arrow

महानगरले डेङ्गीको लार्भा नष्ट गर्ने नियमित कार्यक्रमलाई थप सक्रिय बनाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १० बिहिबार
Dengue kaski.jpg
तस्बिर : फाइल

काठमाडौँ। डेङ्गी रोगका बिरामी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले लार्भा नष्ट गर्ने नियमित कार्यक्रमलाई थप सक्रिय बनाउने भएको छ।

महानगरले व्यक्तिको घरमाभन्दा सार्वजनिक निकायका भवन कम्पाउन्ड बढी जोखिममा रहेको बताउँदै तालिकाबद्ध सफाइको संस्कृति चलाउनु पर्ने औँल्याएको छ। यसपछिका कम्तीमा ४ हप्ता डेङ्गी नियन्त्रणका कार्यक्रममा थप सक्रिय हुनु पर्ने, डेङ्गीबाट बच्न हरेक व्यक्ति सचेत र सावधान हुनुपर्ने निष्कर्ष निकालियो।

डेङ्गी सङ्क्रमण फैलाउने लामखुट्टे सफा पानीमा बस्ने जनाउँदै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले, पानी जम्ने सडक, सडक पेटीका खाल्टाखुल्टी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरण्डामा जम्ने पानी लामखुट्टेको सङ्ख्या वृद्धि हुने ठाउँ भएकोले यस्ता ठाउँमा पानी जम्न नदिन, एउटै भाँडामा पानी थापेर धेरै समय राखी नरहन सचेतनामूलक कार्यक्रम सञ्चालन हुने बताए।

महामारी रोग नियन्त्रणका लागि महानगरपालिकाको एक्लो प्रयासले मात्र रोकथाम हुन नसक्ने भएको जनाउँदै प्रशासन विभागका प्रमुख नमराज ढकालले, पानी जम्न नदिनु नै सम्भावित जोखिम घटाउने उपाय भएकोले यसमा व्यक्ति व्यक्तिको भूमिका महत्त्वपूर्ण हुने बताए। 

सार्वजनिक निकायले कार्यक्रमको नेतृत्व गर्ने र सर्वसाधारणले यो कार्यक्रम आफ्नै सुरक्षाका लागि हो भनेर ग्रहण गर्ने वातावरण सिर्जना गर्नमा जोड दिँदै स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवालले भने, ‘सङ्क्रमण हुन्छ कि भनेर डर राख्नु र सावधानी अपनाउनु पर्छ, सङ्क्रमण भई हाल्यो भने चाहिँ आत्तिनु वा डराउनु हुँदैन। आत्मविश्वासले रोगसँग लड्न सघाउ हुन्छ।’

सहरी स्वास्थ्य प्रवर्धन केन्द्रका स्वास्थ्यकर्मीहरू, वडा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय सङ्घ संस्था र क्लबका प्रतिनिधि, नगर प्रहरी, कर्मचारीलाई लार्भा नष्ट गर्ने अभियानमा सहभागी गराउने योजना बनाएको छ।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा, भेक्टर डिजिज शाखा प्रमुख डा.गोकर्ण दाहालका अनुसार सीतापाइला, कालीमाटी, कोटेश्वरलगायत क्षेत्रमा डेङ्गीका बिरामी बढेका छन्। उनी भन्छन्, ‘१० जना सक्रिय बिरामी भेटिएका ठाउँमा कम्तीमा १ सय जना निष्क्रिय बिरामी हुन सक्छन्। यस कारण महामारी नियन्त्रणका प्रभावकारी चाहिएको हो।’

बर्षा याममा साउन, भाद्र, असोज र कार्त्तिक महिनासम्म यस रोगको सङ्क्रमण दर तीव्र हुने गरेको विगत अभ्यासले देखाउँछ। यस अवधिमा महानगरले, डेङ्गी रोगको बारेमा टेलिफोनमार्फत परामर्श दिन (रोगका लक्षण, उपचार, सावधानी) हटलाइन ११८० २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ। अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिन्छ।

डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जललगायत आवश्यक औषधिको स्वास्थ्य प्रवर्धन केन्द्रमा पर्याप्त उपलब्ध गराइएको छ।

एडिस जातको सङ्क्रमित लामखुट्टेले पारेको अण्डाबाट लार्भा हुँदै निस्कने लामखुट्टे वयस्क भएपछि यसले मानिसलाई टोकेमा डेङ्गी रोग लाग्छ। सामान्यतया सङ्क्रमित लामखुट्टेले टोकेको ४ देखि ७ दिन भित्र कडा ज्वरो आउने, वाक–वाकी लाग्ने, निकै कमजोर महसुस हुने, खान मन नलाग्ने, जिउ दुख्ने जस्ता लक्षण देखिन सक्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ