arrow

काठमाडौंका अव्यवस्थित तार सोमबारदेखि व्यवस्थित गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २४ आइतबार
wires-road-kathmandu.jpg

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले काठमाडौं महानगरपालिका भित्रका अव्यवस्थित तारहरु व्यवस्थित गरिदै लैजाने बताएका छन् । उनले भोलिदेखि अव्यवस्थित तार हटाउने नभइ व्यवस्थित गर्दै लैजाने बताएका हुन् । 

तार सोमबारदेखि व्यवस्थित गर्न प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु सहमत भएका छन् । प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरु र महानगरपालिकाबीच आज भएको छलफलमा भोलिदेखि महानगर क्षेत्रका अव्यवस्थित तार व्यवस्थित गर्न प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु तयार भएको महानगरले जनाएको छ ।

महानगरपालिकाले प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई १५ दिने म्याद दिँदै २७ बैशाखभित्र अव्यवस्थित तार हटाउन भनेको थियो । तर त्यसलाई अटेर गरिएपछि अब भने व्यवस्थित गर्दै लैजाने भएको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले काठमाडौं महानगरपालिकासहित देशभरिका स्थानीय तहलाई सेवा अवरुद्ध हुनेगरी तार नहटाउन परिपत्र गरेको थियो । 

तर प्राधिकरणले भने प्रेस विज्ञप्ति जारी गर्दै सडक किनारका पोलहरुमा टाँगिएका तारहरु चरणबद्ध रुपमा व्यवस्थित गर्दै लैजाने बताएको छ । 

यस्तो छ प्राधिकरणको विज्ञप्ति–

तार व्यवस्थापन सम्वन्धमा नेपाल दूरसञ्चार प्राधिकरणको प्रेस विज्ञप्ति
टेलिफोन तथा इन्टरनेट लगायतका तारहरु सडक किनारका पोलहरुमा व्यवस्थित गर्ने सम्वन्धमा विभिन्न संचार मध्यममा प्रकाशित समाचारहरु प्रति यस प्राधिकरणको गम्भिर ध्यानाकर्ष भएको छ  ।

दशकौ देखि टाँगीएका र सेवा प्रवाह भईरहेको तार एकै पटक व्यवथापन गर्न कठिनाई हुने साथै दूरसंचार सेवा अवरुद्ध नहुने गरी यसको व्यवस्थापन गर्न निम्न वमोजिमको कार्यहरु अगाडी बढाइएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि अनुरोध छ  ।

१, दीर्घकालीन रुपमा तार लगायत अन्य युटिलिटीहरुको व्यवस्थापनको लागि सडक निर्माण हुँदा युटिलिटी डक्टको व्यवस्था गर्न आवश्यक कानुन निर्माण भईरहेको छ ।

२, दूरसंचार पूर्वाधार सेवा प्रदायकको व्यवस्था गर्न नेपाल सरकारलाइ यस अगाडिनै सिफारिस भई नियमावली पारित हुने अन्तिम चरणमा रहेकोले अव्यवस्थित तारको व्यवस्थान हुनुको साथै दोहोरो लगानीको समेत अन्त्य हुने कार्य भइरहेको छ । 

३, अव्यवस्थित रुपमा रहेको तारहरुलाई अल्पकालीनरुमा व्यवस्थापन गर्ने क्रमममा महानगरपालिका, इन्टरनेट सेवा प्रदायक संघ नेपाल र प्राधिकरण समेतको सहकार्यमा सिंहदरवार वरिपरी, पुतलीसडक, कमलादी, ठमेल, एयरपोर्ट, माइतीघर लगायत पाटन दरवार क्षेत्रको प्रयोगमा नरहेको तार हटाई बंडलिंग गरिएको छ ।्र

प्राथमिकताको आधारमा अन्य रुटमा समेत एबिल बनाई तार व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिइने व्यहोरा समेत सम्वन्धित सबैको जानकारी लागि अनुरोध छ ्र साथै इन्टरनेट सेवा अति आवश्यक सेवा भएको र यसको पूर्वाधारमा क्षति पुग्न जादा बैंक, हवाईसेवा, नेपाल सरकारबाट नागरिक लक्षित गरी प्रदान गर्दै आएका अनलाइन सर्भिसेज अवरुद्ध हुन जाने र यसको पूर्वाधारमा क्षतिपुर्याउने कार्य दूरसंचार ऐन, २०५३ अनुसार दण्डनीय समेत हुने हुनाले यसको पूर्वाधारमा क्षति पुग्ने कार्य नगर्नर नगराउन तथा यसको व्यवस्थापन कार्यमा सेवा प्रदायक र प्राधिकरणबाट भइरहेको कार्यलाई सघाउ पुर्याईदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

महानगर प्रमुख वालेन्द्र साह बालेनले पनि आक्रोशित छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार नै यस्तो लेखेका थिए –
शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिकरुपमा तिनले शहरलाई अव्यवस्थित बनाएका छन् भने आगलागीको जोखिम पनि बढाएका छन् । गतबर्षमात्रै अव्यवस्थित तारहरुको कारण ५३ ठाउँमा आगलागी भएको तथ्यांक छ । 

यसलाई व्यवस्थित बनाउन, एकीकृत विकासका लागि सम्बन्धित कानून बनाउन आग्रह गरेको धेरै भइसकेको थियो । त्यसतिर कुनै सुनुवाइ नभएर हामीले १५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरेका थियौँ । यसबीच पनि यो समस्या सुनुवाइ होला भन्ने आश थियो तर त्यसको विपरित त्यो तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भयो । 

समस्यालाई यथावत राखेर हामीले व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न सक्दैनौँ । आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाडौं महानगर आफ्नो अधिकारभित्र रहेर कार्य गर्न तत्पर छ । शहर व्यवस्थित, सुन्दर बनाउन तथा नागरिकको जनधनको सुरक्षाको लागि हामी क्रियाशील छौँ । यसमा कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुग्न सक्छ तर तपाइँ हरुले साथ दिनु हुनेछ भन्ने अपेक्षा  राख्दछौं ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ