- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । कोशी प्रदेश अन्तरगत झापाको दमकमा निर्माण भएको प्रादेशिक बाल अस्पताल हिजो आइतबारबाट सञ्चालनमा आएको छ । अस्पताल सञ्चालनको अवसर पारेर तीन दिनसम्म नि:शुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिने अस्पताल व्यवस्थापन समितिले जानकारी दिएको छ ।
हिजो आइतबार देखि मंगलबारसम्म तीनदिन स्वास्थ्य शिविर सञ्चालनको कार्यक्रम सहित बाल अस्पतालको उद्घाटन गरिएको अस्पताल व्यवस्थापन समिति संयोजक डा. नवीन ढकालले जानकारी दिएका छन् ।
अस्पताल शुभारम्भको अवसरमा तीन दिनसम्म नि:शुल्क बाल स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै मुटु रोग सम्बन्धी परामर्श र सेवा प्रदान गरिने उनले जानकारी दिए । स्वास्थ्य शिविर सँगै अस्पतालको ओपिडी सेवा समेत शुरुगरिने उनले बताए ।
त्यसै गरी बृहत् स्वास्थ्य शिविर गर्दै आम नागरिकहरूलाई अस्पताल र यसका सेवाहरूको बारेमा जानकारी गराइने अस्पतालका मेडिकल सुपरिडेण्डेण्ट डा. जयमणि श्रेष्ठले जानकारी दिए । स्वास्थ्य शिविरमा प्रा.डा. भगवान् कोइराला, प्रा.डा. रत्नमणि गजुरेल, प्रा.डा सङ्गीता बस्नेत, प्रा.डा.देवेन्द्र श्रेष्ठ, डा. जगत् घिमिरे, डा. अनिल भण्डारी, डा. सुचारिता तुलाधर, डा.समीर शाक्य लगायत विशेषज्ञ डाक्टरहरूको टिमले सेवा दिने जनाइएको छ ।
दमक ७ स्थित नेपाल रेडक्रस सोसाइटी उप-शाखा दमकको भवनमा निर्माण भएको विशेषज्ञ सेवासहितको प्रादेशिक बाल अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले सञ्चालन गर्न लागेको हो । चाईल्ड हेल्थका अध्यक्ष प्राध्यापक डा. भगवान् कोइरालाको टिमले सञ्चालन गर्ने अस्पतालको लागी रेडक्रसको चार तलाको भवनमा आकस्मिक सेवा, सघन उपचारलगायत बालबालिकाका सबै किसिमका रोगका उपचार गर्ने गरी संरचना निर्माण गरिएको रेडक्रस दमक उपशाखाले जनाएको छ ।
अस्पताल सञ्चालनमा आए कोशी प्रदेशका बासिन्दाहरू प्रत्यक्ष लाभान्वित हुने भएकाले रेडक्रसका संरचना निःशुल्क र निः सर्त ३० वर्षलाई प्रयोग गर्न दिने निर्णय गरेको दमक रेडक्रसले जनाएको छ ।