arrow

जरुरी सही निदानको 

घुँडाको जोर्नीको चोटको सही पहिचान र उपचार

सामान्य ठानिएको चोट गम्भीर प्रकृतिको लिगामेन्टको चोट पनि हुनसक्छ, समयमै पहिचान गरी उपचार नभए दीर्घकालमा घुँडा छिट्टै खिइएर बिग्रन सक्ने हुन्छ

logo
डा कपिलमणि केसी, 
प्रकाशित २०८१ असोज १९ शनिबार
kapilmani-kc-81-6-19.jpg

हामीहरुमध्ये धेरै जनालाई घुँडामा चोट लागेको हुनसक्छ । घुँडामा लाग्ने चोट विभिन्न प्रकारका हुन सक्छन् । पहिलो प्रकारको इन्जुरीमा घुँडाको हड्डी भाँचिन्छ जसमा बिरामीहरुको घुँडा सुन्निने, बाङ्गो देखिने हुन्छ र उनीहरुले कत्ति पनि खुट्टाले टेक्न सक्दैनन् । 

यस्तो प्रकारको इन्जुरीमा एक्सरे गर्दा हड्डी भाँच्चिएको देखिन्छ र उपचार तुरुन्त शुरू गर्न सकिन्छ । दोस्रो प्रकारको इन्जुरीमा घुँडाको बाहिरी भागमा चोट लाग्दछ जसमा घुँडा थोरै सुन्निन्छ । एक्सरे गर्दा केही देखिँदैन । 

एक हप्तादेखि दुई हप्तासम्म अलि अलि दुख्न सक्छ । यसले भविष्यमा केही खतरा निम्त्याउँदैन । तेस्रो प्रकारको इन्जुरी सामान्यतया फुटबल, भलिबल खेल्दा, दौडिँदा हुन्छ जसमा बिरामी लड्दा घुँडाको जोर्नी बटारिने (टुइस्टिङ्ग इन्जुरी) हुन्छ । 

यस्तो प्रकारको चोटमा घुँडाको लिगामेन्ट वा झिल्ली (मेनिस्कस) च्यातिन सक्छ जुन कुरा एक्सरेमा देखिँदैन । एक्सरेमा नदेखिएपछि बिरामीहरुले आफूलाई केही भएको छैन भनेर लामो समयसम्म उपचार गराउन आनाकानी गर्दछन् । 

यसले गर्दा कालान्तरमा घुँडाको जोर्नी बिग्रिन सक्ने हुन्छ । विशेष गरी देशको दुर्गम भाग जहाँ हाडजोर्नी विषयको स्पेशल सेवा उपलब्ध हुँदैन त्यस्तो भेगमा बिरामीहरुलाई घुँडाको लिगामेन्ट वा झिल्ली च्यातिएको समयमै थाहा नहुन सक्छ । 

यद्यपि देशका विकसित शहरहरुमा पनि यदि चिकित्सकलाई कस्तो अवस्थामा घुँडाको लिगामेन्ट वा झिल्ली च्यातिन्छ भन्ने अनुभव भएन भने बिरामीको समस्या समयमै पहिचान नहुन सक्छ ।

घुँडामा मुख्यतः कोल्याटरल र क्रुसिएट गरी दुई प्रकारका लिगामेन्ट हुन्छन् । सैद्धान्तिक रूपले अरु धेरै लिगामेन्ट पनि हुन्छन् जुन कुरा अहिले ब्याख्या गर्न सम्भव छैन । कोल्याटरल लिगामेन्ट घुँडाको दुवै साइडमा हुन्छन् जसलाई मेडिएल र ल्याटरल कोल्याटरल लिगामेन्ट भनिन्छ । 

घुँडाको बीचमा भएका लिगामेन्टलाई क्रुसिएट लिगामेन्ट भनिन्छ । क्रुसिएट लिगामेन्ट पनि दुई प्रकारका हुन्छन् । घुँडाको अगाडिको भागलाई एन्टेरिअर र पछाडिको भागको लिगामेन्टलाई पोस्टेरिअर क्रुसिएट लिगामेन्ट भनिन्छ । 

त्यसैगरी झिल्ली वा मेनिस्कस पनि दुई प्रकारका हुन्छन् – मेडिअल र ल्याटरल मेनिस्कस । लिगामेन्ट र झिल्ली च्यातिएको सजिलैसँग पहिचान नहुने,  इन्जुरी भैसकेको घुँडाले दैनिक जीवनमा आइपर्ने काम गर्न कठिन हुने र दीर्घकालीन रूपमा लिगामेन्ट च्यातिएको घुँडा बिग्रिने सम्भावना ज्यादा हुने भएकाले घुँडाको लिगामेन्ट र झिल्ली च्यातिएको बारेमा केही तथ्यहरू थाहा पाउनु उपयुक्त हुन्छ ।   

एक्सरे गर्दा लिगामेन्ट र झिल्ली च्यातिएको नदेखिए पनि घुँडाको जाँच गरेर हेर्दा लिगामेन्ट र झिल्ली च्यातिएका धेरै प्रमाणहरू भेटिन्छन् । लिगामेन्ट च्यातिएको अवस्थामा घुँडामा रगत जमेको हुनसक्छ जुन कुरा छामेर सजिलै पत्ता लगाउन सकिन्छ । 

लिगामेन्टको प्रकृति अनुसार घुँडा चलाउँदा घुँडाको असाधारण मुभमेन्ट वा चाल हुन सक्छ । यसको आधारमा कुन लिगामेन्ट च्यातिएको छ भनेर अनुमान लगाउन कठिन हुँदैन । 

यसैगरी मेनिस्कस च्यातिएको अवस्थामा पनि घुँडामा रगत जम्न सक्छ तर लिगामेन्ट च्यातिएको भन्दा कम जम्मा हुने हुन्छ । स्पेशल प्रकारका क्लिनिकल इक्जामिनेसन गरेर कुन लिगामेन्ट वा मेनिस्कस च्यातिएको हो भनेर सजिलै अनुमान लगाउन सकिन्छ । 

यद्यपि स्पस्ट किटान गरेर कुन लिगामेन्ट वा झिल्ली च्यातिएको हो भनेर भन्नका लागि एमआरआईको आवश्यक पर्दछ । एमआरआईको जाँचपछि मात्रै अपरेशन गर्ने कि नगर्ने भनेर निर्णय गर्न सजिलो हुन्छ ।  

एमआरआई जाँच खर्चिलो हुने भएकाले सबै केसमा यो जाँच गराउन तर्क संगत देखिँदैन । मसिनोसँग बिरामीको घुँडाको जाँच गरेपछि लिगामेन्ट वा झिल्ली च्यातिएको स्पस्ट प्रमाणहरू पाइएमा मात्र एमआरआईको जाँच गराउनु पर्दछ । 

धेरैजसो घुँडामा च्यातिने लिगामेन्ट चाहिँ एन्टेरिअर क्रुसिएट लिगामेन्ट हो । यद्यपि विभिन्न लिगामेन्ट र झिल्ली एकै पटक च्यातिएको अवस्था पनि धेरै बिरामीहरूमा हुनसक्छ ।

लिगामेन्टको प्रकार, बिरामीहरुको उमेर, चोट लाग्नु पहिले बिरामीहरुको काम गर्ने अवस्था, उनीहरुको पेशाको आधारमा लिगामेन्टको अपरेशन गर्ने कि नगर्ने भनेर निर्णय गर्नु पर्दछ । 

धेरै बिरामीहरु जसको घुँडाको लिगामेन्ट फाटेको छ उनीहरु अपरेशन गराउन आनकानी गरिरहेका हुन्छन् वा अपरेशन गराइहाले पनि ढिलो गराउँदछन् । अपरेशन गराउनु पर्ने मापदण्ड पुगेका बिरामीहरुले अपरेशन ढिला गराउनु हुँदैन । होइन भने घुँडाको कुरकुरे हड्डी छिटो बिग्रिन्छ । 

लिगामेन्ट वा मेनिस्कसको अपरेशन हिजोआज दूरबिनको माध्यम द्वारा सानो प्वाल पारेर गरिन्छ । यसबाट बिरामीको रिकभरी छिटो हुनुका साथै अपरेशनको परिणाम राम्रो आउँदछ । मेनिस्कस च्यातिएको अवस्थामा सम्भव भएसम्म मेनिस्कसलाई जोड्नु राम्रो हुन्छ होइन भने दीर्घकालीन रूपमा घुँडा छिटो बिग्रिन सक्छ । 

त्यसकारण लिगामेन्ट वा झिल्ली (मेनिस्कस) च्यातिएको अवस्था एक्सरेमा नदेखिए पनि समयमै पहिचान गरेर आवश्यक परेको खण्डमा दूरबिनको माध्यमबाट अपरेशन गरी दीर्घकालीन रूपमा घुँडाको जोर्नीलाई बिग्रिनबाट बचाउन सकिन्छ । (बेलायतबाट एफआरसीएस उपाधि प्राप्त अर्थोपेडिक सर्जन डा केसी देवदह मेडिकल कलेजका सहप्राध्यापक हुन्, उनी बुटवलस्थित मर्सी सिटी अस्पतालमा आवद्ध छन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ