arrow

सन्दर्भ उपनिर्वाचनः विदेशका मन र स्वदेशका मत

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०८० वैशाख १६ शनिबार
rajendra-panthi-article-63.jpg

बैशाख १० गते सम्पन्न उपनिर्वाचनको नतिजा सार्वजनिक भएको छ । यसपालिको यो उपनिर्वाचनलाई मूलधारका दलले महानिर्वाचन जस्तै बनाए । उपनिर्वाचनको नतिजा आउँदा ठूला पार्टीमा ठूलै भूकम्प गएको देखियो । उनीहरूले शर्मनाक हार बेहोर्नु पर्यो । 

ती दलहरूलाई बारम्बार नेपाली जनताले सचेत गराउँदा गराउँदै पनि जनताको मन र मतको अपमान गर्दा आज यति ठूलो क्षति बेहोर्नु परेको हो । यो हार नेपाली कांग्रेसका उम्मेदवारद्धय गोविन्द भट्टराई र जीतनारायण श्रेष्ठ तथा एमालेका उम्मेदवारत्रय रामप्रसाद न्यौपाने, सर्वेन्द्र खनाल र पुरुषोत्तम पौडेलको हारमात्र होइन कांग्रेस र एमालेको नेतृत्व पंक्तिको हार, सजाय र चेतावनी हो । 

आज नेपाली कांग्रेस र नेकपा एमालेलाई कमजोर र निरीह बनाउने पार्टी नेतृत्व नै हो । यो निर्वाचनमा तनहुँ–१, चितवन–२ र बारा–२ बाट क्रमशः राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, रवि लामिछाने र जनता समाजवादी पार्टीका उपेन्द्र यादवले विजय हासिल गरेका छन् । 

यी निर्वाचन क्षेत्रमा चुनाव जित हार हुनुमा तत् तत् निर्वाचन क्षेत्रका मतदाताको प्रमुख भूमिका रहे पनि राष्ट्रिय राजनीतिको ठूलो प्रभाव परेको देखिन्छ । नेपाली कांग्रेस छोडी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका स्वर्णिम वाग्लेका विरुद्धमा नेपाली कांग्रेसले न्वारनदेखिको बल लगायो । सत्तागठबन्धनबाट प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरू हुल बाँधेर तीन वटै निर्वाचन क्षेत्रमा पुगे । 

मन्त्री पदहरू पनि बाँडिए । जनतालाई ध्वाँसो पनि देखाइयो । तर पनि नेपाली कांग्रेसलाई त्यहाँका मतदाताले नराम्ररी धुलो चटाइदिए । यस्तै चितवनमा आफ्नै नागरिकताका कारण पुनः चुनावी मैदानको प्रतिस्पर्धामा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि भारी मतान्तरसहित नयाँ रेकर्ड राखी चुनाव जिते । 

उनका विरुद्धमा पनि दश दलीय गठबन्धन र नेकपा एमाले सशक्त रुपमा उत्रिएको थियो । चितवनमा त निर्वाचन परिणाम हेर्दा कांग्रेस र एमालेको उपस्थिति थियोे जस्तो पनि देखिएन । वास्तवमा जनताको शक्ति र तागत कस्तो हुँदोरहेछ भनेर चितवनबासीले राम्रै सबक सिकाए जस्तो लाग्छ । 

उता बारामा भने जनमत पार्टी उपविजेता बने पनि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई आच्छुआच्छु भने पारेरै छाड्यो । सत्ता गठबन्धनको साथ पाएर मात्रै उपेन्द्र यादवले जिते । वर्तमान सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले भने गठबन्धलाई नै साथ दिएको नाम पारी यस निर्वाचनमा आफ्नो उम्मेदवार उठाउन आँट गरेन ।

यस निर्वाचनमा नेपाली राजनीतिमा मूलधारका पार्टी भनेर चिनिएका कांग्रेस र नेकपा एमालेले शर्मनाक हार बेहोर्नु परेको मूल कारण जनताप्रति गरिएको बेइमान,अपमान र नेतृत्वमा पैदा भएको घमण्ड,अहङ्कार र दम्भ नै हो।लोकतन्त्रमा पनि हरिको कसम खान लगाई प्रतिशोध र आक्रोशात्मक शैलीले जनतालाई थर्काई यिनीहरूलाई जे भने पनि हुन्छ र जसो गराए पनि हुन्छ भन्ने सामन्ती प्रवृत्तिले यो निर्वाचन परिणाम भोग्नु परेको हो।यस्तो अवस्थामा तिनीहरुलाई अझै पनि अहंकार र घमण्ड छ कि हामी बिना देश र सरकार कसैले चलाउन सक्दैनन् । 

यिनै शीर्ष नेताहरूको यही अहंकार र घमण्डले आज देशले यो दुर्गति बेहोर्नु परेको हो भन्ने कुरा नेपाली जनताले राम्रै बुझे अनि ती दललाई धुलो चटाइदिए।अझैपनि जनताले चटाएको यो धुलोलाई नस्विकारी घमण्ड र दम्भ देखाए भने अहिलेका मूलधारका दलहरू  इतिहासको पानामा सीमित हुनेछन् ।

नेपालमा प्रजातन्त्र पुनः बहाली भएको तेत्तीस  वर्षमा सत्ताको हालीमुहाली यिनै कांग्रेस, एमाले, माओवादीका हातमा बारम्बार दोहोरिइरहेको छ । यिनले देशलाई झन्पछि झन कंगाल बनाउँदै गएका छन् । राजनीतिलाई व्यवसाय बनाए । सत्तालाई बाँडीचुडी खाए । अझै पनि नेपाली जनतालाई भ्रममा पारी डगमगाउन खोज्दैनन् । यस्तो अवस्थामा पनि पार्टीभित्र रहेको युवा पुस्ता पनि हो मा हो मिलाएर निदाइरहेका छन् । 

पुस्तान्तरण र रुपान्तरणको मुद्दा लिइ देखा परेका केही युवाहरू पनि महको झिँगाजस्तै बनी बा, दाइ र भाउजूको फेरो समाइ अझैसम्म वरिपरि घुमेका छन् । मंसिर ४ को निर्वाचनमा केही झड्का पाउँदासमेत अझै तिनमा चेत खुलेको देखिएको छैन । निर्वाचन सम्पन्न भएको पाँच महिना लाग्दासमेत पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन । 

जनताको माग र आशालाई यी पुराना पार्टीहरूले सम्बोधन गर्ने कुनै लक्षण नै छैन । जनता अत्यन्तै निराश छन् । यिनीहरूको प्रतीक्षा गर्दागर्दै एउटा युग नै सकिन थाल्यो । यसकारण पनि नेपाली जनताले नयाँ वैकल्पिक पार्टीहरूलाई मत खसाल्नु परेको थियो । 

आज मूलधारका राजनीतिक दलभित्रका नेतृत्वमा बा, दाजु र भाउजूको प्रवृत्ति हावी हुँदा नेपाली जनताले नयाँ विकल्प रोज्नु परेको हो । अहिलेको मत हावाहुरीबाट आएको होइन । जनताले सचेत भएर वैकल्पिक पार्टीलाई दिएका हुन् । लोकतन्त्रमा जनता नै सर्वेसर्वा हुन् भन्ने कुरा यस निर्वाचनले राम्रै सिकाएको देखिन्छ । 

यी पार्टीहरूले आफ्नो सम्पूर्ण शक्ति नै प्रयोग गर्दा पनि नराम्ररी पछारिनुको कारण जनता सचेत हुनु नै हो । भर्खरै बनेको नयाँ राजनीतिक दललाई खिसीट्युरी गर्दै आकाशबाट भोट आएर जितिन्छ र ? भनेर लोप्पा खुवाउँदा साँच्चिकै आकाशबाट आएकै भोटको प्रभावले रवि लामिछाने र स्वर्णिम वाग्लेले अत्यधिक मतले विजय प्राप्त गरेका हुन् र जनमत पार्टी पनि उपविजेता भएको हो ।

नेपाली राजनीतिमा वैकल्पिक दलको रुपमा स्थापित हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनाव चिन्ह घण्टी लिएर चुनावी मैदानमा होमिएको थियोे । उसले यस उपनिर्वाचनमा चितवन र तनहुँमा अत्यधिक मतले विजय प्राप्त गर्यो भने बारामा जनमत पार्टी उपविजेता भयो । 

कांग्रेस–एमालेले रवि लामिछाने र स्वर्णिम वाग्लेले प्राप्त गरेको भोटलाई लोकप्रियता र हावाहुरीको भोट हो भनी आरोप लगाए पनि वास्तवमा यो भोट मूलधारका पार्टीको असक्षमता र बेइमानीको परिणामको भोट हो । यो विदेशमा बसी नेपालमा रेमिटान्स पठाउने नेपालीले आफ्ना परिवारलाई खसाल्न लगाएको भोट पनि हो । 

गरिबी, अभाव र बेरोजगारका कारण बाध्य भइ विदेश गएका नेपालीलाई नेपालको समृद्धि चाहिएको छ । उनीहरू जतिसक्दो छिटो आफ्नो देशमा फर्कन चाहन्छ्न् । नेपाल फर्कनको लागि सामान्य आधारभूत आवश्यकतादेखि भौतिक पूर्वाधार चाहिएका छन् । राजनीतिको धमिलो मूललाई राम्रोसँग सफा गर्नु पर्नेछ ।

त्यो मूल सफा गर्न गफ होइन सपना, भिजन, हुटहुटी र आत्मविश्वास सहितको नेतृत्व चाहिन्छ । पुराना दललाई पर्खदा पर्खदा प्रतीक्षाको घडी धेरै लामो भयो । अब कुनै संकेत नदेखिएकाले रविको दललाई विकल्प बनाइएको हो । विश्वका विभिन्न मुलुकमा पुगेका नेपालीहरूले विकास के हो भन्ने राम्रै देखेका र भोगेका छन् । 

विदेशमा बसेर यी परम्परित, पुराना र मूलधारका दललाई बारम्बार सचेत गराउँदा पनि नसच्चिएपछि आफू देशबाहिर भए पनि आफ्नो घरका परिवारलाई नयाँ वैकल्पिक दलमा मतदान गर्न लगाइएको हो ।

नेपालको जनसंख्याको करिब एकतिहाई नेपाली मन र तन विदेशमा छन् र तिनैले पठाएको रेमिटान्स नै नेपालको वार्षिक बजेटको एक तिहाई अंश रहेको हुन्छ । ती विदेशमा बसेका नेपालीलाई मताधिकारको अधिकार नपाए पनि मनाधिकारमा कसैले रोक्न सक्दैन ।

आफैँले मतदान गर्नै नपाए पनि परिवार, आफन्त, छरछिमेकलाई आफूलाई मन परेको उम्मेदवारलाई मतदान गर्न लगाउँछन् । उनीहरूको आश्रित परिवारले त  जसलाई मतदान गर्न भन्यो उसैलाई गर्छन् नै । वास्तवमा आकाशबाट आएका ती मनहरूले निर्वाचन परिणाममा राम्रै प्रभाव पारेका हुन्छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको मत विदेशबाट नेपालीले पठाएको आकाशबाट झरेको मनको मत पनि हो । रवि लामिछानेले टेलिभिजनमा काम गर्दा विदेशिएका नेपालीको मन राम्रै जितेका थिए । उनले धेरैलाई सहयोग र उद्दार गरेका पनि थिए । देशमा रहेको भ्रष्टाचारका विरुद्धमा मिडियामार्फत बुलन्द आवाज उठाएका थिए ।

उनले कानको जाली फुट्ने गरी शासकलाई तर्साएका पनि थिए । यसैले राजनीतिमा नआउँदै उनी लोकप्रिय नेता बनिसकेका थिए । यद्यपि उनका विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा चलेकै छन् । तैपनि चितवनबासीले उनलाई दुईपटक फराकिलो मतान्तरले विजय हासिल गराए ।

तनहुँ –१ बाट निर्वाचित स्वर्णिम वाग्ले पनि अर्थशास्त्री, विद्वान र लोकप्रिय व्यक्ति हुन् । नेपाली कांग्रेसमा दाजु, भाउजू र देवर प्रवृत्ति हावी भएको र अवसर पाउन धेरै वर्ष कुर्नु पर्ने भएको हुनाले पार्टी नै छोडी राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचनको प्रतिस्पर्धामा आएका थिए । नेपाली कांग्रेस र एमालेले टुरिष्ट उम्मेदवार लगायत थुप्रै किसिमका आरोप लगाए पनि तनहुँबासीले आफ्नो मुटु नै हो भनेर चिनाए ।

नेपालका राजनीतिक दलले विदेशिएका नेपाली मनलाई राम्रोसँग बुझ्नुपर्छ । आजको समय भनेको असीको दशक हो । चालीस र पचासको दशक  होइन । हिजो वा अस्तिको दशकमा नेपाली जनतामा शिक्षा र राजनीतिक चेतना कम थियोे होला । दलले जे भन्यो त्यही मान्थे तर अहिले त्यो अवस्था छैन ।

कुन दल ठीक र कुन दल बेठीक राम्रै छुट्याउन सक्छन् र त्यसै अनुसार मतदान गर्छन् । अब कुनै दलको पकेट एरिया भन्ने छैन । पुराना दलमा हामी पुराना हौँ भन्ने धङधङी मात्र देखिए तापनि ती समय अनुकूल परिवर्तन हुन सकेनन् । विचार र सिद्धान्तलाई तिलाञ्जलि दिए । प्रजातन्त्रको पर्याय भनेर कहलिएका दल पनि भर्खरै जन्मेको नयाँ दलसित पाँच गुनाले पछारिनु पर्यो । अब कि सच्चिने कि सकिने भन्ने निर्णय यी दलमा नै रहेको छ ।

नेपाली जनताले फराकिलो अन्तरालमा हामीलाई जिताए भनेर वैकल्पिक दलहरू हौसिए भने पनि तिनको भविष्य सुखद हुन सक्दैन । नयाँ दलहरू जाँचिन बाँकी नै छन् । जनताले काम गर्नको लागि अवसर दिएका हुन् । जनताले पनि ती वैकल्पिक दललाई देवत्वकरण गरिनु हुँदैन । 

राम्रो कामलाई स्वाबास र नराम्रो कामलाई दण्ड दिनैपर्छ । अनि गलत बाटो हिँड्दैनन् । लोकतन्त्रमा सर्वेसर्वा जनता नै हुने हुनाले राम्रो दललाई भोट र नराम्रो दललाई चोट दिनैपर्छ । लोकतन्त्रलाई बलियो बनाई देशलाई उन्नत राष्ट्र बनाउनु पर्छ । 

अहिले नयाँ वैकल्पिक दलको प्रमुख दायित्व भनेको देशमा रहेको कुशासन र भ्रष्टाचारको अन्त्य गरी नेपाली जनतालाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ, रोजगार र सुशासनको व्यवस्था मिलाउनु पर्छ र देशको भौतिक विकासको लागि अल्पकालीन र दीर्घकालीन योजनासहित रफ्तारको गतिले अगाडि हिड्नु पर्छ अनि नेपाललाई समृद्ध र समाजवाद उन्मुख राष्ट्र  बनाउनुपर्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ