प्रहरीसँगको यस्ता घटना दैनिक सामान्य जस्तै हो, खासै ठूलो घटना हैन, कतैबाट दबाब आएर छाडिएको हैन', उनले बताए ।
तर प्रहरी प्रमुख गौतमले यस्तो प्रतिक्रिया दिए पनि प्रहरीका लागि भने यो सामान्य घटना थिएन । सामान्य विवादमा आम नागरिकलाई नियन्त्रणमा लिएर हिरासतमा राख्ने प्रहरीले ड्युटीमा खटिएका आफ्नो हवल्दारलाई रक्ताम्य हुने गरी आक्रमण गर्नेलाई सामान्य कारबाहीसमेत नगरी छोडेको छ ।
जितबहादुरले घटनास्थलमा प्रहरीलाई दिएको चुनौती २४ घण्टा पुग्न नपाउँदै पूरा भएको छ । उनले मुख्यमन्त्री जमकट्टेलको भान्जा हुँ भनेका थिए । नभन्दै प्रहरीले उनलाई २४ घण्टा नहुँदै केही नगरी छाडेको छ ।
स्रोतका अनुसार प्रहरीमाथि आक्रमण गर्ने युवा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको मितेरी साइनो रहेको बुझिएको छ । उनलाई नियन्त्रममा लिएदेखि छोड्नको लागि प्रहरीलाई चौतर्फी दवाब आएको थियो ।
यसरी यो घटनाले राजनीतिक आड र शक्ति चल्नेको जे पनि चल्छ भन्ने गतिलो उदाहरण छर्लङ्ग बनाएको छ ।
ड्युटीमा खटिएका प्रहरीमाथि नै आक्रमण हुँदासमेत प्रहरी प्रशासन निरीह बनेको छ । यस घटनाले राजनीतिक शक्ति पुगे जे पनि हुने रहेछ भन्ने आम नागरिकमा नराम्रो छाप पारेको छ ।
प्रहरी प्रशासनको तल्लो दर्जाका कर्मचारीको मनोबल भने गिराएको छ ।