arrow

प्रदेश नामकरणले केपी ओलीलाई गृहजिल्ला जानै मुस्किल, पार्टी बैठक नै सारियो काठमाडौं 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

काठमाडौं । कोशी प्रदेशको नामकरणपछि पहिचानवादीहरुको आन्दोलन बढ्दै गएपछि नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकलाई झापाबाट काठमाडौं सारिएको छ । 

एमालेको केन्द्रीय कमिटीको झापामा तय भएको बैठकलाई आन्दोलनकारीहरुसँग धेरै टसल नगर्ने भन्दै एमालेका नेताहरुले नै काठमाडौंमा सार्न आग्रह गरेपछि काठमाडौंमै बस्ने भएको हो । बैठक बैशाख २८ देखि ३० सम्म झापामा बस्ने तय भएको थियो । झापामा बस्ने भनिएको बैठक किन काठमाडौमा सर्यो भन्ने बारेमा एमालेले केही बताएको छैन ।

एमालेका केही नेताहरुले बजेट अधिवेशनलाई लक्षित गरेर बैठक सार्नुपरेको बताएका छन् । तर त्यतिले मात्र झापामा बस्ने भएिको  बैठक काठमाडौं सारिएको होइन ।

 ‘एकातर्फ पहिचानवादीहरुको नाममा आन्दोलन अर्को तर्फ बजेट अधिवेशन । यी दुई कारणले बैठक काठमाडौं सारिएको हो’, एमालेका एक पदाधिकारीले भने । 

एमालेका नेताहरुका अनुसार  बैठक संसदको बजेट अधिवेशन शुरु भएको भन्दै काठमाडौंमै सारिएको हो । आम निर्वाचन र २ महिने मिसन ग्रासरुट अभियानको समीक्षाका लागि बैठक बोलाइएको एमालेले जनाएको छ । 

बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले भने  । ‘संसद बैठक आह्वान भएको कारणले पार्टीको बैठक काठमाडौंमा गर्ने निर्णय गरिएको हो,’ रिजालले भने । तर उनले दाबी गरेजस्तो झापा जान केन्द्रीय सदस्यहरुलाई असहज भएको वा बजेट अधिवेशनमै बसिरहनुपर्ने अवस्था भने होइन । 

केन्द्रीय कमिटीको बैठक तय हुनुअघि एमाले अध्यक्ष केपी शार्म ओली मिसन ग्रासरुट अभियानको क्रममा पूर्वका धेरै जिल्लाहरुको भ्रमण गरेर काठमाडौं आएका थिए । 

त्यस क्रममा एमाले अध्यक्ष ओलीमाथि झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न स्थानमा आक्रमण गर्नुका साथै कालो झण्डा देखाइएको थियो । उनीमाथि  कोशी प्रदेश नामकरण खारेज हुनुपर्ने माग राख्दै आएकाहरूले आक्रमण प्रयास गरेका हुन् । 

डेढ साता अघि झापाको भद्रपुर विमानस्थलबाट बुधबारे जाने क्रममा बुद्धशान्तिमा एक कार्यक्रमस्थलमा जाने क्रममा उनीमाथि आक्रमण प्रयास भएको थियो । 

आक्रमण नियन्त्रण गर्न खोज्दा दुई प्रहरी घाइते भएका थिए । बुद्धशान्तिचोकमा पहिचान समर्थकहरूले ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए । प्रदर्शनकारीले ओलीलाई कालो झण्डा देखाएका थिए ।

त्यतिबेला कार्यक्रममा पूर्वसभामुख तथा वरिष्ठ नेता सुवास नेम्बाङ पनि सहभागी थिए । त्यतिबेला एमालले विज्ञप्ति निकालेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ओलीमाथि आक्रमणको विरोध गरेको थियो । 

सो घटनाको विषयमा गृहमन्त्री श्रेष्ठले  प्रतिनिधि सभा बैठकमा घटनाबारे जवाफ नै दिनु परेको थियो । एमाले अध्यक्ष ओलीले पनि आफूमाथिको आक्रमण राजावादी र माओवादी मिलेर गरेको आरोप लगाएका थिए । एमाले अध्यक्ष ओलीमाथि आक्रमण भएपछि एमालेका जनसंगठनहरुले पनि प्रतिकारमा उत्रने चेतावनी दिएका थिए । 

यस्तो अवस्थामा एमालेको केन्द्रीय कमिटीको बैठक झापामा बसेमा सुरक्षा अवस्था पनि निकै कडा बनाउनु पर्ने र एमाले कार्यकर्ता र पहिचानवादीहरुबीच झडप हुने अवस्थामा आउने भएकाले सुरक्षा निकायले पनि बैठक स्थल सार्न सुझाव दिएको थियो । 

साथै एमालेका नेताहरुले पनि यस्तो अवस्थामा झापाको साटो अन्य जिल्लामा पार्टीको बैठक राख्न आग्रह गरेपछि बैठक स्थल सारिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ