arrow

मधेसमा कोर्स करेक्सन गर्ने बाटोमा कांग्रेस, उपेन्द्रलाई रातो बत्ती 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
upendra-yadav-jasapa.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपतिको निर्वाचन सकिएपछि अब उपराष्ट्रपतिको चर्चा शुरु भएको छ । उपराष्ट्रपतिको निर्वाचन यही चैत ३ गते हुँदैछ । त्यसका लागि उम्मेदवार खडा गर्ने क्रम शुरु भएको छ । 

नौ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार बन्दै नेकपा एमालेका उम्मेदवार उपाध्यक्ष एवं सांसद सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतभारले पराजित गरेका छन् । 

पुस १० को सहमति अनुसार प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बन्ने अनि राष्ट्रपति र सभामुख एमालेलाई दिने भनिएको थियो । 

सभामुखमा एमालेबाट देवराज घिमिरे बनिसकेका छन् । तर राष्ट्रपति पनि एमालेलाई दिँदा कतै फेरि ‘कू’ हुने हो कि भन्ने आशंका गर्दै प्रचण्डले राष्ट्रिय सहमतिबाट राष्ट्रपति बनाउने लबिङ गर्दै हिँडे । 

एकातिर नेपाली कांग्रेसलाई धोका दिएर एमालेसँग मिलेर गठबन्धन गरी सरकार बनाएका प्रचण्डलाई कांग्रेसले नै विश्वासको मत दिएपछि प्रचण्डले कोर्स करेक्सन गर्ने भन्दै हिँडे । त्यही कोर्स करेक्सन अन्तर्गत गत फागुन १२ गते आठ दलीय गठबन्धन बन्यो र त्यसको परिणाम कांग्रेसले राष्ट्रपति पायो । 

अब पालो उपराष्ट्रपतिको आएको छ । जसमा जनता समाजवादी पार्टी (जसपा) ले आठ दलीय सहमति अनुसार आफ्नो दलले उपराष्ट्रपति पाउने भनेर बाहिर ल्यायो । यद्यपि उपराष्ट्रपति जसपालाई नै दिने सहमति भएको विषय भने अन्य दलले बाहिर ल्याएका थिएनन् । 

बिहीबार जसपाले निर्णय गर्दै बारा २ बाट निर्वाचित जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने सार्वजनिक गर्यो । 

योसँगै निर्वाचन आयोगले उपराष्ट्रपतिमा फरक समुदाय र महिलालाई बनाउन जोड गरेको प्रेस विज्ञप्ति जारी गर्यो । आयोगका अनुसार शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उपराष्ट्रपतिको मनोनयन दर्ता गर्नुपर्नेछ । 

तर अहिलेसम्म उम्मेदवारको टुंगो लागेको छैन । महिला पनि चाहिने भनेपछि बिहीबार साँझदेखि जसपा तनावमा छ भने शुक्रबार बिहानदेखि एकाएक नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको नाम चर्चामा आएको छ । 

उनी महिला पनि भएको र फरक समुदायको पनि भएको नाताले उपयुक्त पात्र भएको राजनीतिक वृत्तमा चर्चामा छ । 

एकाएक उनको नाम जसपाका नेताको नामसँगै कसरी आयो भन्ने चर्चा यद्यपि छ । तर उनको नाम आइहालेको भए पनि उनी उमेर हदका कारण उम्मेदवार बन्न सक्दिनन् । 

राष्ट्रपति वा उपराष्ट्रति बन्नका लागि ४५ वर्ष उमेर पुगेको हुनुपर्छ । निर्वाचन आयोगका अनुसार उनको उमेर ३९ वर्ष हो । 

मधेसमा कांग्रेसको कोर्स करेक्सन 
जसपाले जसरी उपराष्ट्रपतिमा दाबी गरेको छ त्यो दाबी गलत सावित गर्दै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भने जसपालाई उपराष्ट्रपति दिने भनेर सहमति नगरेको बताएका छन् । 

उनले गठबन्धनले जसपालाई उपराष्ट्रपति दिने सहमति नगरेको दाबी गरेका हुन् । यसलाई जसपालाई उम्मेदवारी दिनेबारे कांग्रेसको कोर्स करेक्सन पनि भनेर बुझ्न थालिएको छ । 

राजनीतिक विश्लेषकहरु जसरी प्रचण्डले एमालेलाई राष्ट्रपति दिनुहुन्न भनेर कोर्स करेक्सन गरे त्यसरी नै अहिले सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि कोर्स करेक्सन गरेको भन्न रुचाउँछन् । 

यसरी हेर्दा गठबन्धनमा तिक्तता आउन खोजेको देखिए पनि कोर्स करेक्सनको विषय केन्द्रमा देखिएर नपुग्ने प्रदेशमा पनि पुग्नुपर्ने भनेर कांग्रेसका मधेस प्रदेशका नेताहरु भन्दै आएका छन् । 

केन्द्रमा एमालेको बहिगर्मनपछि मधेसमा पनि कांग्रेसले कोर्स करेक्सन गर्न खोजेको बुझिन्छ । पाँच दलीय गठबन्धन छाडेर जसरी जसपा अध्यक्ष उपेन्द्र यादव एमालेतिर गएका थिए त्यसरी नै अहिले पनि जसपालाई उपराष्ट्रपति दिएमा कोर्स करेक्सन नहुने कांग्रेसको मत रहँदै आएको छ । कांग्रेसको अनिच्छा खड्कामार्फत सतहमा आएको हो । 

उपेन्द्रले सप्तरीमा हारेपछि बारा २ छानेका छन् । रामसहायलाई उपराष्ट्रपति बनाएर उनी उम्मेदवार बनेर गठबन्धनको बलमा जितेर सरकारमा आउन चाहिरहेका छन् ।

संसदीय दलको नेता हुँदा हुँदै रामसहायलाई उपराष्ट्रपति बनाउन खोज्दा मधेस प्रदेशका कांग्रेसका समितिहरु यसको विरुद्धमा रहेको पाइएको छ ।

कांग्रेस विस्तार गर्दा मधेसमा अवरोधक बन्दै आएका उपेन्द्रलाई फेरि किन कांग्रेसले स्थापित गर्ने भनेर विरोध भइरहेको छ । 

उपेन्द्रले आफ्नो गठबन्धनलाई छाडेर हिँडेको र मंसिर ४ को निर्वाचनपछि पनि एमालेसँगै मिलेर मधेस प्रदेशमा सरकार गठन गरेकाले किन जसपालाई उपराष्ट्रपति दिने भनेर कांग्रेसले कोर्स करेक्सन गर्न खोजिरहेको छ । 

कांग्रेसका एक पदाधिकारीका अनुसार कांग्रेसले प्रदेशमा चार वटासम्म सरकारको नेतृत्व गर्ने अवस्था छ । यो अवस्थालाई बेवास्ता गर्दैै मधेसमा किन अरुलाई छाड्ने भनेर मधेसका नेताहरु केन्द्रसँग आक्रोशित छन् । 

उनीहरु मधेसमा कांग्रेसलाई विस्तार हुन नदिने नै उपेन्द्र यादव भएकाले अब पनि धोका दिएको मान्छेलाई किन कांग्रेसले नै बोक्ने भनेर चर्को विरोध भइरहेको छ । 

यदि कांग्रेस मधेसमा कोर्स करेक्सनको बाटोमा छ भने उपेन्द्रलाई हरियो हैन रातो बत्ती नै बाल्नुपर्नेमा मधेसका नेताहरु एकजुट भएका छन् । 

कांग्रेसका मधेसका आक्रोशित नेताहरु त जसरी उपेन्द्रले मंसिर ४ को निर्वाचनका लागि मनोनयनको अघिल्लो दिनमात्र एमालेसँग सहकार्य गरेका थिए त्यसरी नै उपराष्ट्रपतिको निर्वाचनमा पनि एमालेसँग सहकार्य गर्न सक्ने दाबी गरेका छन् । मधेसबाट प्रतिनिधित्व गरेर आएका एक केन्द्रीय सदस्य भन्छन्, ‘यदि मधेसमा कांग्रेस विस्तार गर्ने हो भने उपेन्द्रलाई बोक्नु गलत छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ