arrow

कोरोना संक्रमित अधिकांश उपत्यकाकै, छैन सावधानी, लगाउँदैनन् खोप

logo
सोम,
प्रकाशित २०७९ चैत २९ बुधबार
ministry-of-health-1618304803.jpeg
तस्बिर – फाइल ।


काठमाडौं । नेपालमा कोरोना भाइरस तीव्र गतिमा सल्किरहेको छ । तर जसरी कोरोना फैलिरहेको छ त्यसरी सावधानी भने कमैमात्र अपनाइएको छ । 

मंगलबार १०६ संक्रमित थपिएका छन् । यो संख्या सोमबार १२४ रहेको थियो । यो वर्षकै सबैभन्दा बढी संक्रमित यिनै दुई दिन संक्रमित बढेका छन् । 

यो क्रम अझै बढ्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । छिमेकी देश भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ नेपालमा पनि ब्यापक रुपमा देखिएसँगै मन्त्रालयले केही समय कोरोना तीव्र गतिमा फैलने मन्त्रालयको दाबी रहेको हो । 

मन्त्रालयले मंगलबार एक जनाको मृत्यु भएको जनाएको छ । यसअघि गत पुसको अन्तिमतिर कोरोनाबाट एक जनाको ज्यान गएको थियो । 

मंगलबार १०६ संक्रमित थपिएका छन् । जसमा ४७६ पीसीआर परीक्षणबाट ७४ तथा १ हजार ९६० एन्टिजेन परीक्षणबाट ३२ संक्रमित पाइएका हुन् । 

पीसीआर परीक्षणको १५.५५ प्रतिशत संक्रमित पाइएका हुन् । जम्मा ४८ जना संक्रमणमुक्त भएका छन् । 

काठमाडौं उपत्यकामा संक्रमित भएकामध्ये २४ जना संस्थागत आइसोलेसनमा, १३ जना आईसीयूमा तथा ५ जना भेन्टिलेटरमा रहेका छन् । पीसीआरका सक्रिय संक्रमितको संख्या ४६९ पुगिसकेको छ । 

उपत्यका बाहिरको तथ्यांक भने मन्त्रालयले सार्वजनिक गर्ने गरेको छैन । तर सुदूरपश्चिमका जिल्लाहरुसँगै सीमा जोडिएका रुपन्देही लगायतमासमेत कोरोना तीव्र गतिमा फैलिएको बताइन्छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले उपत्यका बाहिर खासै संक्रमित नभएको र गम्भीर प्रकृतिका पनि नभएकाले तथ्यांक समावेश नगरिएको बताएका छन् । 

खुला सीमाका कारण भारतबाट आउनेहरुले कोरोना तीव्र रुपले फैलाएको आइरहेको छ । 

यसपालि कोरोना बढ्नुका कारण
त्यतिबेला कोरोना खासै बढेको नभए पनि यसपालि भने उग्र रुप लिने देखिएको छ । 

खुला सीमाका कारण पनि कोरोना फैलिइरहेको छ । अहिलेको नयाँ भेरियन्ट झनै तीव्र गतिमा फैलिरहेको छ । भारतमा पनि त्यही अनुपातमा कोरोना फैलिएको छ । 

अर्कातर्फ आजकल कोरोना प्रोटोकलमा बस्नेहरु कम भएका छन् । खुला ठाउँमा पनि बिना मास्क नै मानिसहरु हिँडिरहेका छन् । 

त्यतिमात्र हैन रुखा खोकी पनि खुलेआम नै गरिरहेका छन् । मुख छोपेर रुघा खोकी गर्नेहरु बिल्कुलै छैनन् । ‘म’ भन्ने मानसिकता बाहेक अरु केही पनि देखिएको छैन । 

प्रशासनले कडाइ नगरेसम्म यो अवस्थामा सुधार हुने देखिएको छैन । यतिसम्म कि अस्पतालमा स्वास्थ्यकर्मीले पनि बेपर्बाह भएर काम गरिरहेका छन् । 

खोप असहजता र इच्छाशक्ति
अहिले खोप लगाउनेहरु कम छन् । त्यतिमात्र हैन खोपको व्यापकता पनि कम छ । खोप जता पनि पाइँदैन । 

सहप्रवक्ता डा. अधिकारीले अहिलेको खोप फाइजर निकै नै कम तापक्रममा राख्नुपर्ने भएकाले स्थानीय तहमा व्यवस्थापन गर्न कठिन हुने बताए । 

उनले खोपको एक्सपायरी मिति हेरेरै लगाउने गरिएकोसमेत बताएका छन् । अहिले उपत्यका बाहिर खोप पुर्याउन कठिन भइरहेको छ । 

उपत्यकाभित्र पनि पर्याप्तमात्रामा खोप लगाउने अवस्था छैन । मन्त्रालयले टेकु अस्पताल, वीर अस्पताल, सिभिल अस्पतालसँगै विभागीय अस्पतालहरुमा खोप लगाइरहेको प्रचार गरे पनि सिभिलसहितका अस्पतालमा खोप छैन । 

डा. अधिकारीले टेकु र वीरमा मात्रै खोप लगाइरहेको बताएका छन् । उनले काठमाडौं र ललितपुर महानगरपालिकाले भने आवश्यकताअनुसारको खोप लगाइसकेको दाबी गरेका छन् । 

जबकि काठमाडौं महानगरको वडा १० मा मात्र खोप उपलब्ध छ । अन्य वडामा सोध्दा खोप आएर पनि सकिएको बताएका छन् । तर खोप लगाउने मानिसहरु भने बाँकी नै छन् । 

वीरमा दैनिक २५० देखि ३०० को संख्यामा मात्र खोप लगाउने गरिएको खोप संयोजक महादेव पन्तले बताएका छन् । 

अहिले पहिलो पटक खोप लगाउनेलाई भेरोसेल र बुस्टर डोज लगाउनेलाई फाइजर रहेको छ । पहिलो र दोस्रो खोप लगाएको तीन महिनापछि बुस्टर जोड लगाउन मिल्छ भने चौथो पटक खोप लगाउनलाई बुस्टर डोज लगाएको छ महिना पुग्नुपर्छ । 

डा. अधिकारीले ५५ वर्षमाथिका र गम्भीर प्रकृृतिका बिरामीले चौथो डोज लगाएको बताएका छन् । तर खोप लगाउने संख्यामै कमी आउँदा जुन उमेरको जाँदा पनि खोप लगाउनबाट बञ्चित गरिएको भने पाइएको छैन । 

सरकार कहिले बन्छ गम्भीर 
सरकार भने गम्भीर बनेको पाइएको छैन । राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म कसैले पनि मास्क लगाएको पाइँदैन । 

भीडभाड बढिरहेको छ । राजनीतिक गतिविधि बढेका छन् । आमसभाहरु बढेका छन् । कहीँ कसैले पनि कोरोना प्रोटोकल अपनाएको पाइँदैन । 

जब माथिबाट नै यसको पालना हुँदैन भने तल भन्ने कुनै ठाउँ छैन । 

कम्तीमा मास्क अनिवार्य गर्नेमात्र हो भने पनि कोरोनाको फैलावटलाई कम गर्न सकिने थियो । 

विद्यालयहरु अहिले प्रायः बन्द छन् । नयाँ शैक्षिक सत्र हुँदै गर्दा कोरोना पनि बढ्दो क्रममा छ । 

यदि सरकार तथा स्थानीय तहले गम्भीरपूर्वक लिएर कोरोनाको संक्रमण कम गर्ने कदम चालिएन भने केही दिनमै यो यसरी बढ्ने छ कि वाध्य भएर विद्यालयको नयाँ सिजन फेरि घरबाटै चलाउनु पर्ने हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ