arrow

देउवाले गैरजिम्मेवारीपन देखाएको भन्दै पदाधिकारी बैठकमा चर्काचर्की

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २१ बिहिबार
nepali-congress-flag.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा चर्काचर्की परेको छ । पछिल्लो समय नेतृत्वले आफूखुशी कार्यहरु गर्दै आएको आरोप लगाउँदै संस्थापन इतर पक्षका पदाधिकारीहरुले नेतृत्वको आलोचना गरेका हुन् । 

पार्टी संगठन नगर्ने, पार्टीका टिकट दिँदा, भ्रातृ संगठन अस्तव्यस्त पारेको, केन्द्रीय समिति बैठक नडाकेको, केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी नदिएको लगायतका विषयमासमेत चर्काचर्की परेको थियो । 

पछिल्लो समय सरकारमा मन्त्री सिफारिस गर्दासमेत नेतृत्वले एकलौटी गरेको र जानकारीसमेत नदिएपछि त संस्थापन इतर आक्रोशित भएको हो । सभापति शेरबहादुर देउवाले आफू निकटका छ जनालाई मन्त्री बनाउँदा संस्थापन इतर पक्षका जम्मा दुई जनामात्र मन्त्री बनाएका छन् । योसँगै संस्थापन इतर पक्षले चर्को असन्तुष्टि पोखेको हो । 

मन्त्री बनाउँदा आफूहरुसँग कुनै पनि सरसल्लाह नभएको भन्दै संस्थापन इतर पक्षले आपत्तिसमेत जनाएको हो । यसअघि शेखर–गगन समूहले आफ्नो समूहले कम्तीमा तीन जना मन्त्री पाउनु पर्ने अडान राख्दै आएको थियो । जसका कारण गत चैत १७ गते कांग्रेसले चार जनामात्र मन्त्री पठाएको थियो । 

उक्त समयमा चार जना नै देउवाले आफ्नो खेमाका सांसदहरुलाई मन्त्री सिफारिस गरेका थिए । त्यस्तै बैशाख ३ गते एनपी साउदलाई परराष्ट्र मन्त्रीमा सिफारिस गरिएको थियो । 

बाँकी रहेका तीन जना नै आफ्नो समूहले पाउनेमा शेखर–गगन समूह ढुक्क रहेकामा देउवाले बुधबार एकाएक तीन जनाको नाम सिफारिस गरेका थिए । 

जसमा शेखर पक्षका धनराज गुरुङ र डिगबहादुर लिम्बू परेका छन् भने संस्थापन पक्षका मोहनबहादुर बस्नेत मन्त्री भएका छन् । 

तीन जना नै शेखर–गगन समूहलाई दिँदा जीवन परियार, बद्री पाण्डे वा प्रदीप पौडेलमध्ये एक जना मन्त्री हुने निश्चित जस्तै थियो । तर देउवाले कुनै चासो नै राखेनन् । 

सोही विषयलाई ध्यानमा राखेर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकमा चर्काचर्की परेको हो । सहभागी एक नेताका अनुसार देउवाले कुनै पनि विषयमा सामूहिक छलफल नगरी आफूखुशी निर्णय गर्दै आएको भन्दै महामन्त्री गगन थापाले आक्रोश पोखेका छन् । थापाले बैठक आफूलाई त्यही मनलाग्दी गर्दा पार्टी ध्वस्त भएको थाहा छैन ? हामी साक्षी मात्रै बस्ने हो ? भन्दै आक्राेश पोखेको ती पदाधिकारीले बताए । 

कुनै पनि काम आफूहरुसँग सल्लाह नगरी गरेकोमा संस्थापन इतर पक्षका पदाधिकारीहरुले आक्रोशसमेत पोखेका छन् । बैठकमा रुपान्तरणका कुरासमेत जोडतोडका साथ चलेको बताइएको छ ।  

पार्टी लोकतान्त्रिक भए पनि अव्यवहारिक तरिकाले नेतृत्वले व्यवहार गर्दै आएको ती पदाधिकारीको नको आरोप छ । त्यतिमात्र हैन सहमहामन्त्री जीवन परियारले अहिलेको मन्त्रिमण्डल विस्तार संविधानको मर्म विपरीत रहेको बताएका थिए । उनले मन्त्रिमण्डल विस्तार समावेशी नभएको बताएका हुन् । 

बैठकमा मन्त्री छान्ने विषयमा सभापति देउवाले हतारमा निर्णय गर्नुपरेकाले जानकारी गराउन नसकेको भनेर अहिले गराउँछु भनेको सहमहामन्त्री बद्री पाण्डेले संचारकर्मीहरुलाई बताए ।

तर देउवाले पनि आक्रोश पोख्दै सबैलाई भाग पुर्याउनका लागि पार्टीलाई बहुमत ल्याउन देखाउन चुनौती दिएकोसमेत एक सहभागी पदाधिकारीले बताए । 

समावेशीका सवालमा पनि देउवाले गठबन्धन सरकारमा धेरै मन्त्रालय नपाएकाले सबैलाई समेट्न नसकेको जवाफ दिएका थिए ।

उनले गठबन्धनमा आलोपालोको सहमति भएकाले अर्को पटकमा ख्याल गरेर अघि बढ्ने प्रतिवद्धता जनाएको एक पदाधिकारीको भनाइ छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ