arrow

देउवा निवास तनावमा, मन्त्री छान्न सकस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १२ आइतबार
congress-leaders-mps.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार साँझसम्म जसरी पनि मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन् । तर गठबन्धनले अहिलेसम्म कुन दलले कति मन्त्रालय पाउने भन्ने यकिन छैन । त्यतिमात्र हैन कुन दललाई कुन मन्त्रालय दिने भन्नेसमेत टुङ्गो लागेको छैन । 

प्रधानमन्त्री प्रचण्डले भने गठबन्धनको बैठकबाट यसको टुङ्गो लगाउने ब्रिफिङ पार्टी सचिवालयको बैठकमा गरेका थिए । पहिले पार्टीले पाउने संख्या र त्यसपछि मन्त्रालयको टुङ्गो लगाउनका लागि गठबन्धनमा सकस भइरहेको छ । 

नेताहरु भने अझैसम्म गठबन्धन बैठकमा मन्त्रालयको संख्या र मन्त्रालयको टुंगो लगाउनेबारेमा कुनै छलफल नभएको बताउँदै आएका छन् । सबै पार्टीमा सरकारमा जाने आकांक्षीहरु धेरै रहेका छन् । पार्टीभित्रै भागबण्डा मिलाउन कठिन भइरहेको छ । 

धुम्बाराहीमा भीड  
गत साताको आइतबारमात्रै कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरेको थियो । सोमबार चैत ६ गते प्रचण्डले विश्वासको मत लिए । 

उनले चैत १० गतेभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेका थिए । उनले दिएको समय घर्किसकेको छ । सोमबारसम्म भने उनले मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेपछि कांग्रेसभित्र पनि आन्तरिक रस्साकस्सी चलेको छ । 

यतिबेला सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा नेताहरुको भीड लाग्दै आएको छ । कहिले समूहमा त कहिले एक्लै भए पनि आकांक्षीले धुम्बाहारीमा हाजिरी दिँदै आएका छन् ।  

कांग्रेसले सरकारमा जानका लागि मन्त्री चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलत दृष्टिगत गरेर चयन गर्ने निर्णय गरेको छ । 

अहिलेसम्म कांग्रेसले कतिवटा मन्त्रालय पाउने र के के मन्त्रालय पाउने भन्ने पनि टुंगो भएको छैन । र पनि कांग्रेसले बनाएको खाकाअनुसार उसले आठ वटा मन्त्रालय पाउने छ । 

सोही अनुसार नेताहरु शक्तिकेन्द्रमा धाइरहेका छन् । शेरबहादुर देउवाले भने कसैलाई आश्वासन दिएका छन् कसैलाई ‘तिम्रो पालो आएको छैन’ भन्दै सम्झाउँदै आएका छन् ।

अन्तिम घडी आइसक्दासमेत कसको नेतृत्वमा कांग्रेस सरकारमा जान्छ भन्ने यकिन छैन । तर उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने लगभग तय भइसकेको धुम्बाराही निकट स्रोत बताउँछ । 

कुनै समय प्रवक्ता एवं केन्द्रीय सदस्य डा. प्रकाशशरण महतको नेतृत्वमा कांग्रेस सरकारमा जाने भन्ने चर्चा चलाइएको थियो । त्यतिमात्र हैन यसपालि त आफूहरुको अन्तिम पटक भएको भन्दै विमलेन्द्र निधी, प्रकाशमान सिंहले पनि नेतृत्व गरेरै जान चाहेको चर्चा चल्यो । 

धुम्बाराही स्रोत भने यी सबै हल्लाहरु भएको दाबी गर्छ । पुस १० को अवस्था र अहिलेको अवस्थामा कांग्रेसभित्र निकै उतारचढाव आएको ठोकुवा गर्दै स्रोत भन्छ – अहिले सभापतिले फरक ढंगले हेर्नुभएको छ ।’

देउवाले हेरेको फरक भनेको पछिल्लो गठबन्धनसँग सहकार्य गर्न जसरी देउवाले उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापालाई सक्रिय बनाएका थिए त्यसरी नै सरकारमा सहभागी हुनेहरुको नाम पनि सोही अनुसार बनाउँदै छन् । 

अहिले खड्का हावी देखिएका छन् । उनलाई देउवा पत्नी सांसद एवं केन्द्रीय सदस्य आरजू राणा देउवाले सघाइरहेकी छिन् । 

इतर पक्षले बुझाइसक्यो नाम
संस्थापन इतर पक्षले आधा आधा भाग खोजिरहेको छ । उसले मन्त्री बनाउनका लागि नामसमेत देउवासमक्ष पेश गरिसकेको छ । 

जसमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरु बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल र डिगबहादुर लिम्बू रहेका छन् । 

तर व्यक्तिगत रुपमा नेताहरुले आफ्नो नाम टिपाउने क्रम पनि रहेको छ । त्यसो त यो समूहभित्रबाट डा. सुनील शर्मा र राजेन्द्र बजगाईको नाम पनि चर्चामा रहेको स्रोत बताउँछ । 

स्रोत भन्छ, ‘केही नाम समूहबाट आएका छन्, केही नाम व्यक्तिगत तबरबाट पनि आएका छन् ।’

यो समूहबाट डा. शेखर कोइराला, महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मन्त्री नबन्ने बताइसकेका छन् । 

गगनले पहिले नै भनिसकेका छन् कि अहिले आर्थिक क्रान्ति गर्नका लागि दैनिक १८ घण्टा खटिने युवा नै मन्त्री बन्नुपर्छ । 

उनले दोहोरिने भन्दा नयाँलाई अवसर दिने हो भने खटिने सम्भावना बढी हुने पनि बताइरहेका छन् । 

संस्थापन पक्षमा पनि प्रतिस्पर्धा

संस्थापन पक्षबाट खड्काले नेतृत्व गरेर जाँदा आरजू पनि परराष्ट्र मन्त्रालय सम्हालेर जान आतुर छिन् । परराष्ट्र मन्त्रालयमा त उनी आउने चर्चासमेत चुलिएको छ । 

यद्यपि खड्का भने अझै पनि आफू मन्त्री नबन्ने अडानमै रहेको भने बताइरहेका छन् । उनले प्रतिनिधि सभाको आइतबारको बैठकपछि संचारकर्मीसँग आफू पुरानै अडानमा कायम रहेको बताएका छन् । 

संस्थापनबाट प्रकाशशरण महत, प्रकाशमान सिंह, रमेश लेखक, मोहन बस्नेत, उदयशमशेर राणा, एनपी साउद, किशोर सिंह राठोर, मोहन आचार्य, सीता गृुरुङलगायत सम्भावित रहेका छन् । 

त्यसबाहेक व्यक्तिगत तबरबाट पनि दबाब दिने क्रम चलिरहेको छ । सोही कारण धुम्बाराही तनावमा रहेको छ । एकातिर आफ्ना विश्वासी छुटाउनु हुन्न भन्नेमा देउवा सचेत छन् भने अर्कातर्फ विवादमा रहेर निर्णय गर्नु हुन्न भन्नेमा पनि होसियार बनेका छन् ।  

मन्त्रिपरिषदमा २१ मध्ये ५ जनामात्रै मन्त्री छन् । १६ मन्त्रालयको भारी बोकेर प्रचण्ड अगाडि हिँडिरहेका छन् । 

कांग्रेसले आफूले आठ मन्त्रालय खोजिरहेको छ । तर प्रचण्ड सचिवालय स्रोतका अनुसार कांग्रेसलाई सात मन्त्रालय दिने तयारी रहेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई भाग पुर्याउनका लागि भन्दै कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीका एक एक मन्त्रालय घटाउने योजनामा प्रचण्ड रहेका छन् । 

यदि त्यस्तो भयो भने कांग्रेसले सात तथा नेकपा एसले दुई वटा मन्त्रालयमात्र पाउने छ । जसपा र लोसपा, उन्मुक्ति, जनमत पनि रहेका छन् । 

भागबण्डाको लफडा तत्काल सकिने सम्भावना नभए पनि सोमबार प्रचण्डले जसरी पनि मन्त्रिपरिषद् विस्तार गरिछाड्ने योजना बनाएका छन् । 

त्यसो त उनी स्वयं आफ्नो पार्टीबाटै थप कसलाई मन्त्री बनाउने भन्ने सोच्न सकिरहेका छैनन् । 

नारायणकाजी श्रेष्ठले अहिले खाइरहेको मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा गर्ने योजना बुनिएअनुसार श्रेष्ठले आइतबार गर्ने भनिएको पत्रकार सम्मेलनसमेत स्थगित गरिएको छ । माओवादीभित्रको आन्तरिक किचलोसमेत चर्किएको यसले नै बुझाउँछ । 

माओवादीले गृह लिँदा जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरुले मन्त्रालय ताकेर बसिरहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ